धेरै पहिलेको समयमा एकजना शयन सौखिन राजा थिए । उनको शयनकक्ष सजाएर सुन्दर र आकर्षक पाएिको थियो । हप्तामा २–३ वटा तन्ना फेरिन्थे । मौसमअनुसार ओढ्ने पनि फेरिएको हुन्थ्यो ।
तन्ना सिएको जोड्नीमा एउटा जुम्रो बसेको रहेछ । साँझ पर्ने बेलामा राजाको बिछ्यौनामा अचानक एउटा उडुस देखिएछ । रैथाने जुम्रोले आउरे उडुसलाई देखेपछि आदेशात्मक लवजमा भनेछ– “ए उडुस भाइ ! तिमी कहाँबाट यहाँ देखियौ ? राजाका सुसारेले नदेख्दै यहाँबाट भागिहाल । यसैमा तिम्रो भलाइ हुने छ ।”
उडुसले अवस्थालाई सहज पार्न चतुर्याइँपूर्वक भनेछ, “हेर जुम्रा भाइ ! म तिम्रो अभ्यागत हुँ । भलै पाहुना दुष्ट किन नहोस् उसलाई आसन, भोजन दिई अतिथि सत्कार पो गरिन्छ तर तिमी त मलाई भागिहाल भन्दछौ किन ?” भन्दै उडुसले आफ्नो अनुभव र विचारलाई यसरी सुनायो– मैले अनेक प्रकारका मानिसका विभिन्न किसिमका स्वाद भएका रगतहरू चाखेको छु । मानिसका आहार दोषका कारण तितो, पिरो, अमिलो, कोक्याउने रगतको मात्र स्वाद चाखेको छु । मिठो रगत चाख्नै पाएको छैन । तिमीले कृपा गर्यौ भने मात्र म विभिन्न प्रकारका व्यञ्जन र पेय पदार्थ खाएका यी राजाको मिठो र स्वादिलो रगतको स्वाद चाख्न पाउने छु ।
वाकपटुतापूर्ण उडुसका यस्ता कुरा सुनेर जुम्रोको मन केही द्रवीभूत हुन गएछ र भन्यो “म त राजा सुतेपछि विस्तारै चुसेर रगतको स्वाद लिन्छु । तिमी चञ्चले स्वभावका छौ र आतिन्छौ अनि सियोको टुप्पाले झैँ घोचेर चुस्छौ । मसित रक्तपान गर्ने मन छ भने पर्ख र बल्ल धोको पुगुञ्जेल स्वाद लेउला । मिलेर मात्र मौका पाइन्छ !”
जवाफमा उडुसले सङ्कल्प गर्यो, “तिमीजसो भन्छौ म त्यसै गरूँला, तिमीले रक्तस्वाद लिएर अघाएपछि मात्र मैले चुसौँला ।” म देउताकै कसम खान्छु भनेछ ।
उडुस र जुम्राको संवाद चलेकै बेला राजा आएर बिस्तारामा ननिदाइकन लेटेछन् । एकैछिनमा जिब्रोको चञ्चलता र सकसके स्वभावका कारण उडुसले राजालाई सियोले घोचेझैँ गरी टोकेछ । राजा जुरुक्क उठेर आफ्नो कञ्चुकीलाई तलास गर्न लगाए । कञ्चुकीले तन्नालाई सूक्ष्म रूपले हेरिन् र तन्नाको जोडनीमा लुकेर बसेको जुम्रो फेलापारी त्यहीँ मारिदिइन् । उडुस चाहिँ टोक्ने बित्तिकै खुरुर्र पलङमा भएका चरमा पसिसकेको थियो र बच्यो ।
उपदेशले स्वभावलाई बदल्न सक्दैन । पानीको चिसो गुण आगोमा तताएर उमाले पनि अगेनाबाट उतारेपछि सेलाएर चिसै भएझैँ रक्तपिपासु उडुस धैर्य भएन, आफ्नो पारा देखाइहाल्यो । त्यस दिन रगतै नचुसेको जुम्राले मारिनु पर्यो । जसले आफ्नो वर्ग र भित्रीयालाई छोडेर बाहिरीयालाई अपनाउँछ त्यसले नराम्रो परिणाम भोग्दछ र मित्रताअनुसार परिणाम निस्कन्छ भन्ने सिद्ध भयो ।


No comments:
Post a Comment