दीनबन्धु ! मर्निङ वाकबाट फर्किन्दै अपार्टमेन्टको गेट खोलेर आफ्नो अपार्ट बिल्डिङ्ग अगाडि बढ्दै थियो । उसले देख्यो अपार्टमेन्ट अगाडि शबवाहनमा शब लोड गर्दै गरेको…। उसलाई खुल्दूली लाग्यो । र नजिक गएर एक जनालाई सोध्यो– “ए…भाई ! यो कसको शव हो ? हाम्रो अपार्टमेन्टमा को बितेछ ?”
“दोस्रो तल्लाको अपार्टमेन्टको गोविन्दलालकी धर्म पत्नी मालती ।” एक जनाले जवाफ दिए ।
“तपाईंहरू… को आफन्त हो ?”
“हैन हामी दाहसंस्कार समितिका स्वय्म सेवक । हाम्रो समितिबाट आफन्त कोही नभएका वा बेवारिसे लासको अन्तिमसंस्कार गर्ने काम गर्छ ।”
“अनि उहाँको यहाँ कोही हुनुहुन्न?”
“उहाँको अशक्त श्रीमान् बाहेक नेपालमा कोही आफन्त हुनुहुन्न ।”
“छोरा बुहारी, छोरी ज्वाइँ…?”
“उहाँहरू सबै विदेशमा । आउन भ्याउनु हुन्न ।”
“ओहो ! हामी कति विकसित भैसक्यौं । छरछिमेक परै जाओस एउटै बिल्डिङ्गका सह निवासी पनि चिन्दैनौं । छोरा–छोरीको कत्रो व्यस्तता । आमाको अन्त्येष्टिमा सहभागी हुन भ्याइन्न…।” यस्तै केके भुन्भुनाउदैँ । अपार्टमेन्टको लिफ्ट भएतिर अगाडि बढ्छ ।
नोट : एनोमि : समाजमा, व्यवहार र मूल्यको स्पष्टता हराउनु, सामाजिक नियमको विघटन हुनु र व्यक्तिहरूको जीवनमा दिशाहिन उत्पन्न हुनु हो ।
– नागर्जुन नपा. वडा नं. ४


No comments:
Post a Comment