"अहमदको घर जलाइदेऊ !’’ भीडको गर्जनसँगै शान्तिपुर गाउँका ढोकाहरू आधा बन्द भए । धर्म र जातको विषालु हल्लाले हावा नै कालो बनेको थियो । त्यही भीडको अगाडि उभिएको हरेराम आज भने एक्लै, झुकेको शिर र भारी पाइला बोकेर अहमदको आँगनमा पुग्यो ।
अहमदले चुपचाप चियाको कप अघि सार्दै सोध्यो, “आज बाटो कसरी फेरियो, दाइ ?’’
हरेरामको घाँटी अवरुद्ध भयो । “हल्लालाई सत्य ठानेँ । मान्छेको अनुहार होइन, नाम र जात मात्रै देखेँ । आज आफ्नै आँखाले आफ्नै भूल समातेँ ।’’
दुवैको दृष्टि घरअगाडिको चौरमा पुग्यो । काँडेतारले छुट्याएको सीमाको दुवैतिरका बाख्रा एउटै खोलामा निर्धक्क पानी पिइरहेका थिए । एउटै घाँस चर्दै, एउटै छहारीमा उभिँदै । तिनलाई न धर्म थाहा थियो, न जात ।
हरेरामको स्वर झन् गहिरियो, “जनावरलाई छुट्याउन नसक्ने यो तारले हाम्रो मनचाहिँ कसरी बाँध्यो ?’’
अहमद केही नबोली भाँचिएको काँडेतारको खाँबो सीधा पार्न झुक्यो । हरेरामले अर्को छेउ समातिदियो । सिरसिरे हावाले काँडेतार हल्लियो, अनि दुवै बथान एउटै हरियो डाँडातिर सँगसँगै उक्लिए । वरिपरि उभिएका गाउँलेहरू निःशब्द त्यो दृश्य हेरिरहे । कसैको मुखबाट एउटा शब्द पनि निस्केन, तर धेरै आँखामा पछुतो पग्लिरहेको थियो ।
काँडेतार अझै उभिएको थियो, तर त्यसको छायाभन्दा गह्रौँ भएर मानिसभित्र ठडिएका अदृश्य पर्खाल भने त्यही क्षण ढल्न थाले ।
– सप्तरी


No comments:
Post a Comment