"हेल्लो बाबा ! म जाँदैछु !’’ हर्षबहादुरको मोबाइलमा झिसमिसेमै आवाज आयो
“कहाँ जाँदै छस् ?’’
“युद्धमा खटिएँ, आज बिहानै उड्नुछ ।’’ बुबाको प्रश्नको जवाफमा उताबाट आवाज आयो र मोबाइल बन्द भयो ।
युद्धको परिणाम अत्यन्तै खतरनाक हुन्छ । आमा बुबालाई शून्यतामा पुर्याउँछ । श्रीमतीलाई विधुवा, केटाकेटीलाई टुहुरो बनाउँछ । तर पनि किन युद्ध गर्छन् ठूला देशहरू ? ठूलो प्रमाणित गर्ने दम्भ वा उक्सिन लागेकालाई तह लगाउने तरिका । यो एउटा आम प्रश्न हो र अलिकता पनि बुझ्ने मान्छेले यो कुरा सहजै बुझ्न सक्छ ।
लमजुङका गाउँ घरमा अचेल युद्धकै चर्चा हुने गर्दछ । गजे घलेको बिडो थाम्ने त्यहाँ निकै छन् ।
युद्ध थामिएला भनेको त झनै चर्किदै गएकोले सोमबहादुर पनि युद्धको मैदानमा खटिएछ । गाउँमा रहेका परिवारजन सबै चिन्तामग्न छन् ।
“स्नातक गर्दा गर्दै सेनामा भर्ती हुन जाँदा नजाउ भनेको मानेन ।’’ उसका बुबा फतफताउँदै थिए ।
उनको गाउँका थुप्रै युवाहरू विदेशी सेनामा भर्ती भा’छन् ।
देशमा रोजगारको राम्रो व्यवस्था नभएको भन्दै जीवनलाई उपयोगी बनाउन बुबा आमाका बुढेसकालको सहारा विदेशी सेनामा भर्ना हुन गएको रहेछ ।
भोलि बेरोजगार बस्नु भन्दा बेलैमा नोकरीको जोहो गर्नु राम्रो ठान्या रै’छ सोमबहादुरले ।
“अचेल क्षेप्यास्त्र र मेसिनगनको अगाडि हाम्रो बेला जस्तो खुकुरी युद्धमा त्यति काम लाग्दैन ! कसरी लडाईँ गर्ला सोमेले ?’’ बुबा हर्षबहादुर चिन्तित थिए ।
सोमबहादुर चढेको लडाकु विमान बेपत्ता भएको खबर साँझपख हर्षलाई विदेशबाट आएछ । घरका सबै मान्छे चिन्तामग्न देखिए ।
“हेलो ! सोमबहादुर घाइते अवस्थामा फेला पर्यो, अहिले ऊ शत्रुको कब्जामा छ ।’’ उताबाट पुनः खबर आयो ।
हर्षबहादुरले लामो स्वास फेर्यो ।
– काठमाडौँ – ५


No comments:
Post a Comment