Monday, August 17, 2026

लघुकथा (अङ्क ३७ मा प्रकाशित)


"हेल्लो बाबा ! म जाँदैछु !’’ हर्षबहादुरको मोबाइलमा झिसमिसेमै आवाज आयो 

“कहाँ जाँदै छस् ?’’ 

“युद्धमा खटिएँ, आज बिहानै उड्नुछ ।’’ बुबाको प्रश्नको जवाफमा उताबाट आवाज आयो र मोबाइल बन्द भयो ।

युद्धको परिणाम अत्यन्तै खतरनाक हुन्छ । आमा बुबालाई शून्यतामा पुर्‍याउँछ । श्रीमतीलाई विधुवा, केटाकेटीलाई टुहुरो बनाउँछ । तर पनि किन युद्ध गर्छन् ठूला देशहरू ? ठूलो प्रमाणित गर्ने दम्भ वा उक्सिन लागेकालाई तह लगाउने तरिका । यो एउटा आम प्रश्न हो र अलिकता पनि बुझ्ने मान्छेले यो कुरा सहजै बुझ्न सक्छ ।

लमजुङका गाउँ घरमा अचेल युद्धकै चर्चा हुने गर्दछ । गजे घलेको बिडो थाम्ने त्यहाँ निकै छन् । 

युद्ध थामिएला भनेको त झनै चर्किदै गएकोले सोमबहादुर पनि युद्धको मैदानमा खटिएछ । गाउँमा रहेका परिवारजन सबै चिन्तामग्न छन् ।

“स्नातक गर्दा गर्दै सेनामा भर्ती हुन जाँदा नजाउ भनेको मानेन ।’’ उसका बुबा फतफताउँदै थिए ।

उनको गाउँका थुप्रै युवाहरू विदेशी सेनामा भर्ती भा’छन् ।

देशमा रोजगारको राम्रो व्यवस्था नभएको भन्दै जीवनलाई उपयोगी बनाउन बुबा आमाका बुढेसकालको सहारा विदेशी सेनामा भर्ना हुन गएको रहेछ ।

भोलि बेरोजगार बस्नु भन्दा बेलैमा नोकरीको जोहो गर्नु राम्रो ठान्या रै’छ सोमबहादुरले । 

“अचेल क्षेप्यास्त्र र मेसिनगनको अगाडि हाम्रो बेला जस्तो खुकुरी युद्धमा त्यति काम लाग्दैन ! कसरी लडाईँ गर्ला सोमेले ?’’ बुबा हर्षबहादुर चिन्तित थिए ।

सोमबहादुर चढेको लडाकु विमान बेपत्ता भएको खबर साँझपख हर्षलाई विदेशबाट आएछ । घरका सबै मान्छे चिन्तामग्न देखिए ।

“हेलो ! सोमबहादुर घाइते अवस्थामा फेला पर्‍यो, अहिले ऊ शत्रुको कब्जामा छ ।’’ उताबाट पुनः खबर आयो ।

हर्षबहादुरले लामो स्वास फेर्‍यो ।

– काठमाडौँ – ५

.............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment