Monday, August 17, 2026

लघुकथा (अङ्क ३७ मा प्रकाशित)


"यसरी पनि धर्म हुन्छ ?’’
“अनि कसरी हुन्छ त धर्म ?’’

“होइन मैले त भोकभोकै नबस, शरीर कमजोर होला, फेरि बिरामी परिएला भनेर पो सम्झाएको त तिमीलाई !’’ श्रीमान् श्रीमतीलाई सम्झाउँदै थिए ।

“होइन बुढाबुढीको के को गाँड कोराकोर हो यो भिनाजु ?’’ भन्दै सत्या भित्र पसिन ।

श्रीमतीले भनिन्, “हेर्न सत्या व्रत किन बस्नुपर्‍यो भनेर कराउनु हुन्छ मलाई ?’’

श्रीमान्‌ले प्रतिउत्तर दिए, “हेर न सत्या मैले त उनकै स्वास्थ्य बिग्रेला भनेर भनेको नि ! श्रावणको सोमबार, प्रत्येक एकादशी, त्यतिले पनि नपुगेर मङ्गलबार पनि व्रत बसेको छ, अनि भन्नु परेन त !’’

“झन आफ्नै श्रीमान्‌को लागि भनेर यत्रो कष्ट सहेर व्रत बस्छु, उल्टो किचकिच सहनु परेको छ ।’’ श्रीमतीले घुर्क्याइन् ।

“मेरो लागि भनेर चाहीँ व्रत बस्नु पर्दैन है ? अरु बाँकी तिम्रो इच्छा ! अब म केही भन्दिन । ल मलाई ढिला भयो अफिस हिडेँ ।“ भन्दै श्रीमान् बहिरिए । 

सत्याले सोधिन्, “ए मञ्जिला के तैँले तेरो श्रीमान्‌कै लागि भनेर व्रत बसेकी होस् त ? ल नढाँटी भन् त !’’
मञ्जिलाले जवाफ फर्काइन्, “बस्छन् श्रीमान्‌का लागि भनेर !’’
अनि अघि त बुढालाई तपाईंकै लागि बसेको भन्थिस् त ! सत्याले आश्चर्य व्यक्त गरिन् । 

“त्यति त भन्दिनै पर्‍यो नि ! यहाँ आफू मोटी भएर कात्रो पीर परेको छ व्रतकै बहानामा भएपनि शरीर पातलो बन्छु कि भनेर व्रत बसेकी नि ! फिगर बनाउन डाइटिङ् क्या डाइटिङ् !’’ मञ्जिला बोलिन् ।

– पनौती–४, काभ्रे हालः कपन, काठमाडौँ

...........................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment