Sunday, October 11, 2026

लघुकथा (अङ्क ३९ मा प्रकाशित)


उकाली ओरालीहरूमा, भङ्ज्याङ अनि चौतारीहरूमा सुन्दर ती दहहरूमा, हिमालका विशाल छातीहरूमा जहाँ जहाँ जान्छौ तिमी, म पाइला बनी पछ्याइरहन्छु ती छहरा, खोला खहरेहरूमा, सम्झना बनी बगिरहन्छु ………!’’

साँझपख आफ्नै घरको  टोल / समुदाय वरिपरि म घुम्दै थिएँ । तारादेवीको सुमधुर स्वरले कान मात्र होइन, मन मुटु नै तरङ्गित बनायो । मैले चारैतिर पल्याकपुलुक नजर घुमाएँ । एउटा घरमा घन्किरहेको आवाज पत्ता पगाउन मलाई गाह्रो भएन । म घरअगाडि टक्क उभिएँ । कोही नेपाली छन् कि ? भनेर यताउता नजर दौडाएँ ।  मनमनै सोचेँ,  "बैशाख महिनामा अमेरिका आएदेखि नै मैले साँझको यो घुमाइलाई  निरन्तरता दिएकी थिएँ तर भदौ आइपुग्दासम्म माटोको सुवाससँग यसरी अनुभूत गर्ने अवसर कहिले जुरेको थिएन ।’’ 

"नमस्कार !’’ त्यही घरको अगाडि पार्किङ गरेको गाडी अघिल्तिर उभिएर एउटा युवक बोल्यो ।

झस्किँदै मैले पनि जवाफमा नमस्कार भनेँ । केही नसोची  हत्त न पत्त सोधेँ,  "तपाईं नेपाली हो ?’’

उसले भन्यो, "हो ।’’

मन त्यसै त्यसै आल्हादित भयो । चेलीलाई माइतीको कुकुर पनि प्यारो हुन्छ भन्थे, हो रहेछ भनेझैँ भयो । त्यो बिरानो मुलुकमा अपरिचित मानिससँग परिचय आदानप्रदान गरेँ । भित्रबाट उसकी श्रीमती र ससुराबा पनि नाति नातिनी  बोकेर बाहिर आए । त्यो घर उसको सालोको रहेछ । खासमा उनीहरूलाई तीज लागेको रहेछ । दर खाने निहुँमा भेला भएका रहेछन् । उनीहरूले मलाई भित्र हिँडने आग्रह गरे तर मसँग समय थिएन । बाटोमा उभिएर नै एकछिनको भलाकुसारीपछि म छुट्टिएँ । लमक लमक घरतिर म लम्किदै थिएँ । भेटको खुसीले होला, मुटु  ढक्क फुलेको थियो । गर्वको अनुभव भएको  थियो ।

मनले सुटुक्क  सोध्यो, "आमालाई भागबण्डा लगाउन तँछाड मछाड गर्ने ती राष्ट्रघातीलाई पनि देश र जातिको सुगन्ध आउला त ?’’

–टेक्सास अमेरिका

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment