आधुनिक नेपाली कथा–परम्पराको 'नवचेतनाको युग’ (सं. २०२०–३९) मा कथाकार महेश प्रसाईं (सं. २०१३) देखा परेका हुन् । उनको पहिलो कथा हो 'उपहार’ (सं. २०२९) जुन 'झलक’ सामायिक सङ्कलनमा प्रकाशित भएको थियो । एम.बी.ए. तथा बी.एल. उपाधि प्राप्त गरेका उनको अभिरुचि साहित्यिक पत्रकारिता एवम् सम्पादन कार्यमा पनि रहेको देखिन्छ । प्राध्यापनका साथै पत्रकारिता पेसासँग सम्बद्ध उनी 'प्रतिभा पुरस्कार’ (सं. २०४२), 'राष्ट्रिय युवावर्ष मोती पुरस्कार’ (सं. २०५१ः संयुक्त रूपमा), 'कामेश्वर पोद्दार स्मृति सम्मान’ (सं. २०५९), ’राष्ट्रिय प्रतिभा पुरस्कार’ (सं. २०५५), 'धरणी सम्मान’ (सं. २०५५), 'व्यथित काव्य पुरस्कार’ (सं. २०५७) आदिद्वारा सम्मानित भइसकेका छन् । उनका लघुकथासङ्ग्रहहरू 'फूलैफूलमा आलापह (सं. २०६८), 'अतिरिक्त स्वरहरू’ (सं २०७५) र 'एउटा कथाको पुनर्जन्म’ (सं २०७७) प्रकाशित भएको छ । उनी अन्तर्वार्ता र कविता विधाका पनि प्रतिभा हुन् ।
महेश प्रसाईं विसङ्गगतिबोधलाई आख्यानीकरण गर्ने संवेदनशील कथा–स्रष्टा हुन् । आफ्नो कथासङ्ग्रह 'फूलैफूलका आलापहरू’ को भूमिका ’यी रेचकी गल्पको सम्बन्धमा’ उनी आफैँले लेखेका छन् ।
“म केवल वेदनाको सार बोकेर प्रस्तुत भएको छु यस बेला यी कण्टकहरूमा । वेदनामा बाँचेका अलग–अलग जातका फूलहरूलाई लिएर ।
“फूलको सत्ता तर, वेदना वा व्यवधानमा पनि धेरै माथि रहन्छ । फूलहरूको उचाइ घटेन, कहिल्यै कुनै कालखण्डमा पनि ।’’
“ती उचाइलाई थोरै शुद्ध र वाक्यहरूमा मापन गर्ने धृष्टता मात्र हो यो ।“
“फूलैफूलका कायाकल्पहरूद्वारा ।’’
कथा–स्रष्टाले फलको ’वेदनाको सार’ भनेकै विसङ्गत जीवनको अभिशाप, प्रतिकूल स्थिति वा क्षण, निराशा, कुण्ठा, असन्तुष्टि, पराजय, मूल्यहीनता, संवेदनाशून्यता र नियतिका दुष्परिणाम हुन् । यसै सन्दर्भमा ’रूपवती’ कथाको यो अंश हेरौं :
रूपवतीको शृङ्गारसित परिचय थिएन ।
एकपल्ट कुनै समारोहमा शृङ्गारसित भेट भयो । पारखीहरूका बिच दुवैको परिचय हुन गयो । दुवैले मित्रताको हात बढाए ।
+ + +
समयको अन्तरालमा रूपवतीको बैंस ढल्किदै गइरहेको थियो । शृङ्गार पनि अस्वाभाविक हुँदै गइरहेको प्रतीत हुन्थ्यो । जता गए पनि रूपवतीकै टीका–टिप्पणी सुनिन्थ्यो ।
अब समयले रूपवतीसित मुख मोडिसकेको थियो ।
एक दिन असार संसारको सार नदेखेर रूपवती कृत्रिम बजारबाट हराइन् ।
रूपवतीले आफ्नो सौन्दर्यको विनाश हुँदै गएको कारणले पलायनको बाटो रोज्नु नै विसङ्गतिको अनुभूति हो । कथाकार महेश प्रसाईंले यस कथाका जीवनको अर्थहीनता र वैराग्य भाव व्यक्त गरेका छन् । त्यसरी नै अर्को कथा 'कोट’ मा पनि उनले जीवनका कुण्ठा र निराशा भावलाई यसरी आख्यानीकरण गरेका छन् :
त्यस दिन हतारहतार कार्यालय पुग्नुभयो उहाँ । कोठामा पुगेर कोट खोल्नुभयो । ह्याङ्गरमा टाँग्नुभयो । पानी पिउनुभयो ।
त्यसपछि सोच्न थाल्नुभयो ।
सोच्तासोच्तै कोटमा पुगेर उनियो मन । क्या खुल्छु म यस कोटमा । व्यक्तित्व नै अर्कै हुन्छ यस कोटमा ।
आदिआदि तरङ्गहरू मडारिइरहे आत्मरतिसित ।
केही महिनाअघि मात्र एक जना जर्सापबाट बक्सिसमा प्राप्त भएको थियो, यो । जर्साप उहाँको कार्यकुशलताबाट कम प्रसन्न हुनुभएको थिएन त्यस बेला ।
मन सुखद अनुभूतिले रोमाञ्चित भएर आयो ।
तर अहँ ५ जुन दिनदेखि यो कोट भिरें, कुनै कालो छायाले बास गरिरहेजस्तो लाग्छ ।
मनको भूत नाचिरह्यो कोठाभरि ।
जर्सापले राणाकालमा पनि धेरैको जिउधन हत्याउनुभएको थियो र पञ्चायतकालमा पनि उत्तिकै सोत्तर पार्नुभएको थियो दुनियाँ रैत्तीलाई ।
भन्नेहरू यसै भन्थे ।
गतसाल जर्सापकै फाइल सदर गराउँदा एघार परिवार सुकुमबासी भएको घटना झलझली सम्झन थाल्नुभयो ।
अब उहाँलाई त्यही कोटले गिज्याइरहेजस्तो अनुभव भइरह्यो । बिस्तारै कोटको नजर छलेर उहाँले आँखा दौडाउनुभयो सडकतिर । त्यहाँ केही कोटहरू काला कोटहरू लमकलमक लम्किरहेका थिए । कुनै अज्ञात दिशातिर ।
ती कोटहरूमा पनि जर्साप नै जर्सापका आकृतिहरू उनिंदै, अल्किँदै गइरहेका थिए ।
“क्या खुल्छु म यस कोटमा । व्यक्तित्व नै अर्को हुन्छ यस कोटमा ।” भन्ने अनुभूति गर्ने त्यस कर्मचारीलाई सोच्दासोच्दा पनि त्यही कोटले मनमा पीडाको अनुभूति दिनु “जुन दिनदेखि यो कोट भिरें कुनै कालो छायाले बास लिइरहेजसो“ लाग्नु वास्तवमा जीवनको विसङ्गतिको अनुभूति हो । नियतिले मान्छेका सुख र हर्षलाई समयान्तरमा कसरी खोसेर लान्छ र मान्छेलाई घोर निराशा र कुण्ठाको खाडलमा पुर्छ भन्ने कुरा यस कथामा देखाइएको छ । कथाकार प्रसाईंले 'सन्तुष्टिको आकार’ कथामा पनि मान्छेको यस्तै दुर्नियतिको परिणामलाई यसरी देखाएका छन् :
पाँच/छ पुत्रीपश्चात् कालीबाबूलाई पुत्रलाभ भएकोमा भोजको आयोजना गरिएको थियो । आमन्त्रितहरूका बिच विभिन्न प्रतिक्रिया चल्दै थियो ।
+ + +
पाँचौँले भन्यो –
“कालीबाबूको छोरा रेतोधान प्रक्रियाबाट भएको हुनुपर्छ । आजकल भ्रूणावस्थामा लिङ्ग परिवर्तन गर्न सकिन्छ । वैज्ञानिकहरूले यस कुरामा चाहिँ ठुलै विकास गरेका हुन् । नत्र यसपालि पनि कालीबाबूको छोरा नै हुन्थ्यो भन्ने के निश्चित थियो र !’’छैटौंले भन्यो –
“यो सबै पैसाको खेल हो ।’’सातौँले भन्यो –
“त्यसो भए यो सन्तान कालीबाबूकै हो भन्ने के प्रमाण छ त !’’कालीबाबू कुनै छेउबाट यो वार्ता सुनिरहेका थिए । एक प्रकार उनलाई आफूले आयोजना गरेको यो भोज निरर्थक अनुभव भइरहेको थियो । आखिर इष्टमित्रहरूलाई कसै गरे पनि सन्तुष्ट पार्न नसकिने रहेछ । मनमनै तितो अनुभव गरे उनले ।
भोज सुरु भइसकेपछि एउटा अनाम व्यक्तिले भन्यो –“खर्च बचाउन तरकारीमा खुर्सानीको अत्यधिक प्रयोग गरिएको रहेछ ।’’
+ + +
तेस्रो अनाम व्यक्तिले भन्यो –
“मानिस बोलाएपछि राम्रो व्यवस्था गर्नुपर्ने थियो ।”चौथो अनाम व्यक्तिले भन्यो–
“कालीबाबूले यो भोजको आयोजना त्यसै गरेका छैनन्, यसमा पनि कुनै चाल हुनुपर्छ ।’’पाँचौं अनाम व्यक्तिले भन्यो –“पक्का, चुनावमा उठ्ने कुनै तारतम्य हो यो ।’’
आमन्त्रित व्यक्तिहरूका यस्ता टिप्पणी सुनेर बसिरहेका कालीबाबूको पुरुष क्षीण हुँदै गइरहेको बेला अनायास उनको नजर कुनै अनाम व्यक्तिसित मच्चिईमच्चिई गफ गरिरहेकी आफ्नी पत्नीमा पर्यो । उनलाई आफ्नी पत्नीको हाउभाउ र गफ गर्ने तौरतरिका पनि अरू दिनका तुलनामा बेग्लै लाग्यो । यसरी खुलेर र रमाएर कहिल्यै आफूसित सहज हुन नसकेकी आफ्नी पत्नीको यो तडकभडक गाँसमा लागेको ढुङ्गा जस्तो किरकिर भइरह्यो ।
त्यस रात कालीबाबूलाई धेरैबेरसम्म निद्रा परेन । पत्नीसितको स्पर्शमा सर्पदंशको अनुभूति भइरह्यो ।
पुत्रलाभ भएको खुसियालीमा भोज खुवाउने कालीबाबूले अन्ततः भोजलाई निरर्थक ठान्नु र पत्नीमाथिको आशङ्काको आगोमा पिल्सिएर सर्पदंशको अनुभव गर्नु जीवनको विडम्बना वा विसङ्गतिको प्रत्यक्ष प्रमाण हो । कथाकार महेश प्रसाईंले मान्छेका निरर्थक र अन्तर्पीडायुक्त क्रियाकलापहरू देखेका छन् नै, नियतिको भोगाइका प्रतिकूल अवस्थाहरू पनि देखेका छन् । उनले के देखेका छन् भने खेल सुरु नहुँदै मैदानमा अचानक बम विस्फोट हुँदा केही मर्दछन् भने केही घाइते हन्छन् र भागाभाग हुन्छ, तर सञ्चारमाध्यमहरूले भने दुवै दलका बिच आपसी भिडन्त हुँदा खेलमैदान युद्धमा परिणत भयो । सामान्य विवादबाट उठेको भिडन्तले गर्दा खेल अनिश्चित कालका लागि स्थगित गरियो भनेर असत्य समाचार प्रचारप्रसार गर्दछन् (ॅखेल’ कथा), एक प्रसिद्ध कवि सुन्दरीको पन्जाभित्र पर्दै जाँदा काव्य–प्रतिभाबाट पनि टाढिंदै जान्छन् (’साधना’ कथा), आफ्नी आमाको लेख–रचना छापिएपछि प्राप्त हुने पारिश्रमिक लिएर छोरीचाहिँ अरू केही नभई गुडिया किन्ने कुरा गर्छ (ॅगुडिया’ कथा), भोकको खोजीमा लागेकी आमा उल्टै मृत्युवरण गर्न पुग्छिन् (ॅभोकमाथि डायरीको पङ्क्ति’ कथा) र भगवान् यशु र विष्णुले आ–आफ्ना भक्तजनहरूलाई पर पन्साएर तेस्रो मार्गीलाई ताज पहिर्याइदिन्छन् (ॅमध्यमार्गी’ कथा) । 'सहिदको जन्म’ कथाको यो अंश हेरौं :
लास ढलेको स्थानलाई सहिद स्मारक स्थल घोषित गरियो ।
केही दिनपछि त्यहाँ एउटा भव्य स्मारक निर्माण भयो । मन्त्रीजीद्वारा निर्धारित मितिमा स्मारक अनावरण सम्पन्न गरिने भो । स्थानीय क्रान्तिकारी व्यक्तिहरू मन्त्रीजीद्वारा अनावरण गरिने समारोहका लागि आतुरतापूर्वक प्रतीक्षा गरिरहेका थिए ।
यत्तिकैमा मन्त्रीजीको गाडी दौडिदै आएर रोकियो ।
मन्त्रीजीसित गएका व्यक्तिहरूले औपचारिकता पूरा गरे । अनावरण पूरा भयो ।
अब वरपर कोही थिएनन् ।
केही बेरमा त्यस सालिकमाथि एउटा चील आएर बस्यो र अलिकति बिष्ठा पिच्च पारेर अज्ञात दिशातर्फ लाग्यो ।
नियतिको भोगाइ अथवा विसङ्गति नै के हो भने त्यत्रो सम्मान गरिएको सालिकमाथि चीलले फोहोर गरिदिनु । कथाकार महेश प्रसाईले नियतिको यस्तै विसङ्गत भोगाइलाई ॅसेखी’ कथामा यसरी प्रस्तुत गरेका छन् :
ख्याउटेचाहिँ आफ्नो मित्रको मोजमस्ती देखेर भित्रभित्रै जल्न थालेको थियो । एक दिन चरनतिर निस्कन लागेका बेला हृष्टपुष्ट हुनेले प्रसङ्ग निकाल्यो
“यार ! तिमी खाँदैनौ कि क्या हो, दिनदिनै क्षीण हुँदै गइरहेका छौ नि ।’’
उसलाई हुनेखाने घरमा परेको आफ्नो मित्रको यस्तो वचन सुनेर झन् खपिनसक्नु भएर आयो । ऊ केही पनि नबोली लुरुलुरु चरनतिर लाग्यो ।
भोलिपल्ट हाटको बेला थियो । ऊ कतैबाट आइरहेको थियो । धमाधम भतेरबाट मास बिक्री भइरहेको थियो । त्यहाँ उसले चिरपरिचित गन्ध अनुभव गर्यो । अनायास उसको नजर आफ्नै साथीको टाउकोमा गएर अल्झियो, जुन शरीरबाट छुट्याएर बगरेले आफ्नो छेउमा सजाएर राखेको थियो । यसपछि उसले हेर्न सकेन । झोक्राइरह्यो राति कुलेलम ठोक्ने विचार गर्दागर्दै ऊ भुसुक्कै निदायो ।
आफू हृष्टपुष्ट भएकोमा घमन्डले फुल्ने खसीले दुब्लो साथी अर्को खसीलाई हियाउँदा नियतिको खेलमा परी आफू बगरेको पाहुना हुन पुगेको विसङ्गतिलाई यस कथामा देखाइएको छ । काल र परिस्थितिले अनुकूललाई प्रतिकूल र प्रतिकूललाई अनुकूल बनाइदिने अथवा उलटफेर बनाइदिने सत्यलाई स्विकार्नैपर्ने हुन्छ । कथाकार प्रसाईंले 'समानान्तर’ कथाद्वारा पनि यस कुरालाई स्पष्ट पारिदिएका छन् । ढुङ्गाले आफूलाई जति नै ठुलो हुँ भनेर अड्डी लिए पनि अन्तमा माटोविहीन भएर लडेपछि बगेर थुप्रिएको माटोकहाँ नपुगी धरै पाउँदैन यो नियतिको भोगाइ हो । उनले 'छाया र छाया’, 'कटाक्षेप’, 'मोहभङ्ग’, 'मित्रता’, 'बैँसको जात्रा’, 'माझी’, 'एउटा परिचयको खोजी’, 'दोछाया’, 'झगडा’, 'उपहार’ आदि कथाहरूमा पनि विडम्बनामा बाँच्ने विवश मान्छेको जीवनका विसङ्गतिहरूलाई विभिन्न परिप्रेक्ष्यबाट हेरेका छन् । उनी जीवनलाई पीडा र द्वन्द्वको भण्डार ठान्छन् र बाँच्नुलाई निरर्थक र सारहीन ठान्दछन् । यसै सिलसिलामा उनले आफ्ना कथाहरूमा मान्छेको संवेदनाशून्य मनोवृत्तिलाई प्रस्तुत गरेका छन् । 'महायज्ञ’ कथाको यो अंश हेरौं :
देशदेशावरबाट धर्मानुरागीहरू भेला हुँदै थिए त्यहाँ । कुनै विशेष धार्मिक अनुष्ठान सम्पन्न गराइने कार्यक्रम थियो ।
यज्ञ, तप, हवनका बहानामा हजारौं मन अन्न, वस्त्र र आभूषणहरू एकत्रित तुल्याइँदै थियो । गच्छेअनुसार चढाइएको प्रसाद–अनुदान तह लगाइदै थियो, त्यस हवनकुण्डमा ।
यसरी निर्धारित दिन र तिथिमा विशाल राशिको चरु तिरोहित तुल्याइँदै थियो ।
त्यस बेला यज्ञकुण्डदेखि बाहिर एउटा बालक कहालिई–कहालिई रोइरहेको थियो। उसकी आमा केही दिनकी सुत्केरी थिई । लाम्टामा रसायन नपुगेर, ज्वालामा सल्कदै थियो, बालक ।
महायज्ञमा थुप्रोका थुप्रो चरु (अन्नादि) चढाउने, तर खान नपाएर छाती रसाउन नपाएकी सुत्केरीलाई एक मुठी अन्न पनि नदिएर नवजात शिशुको बिचल्ली गराउनु मानवीय संवेदनाशून्यताबाहेक अरू केही होइन । अन्य कामका लागि अन्नको विशाल भण्डार हुनु, तर गरिबले खानका निम्ति त्यस भण्डारबाट एक गेडो अन्न पनि नपाउनु जस्तो विसङ्गतिको प्रस्तुति यस कथामा छ । कथाकार महेश प्रसाईंले 'करेसा’ कथामा पनि संवेदनाशून्य सोचका कारण दुई व्यक्तिहरू टाढा–टाढा बस्दा मित्रतामा बाँधिएका तर छिमेकी छिमेकी भएपछि परस्परका शत्रु बनेका प्रसङ्ग दिएका छन् । उनले ’दाग’ कथामा मान्छेको संवेदनाहीनताको प्रवृत्तिलाई यसरी देखाएका छन् :
उहाँहरूलाई त्यहाँ पान खानु थियो ।
केही बेरपछि पानका बिडा मुखमा हालेर उनीहरूले सडकमा पिच्च पार्नुभयो । त्यसै बेला एउटा स्विपरको झाडुबाट उहाँहरूको सुकिलो कुर्थामा फोहोरको छिटा पर्यो ।
भद्रभलादमीहरू च्याँडिनुभयो । स्विपरलाई अपशब्द प्रकट गरेर बढ्नुभयो गाडीतिर । सेनिटेसन डिपार्टमेन्टको त्यस अशिष्ट स्विपरमाथि कारबाही चलाउने निधो गरेर जोसले हुत्तियो सवारी पनि ।
त्यस दिन उहाँहरू दुवै फोहोरमैला नियन्त्रणसम्बन्धी गोष्ठीमा वक्तव्य दिन निम्त्याइनुभएको थियो । अलमल गर्ने फुर्सद थिएन ।
फोहोरमैला नियन्त्रण विषयक गोष्ठीमा वक्तव्य दिन हिँडेका दुई सज्जनहहरूले पान खाएर सडकमा थुक्नु, फोहोरको छिटा कुर्थामा लाग्यो भन्दैमा स्विपरलाई अपशब्दद्वारा गाली गर्नु मात्र होइन, कारबाहीसमेत गर्ने विचार गर्न सरासर ती सज्जन भनाउँदाहरूको संवेदनाशून्य मनोवृत्ति हो । कथाकार प्रसाईंले के कुरो स्पष्ट पारेका छन् भने मानिसहरूको संवेदनाशून्यताले गर्दा नै संसारमा हत्या र हिंसाले प्रश्रय पाएका हुन् ('यश’ कथा) र यसै संवेदनाशून्यता नेताहरूमा पनि भएकाले तिनीहरू जनताप्रति उत्तरदायित्वहीन बन्न पुगेका हुन् ('नेताजीहरू’ कथा)। उनी के कुरामा विश्वास गर्छन् भने संवेदनशून्यको स्थितिमा आपसी प्रेम, अनुराग र विश्वासको आधार चुँडिन गई जीवन विसङ्गतिपूर्ण बनिदिन्छ ।
युगीन चेतना भएका कथाकार महेश प्रसाईंले समसामयिक सामाजिक तथा राजनीतिक दृश्यपटमा देखिएका विकृतिहरूलाई आफ्ना लघुकथाहरूमा उतारेका छन् । 'कुण्डलधारी’, 'गन्ध’, 'चकमक’, 'दण्ड’, 'काट्टो’, 'मन्दिर र महात्मा’, 'दलाली’, 'मन्त्रीजी’, 'प्रजातन्त्र’, 'भूकम्प’, 'वरदान’, 'आन्दोलन’, 'भाटा’ जस्ता लघुकथाहरूमा उनले समसामयिक समाज र राष्ट्रिय परिवेशको यथार्थ अङ्कन गरेका छन् । उनी के देख्दछन् भने समाजमा उग्र रूपमा यौनहिंसाले आफ्नो स्थान जमाइरहेको छ ('कुण्डलधारी’ कथा), मानिसहरू पूर्वाग्रह र रूढिवादी संस्कारले गर्दा विमाता भनेपछि सकारात्मक कुरालाई पनि स्वीकार गर्न तयार हुँदैनन् ('गन्ध’ कथा), स्थापित आदर्शको सीमा उल्लङ्घन गरेर आजका पति तथा पत्नी दुवै यौन–स्वतन्त्रता उपयोग गर्न पछि हट्दैनन् ('चकमक’ कथा), आफ्नी पत्नीलाई प्रेम गर्ने व्यक्तिलाई पतिले मारि नै दिन्छन् र हत्याको निम्ति सजिलैसँग स्वीकार पनि गर्दछन् ('दण्ड’ कथा) र आध्यात्मिक पुरुषहरू सजिलैसित यौनमा लिप्त भइरहेका छन् ('मन्दिर र महात्मा’ कथा)। 'काट्टो’ कथाको यो अंश हेरौं :
आफ्नो विगतका यी अपराधहरू छोप्न भुलमानले भर्खरै एक करोड रुपियाँको राशि छुट्याएका थिए सांस्कृतिक जीवनमाथि कुनै हवन कर्म प्रदर्शन गर्न । त्यस बेला यिनले आफ्ना मालिकहरूको जुठो सकेसम्म खानुपर्यो । प्रजातन्त्रमा उनी पनि आफ्ना चाकरहरूलाई जुठो खुवाउन लालायित थिए ।
केही समययता उनको विगतका कर्तुतहरूको गन्ध पनि फैलिँदै गइरहेको थियो ।
उनका कर्तुतहरू खोल्न एक जना व्यक्ति जन्मिसकेका थिए । ती व्यक्ति थिए उनै कथित कवि । रोचक कवि ।
कवि निर्धारित समयमा पुगे त्यहाँ । खुबै खातिरदारी गरियो कविलाई । राम्रै रकम र उपहार पनि प्राप्त गरे कविले ।
कवि स्वयम् चकित थिए । यत्रा कहलिएका कविहरूलाई नदिइएको सम्मान किन उनलाई नै प्रदान गरियो !
रहस्य खुल्न सकेको थिएन ।
सुनियो । यत्तिकैमा आमन्त्रितहरूका बिच खस्याकखुसुक टिप्पणी
कविले आयोजकमाथि भण्डाफोर गरेर लेखेका रहेछन्, कुनै काव्यकृति । त्यो छापिएर आएका खण्डमा भुलमानले जीवनभरि हत्याएको प्रतिष्ठा सजिलै बगाएर लैजाने निश्चित थियो ।
कविलाई हात लिन रचिएको तामझाम रहेछ, यो ।
कथाकार महेश प्रसाईंले साहित्यिक पुरस्कारको स्थापनामा देखिएका विकृतिहरूको कटु आलोचना गरेका हुन् । उनको दृष्टिमा हाम्रो समाजमा यस्ता विकृतिहरू कतिसम्म छन् भने आफ्नो अधिकारमा भएको जग्गा आफ्नो नाममा पास गर्न मानिसहरूले कुनै शक्तिशाली दलको सहायता लिइरहेका छन् र पनि दलालहरूको भूतले त्यस्ता जग्गाधनीलाई लखेट्न छाडेको छैन ('दलाली’ कथा)। उनी के देख्दछन् भने देशको सम्पूर्ण परिवेश यस्ता विकृतिहरूबाट प्रदूषित छ । आजका ख्याउटे मन्त्रीहरू बेसरी घुस खाएर भोलि नै मोटाउँछन् ('मन्त्रीजी’ कथा), भूकम्प आउँछ पीडितहरू जिउँदै मरेतुल्य हुन्छन्, किनभने भ्रष्टाचार हुन्छ ('भूकम्प’ कथा), पुल निर्माणको योजना बन्छ, ठुला मान्छेहरूको धनको भण्डार भरिने योग पर्छ ('वरदान’ कथा), मन्त्रीपुत्रले गुण्डागर्दी गर्छ, तर सबै डराएर चुप बस्छन् ('प्रजातन्त्र’ कथा) र असुरक्षाबाट सुरक्षित हुन मानिसहरू हिंसामा उत्रिरहेका छन् ('भाषा’ कथा) । उनले 'आन्दोलन’ कथामा सरकारद्वारा आन्दोलनकारीहरूलाई गिरफ्तार गर्न खटिएका गुन्डाहरूको खराब मनोवृत्ति देखाउने सन्दर्भमा उनीहरूबाट हुने यौनहिंसालाई देखाएका छन् । यसरी उनले समसामयिक सामाजिक र राष्ट्रिय सरोकारका विषयवस्तुलाई आफ्ना लघुकथाको सामग्री बनाएर व्यङ्ग्यसमेत गरेका छन् । उनमा पाइने यो युगीत चेतनाले उनको रचनाधर्मितालाई उचाइ प्रदान गरेको छ ।
'विकर्षण’, 'प्रत्यागमन’, 'घटना र भवितव्यॅ, 'ढुङ्गो’, 'पापको निर्वाह’, 'विश्वास’, 'सहयात्रा’, 'एउटा फूलको अन्त्य’, 'कुनै निर्विकार नियोजन’, 'पाप र विवेक’, 'निर्लज्जता’, 'सौन्दर्य तिर्खा’, 'वर्जित फल’, 'पूरक’, 'रिक्त डाली’, 'तेस्रो विश्व’, 'नटाँगिएको पर्दा’, 'तस्बिरमा आत्मसंवाद’ र 'पूर्वपक्ष’ गद्यरचनाहरूमा आत्मपरक अनुभूति तथा संवेगात्मक अभिव्यक्तिहरूको बाहुल्य भएकाले अमूर्त छन् । यी गद्य रचनाहरूमा रागात्मक पक्षको सबलता छँदै छ, सौन्दर्य चेतनाका तरङ्गहरू पनि छन् । यसरी हेर्दा यी रचनाहरूमा आख्यान अत्यल्प र गद्यमा कविता (Poem in prose) को प्राबल्य पाइन्छ । 'कुदृष्टि’ त ठट्यौली नै हो । तर यति भएर पनि महेश प्रसाई अन्योक्तिका साथै बिम्बको प्रयोगमा प्रवीण लघुकथा शिल्पीका रूपमा देखा परेका छन् । 'एउटा फूलको अन्त्य’ को यो अंश हेरौं :
एक दिन त्यहाँ, पातालबाट निस्केकी एउटी नारी पात्र देखा परी । उसलाई पाताले देउताहरूले कुनै जडीबुटी खोज्न पठाएका थिए । ऊ ती फूलहरू देखेर क्षणभर टोलाई । त्यसपछि उसले सबै लक्ष्यहरू बिर्सेर, आफूलाई फूलहरूकै नजिक पुर्याई ।
एउटा फूलचाहिँ चुँडेर सिउरिऊँ जस्तो लागिरह्यो, उसलाई । त्यसपछि उसले एउटा फूलको डालीनजिक पुगेर के हात बढाई, पराग–कम्पन गडगडाहटमा परिणत भयो ।
ती सबै सौन्दर्यकुसुमहरू विशाल जलराशिमा परिणत भए । नारी पात्रको पाताल प्रत्यागमन जलाधारमा रूपान्तरित भइसकेको थियो ।
यस कथांशमा कविको कल्पना (स्वैरकल्पना ?) र बिम्बको अति सुन्दर प्रस्तुति छ । कथाकार महेश प्रसाईंको शैलीले कवि गोपालसिंह नेपालीको सम्झना गराउँदछ ।
निष्कर्षमा के भन्न सकिन्छ भने महेश प्रसाईंले विसङ्गतिबोधलाई विभिन्न सन्दर्भमा प्रस्तुत गरी विडम्बनाग्रस्त मान्छेको नियतिको यथार्थ चित्रण गरेका छन् । उनले समसामयिक युगको विकृतिलाई आख्यानको रूप प्रदान गरेका छन् । उनी आफ्ना लघुकथाहरूमा कवि बनेर अमूर्त विधानतर्फ उन्मुख भएका छन्।


No comments:
Post a Comment