Monday, September 14, 2026

लघुकथा (अङ्क ३८ मा प्रकाशित)


निलो आकाश होस् वा बादलले ढाकेको कालो आकाश नै किन नहोस् – आकाशतिर एकपल्ट नियालेर हेरेपछि त्यसले प्याच्च भूइँमा थुकिहाल्थ्यो ।  

पूर्णिमाको एउटा रात । त्यसले फेरि नियालेर आकाशमा हेरिपठायो र भूइँमा प्याच्च थुक्यो । गाउँको एउटा पुजारीले त्यसलाई धेरै दिनदेखि त्यसको यस प्रवृत्तिलाई निरीक्षण गरिरहेको थियो । यसअघि पनि त्यसले धेरैपल्ट उषाकालको रक्ताम्मे आकाशलाई हेरेर थुकेको थियो । त्यस समय रातो घाम भर्खरै उदाउन लागिरहेको थियो । 

‘यो मान्छेले पागल हुने नाटक गरिरहेको छ ।’ पुजारीलाई लाग्यो, ‘वास्तवमा यसले हाम्रा भगवान्‌हरूको अपमान गरिरहेछ । सूर्यदेव र चन्द्रदेवमा दृष्टिपात गर्दै यसले जहिले पनि थुकिरहेको हुन्छ । यसरी यसले हाम्रो धर्मको तिरस्कार गरिरहेछ । यस्ता मान्छेले समाजमा भाँडभैलो मचाउन सक्छ । यसैले यस्ता समाज विरोधी, धर्म विरोधीले दण्ड पाउनै पर्छ ।’

पुजारीले गाउँका बासिन्दाहरू सबैलाई बोलाएर भने, ‘हे मेरा गाउँले मान्यजन ! तपाईँहरूले  याद गर्नुभएकै होला कि हाम्रो गाउँमा एउटा व्यक्ति छ जसले पागलपनको नाटक गर्दै हाम्रो धर्म र आस्थालाई तिरस्कार गरिरहेछ । उसले आकाशतिर हेर्दै थुक्ने निहुँमा हाम्रा सूर्यदेव तथा चन्द्रदेवप्रति दृष्टिपात गर्दै थुकिरहन्छ । यस्ता व्यक्तिले दण्ड पाउन उचित छैन र ?  यहाँहरू सबैमा मेरो अनुरोध छः हामी सबै मिलेर यस कुराको अवगत पञ्चायत प्रधानमा राख्दै यस व्यक्तिलाई उचित दण्ड दिइने विषयमा पञ्चायत प्रधानको निर्णय जान्न पाऊँ ।

पञ्चायत प्रधानलाई यस कुराको अवगत गराइएपछि गाउँलेहरू अति जिज्ञासु थिएः पञ्चायत प्रधानले दण्डबारे कस्ता निर्णय लिए होलान् ?

अर्को दिन । पुजारी र गाउँलेहरूलाई सम्बोधनमा राख्दै पञ्चायत प्रधानले भने, ‘तपाईँहरूको गुनासोलाई मध्यनजर राख्दै मैले यो निर्णय लिएको छु कि आजदेखि त्यस पागलपनको नाटक गर्ने व्यक्तिले आकाशलाई हेरेर भूइँमा प्याच्च थुक्ने पाउने छैन । त्यसको सट्टा त्यसले हरेक दिन आकाशतिर हेर्दै, भुइँमा होइन आकाशमै हजारपल्ट थुकिरहनुपर्नेछ । यही नै हो त्यसलाई तोकिएको दण्ड ।’

‘यस्तो दण्ड खै के दण्ड ?’ पुजारीले आफैंलाई प्रश्न गरिरहेथ्यो । गाउँलेहरू अकमक्क परिरहेका थिए ।

– सालबारी, पश्चिम बङ्गाल, भारत 

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment