Showing posts with label मौसमी चन्द्रा. Show all posts
Showing posts with label मौसमी चन्द्रा. Show all posts

Tuesday, October 13, 2026

अनुवाद लघुकथा (अङ्क ३९ मा प्रकाशित)


हाकिमहरूका माथिबाट आदेश थियो । पसल केवल ६ बजेबाट ११ बजेसम्म खुल्ने छ । त्यो पनि आवश्यक जरुरी कामका लागि मात्र ।

पूरा महिनाभरि महेशको हार्डवेयरको पसल बन्द भयो । सानो पसल भए पनि धेरै व्यापार हुन्थ्यो । खाना खर्च, कोठा भाडा, दुध र बच्चाहरूको स्कूलको फिस । एउटा गरिबलाई योभन्दा बढी के चाहियो र ?

तर जबदेखि पसलमा ताला लाग्यो, पहिले महेशको जम्मा पुँजी सकियो । फेरि भान्साका डब्बा र बक्साको खोजी भयो । एक एक कुना खाली भयो ।

जब सबैले हात उठाए, त्यसपछि उसको पेट खुम्चिन थाल्यो । महेशलाई बाहिर निस्कन घोर अपराध गर्नुपर्‍यो ।

चोरजस्तै विस्तारै आफ्नै पसलको सटर माथि उचाल्यो ।
“आहा ! पसलको धुलोमा पनि सुगन्ध आइरहेको छ ।’’

सटर आधा बन्द आधा खुला राख्यो । एक घन्टा बितेपछि एउटा गाडी पसलनिर आएर रोकियो । एउटा पुरुष, एउटा महिला हुन् सायद ।

“पेन्टको डब्बा छ ?’’
“छ, छ । कुन रङ्गको दिऊँ हजुर ?’’

“पहेँलो रङ्गको दिनुस् !” सन्जोगले त्यो रङ्गको डब्बा पसलमा रहेछ ।
“कति भयो ?’’ पुरूषले सोध्यो ।

“हजुर ! दुई सय रुपियाँ ।’’
त्यो मानिसले दुई सय रुपियाँ दिएर गयो ।

महेशले रुपियाँ गोजीमा राख्दै आकाशतिर हेरेर ईश्वरलाई धन्यवाद दियो । 

“ए महेश ! पसल बन्द गर । पुलिसको गाडी आइरहेको छ ।” सामुन्नेको घरबाट ग्रिलवाला नितेशले चर्को आवाजमा भन्यो ।

महेशले तत्कालै चाबी झिकेर सटर तल गर्ने प्रयास गर्यो तर बदमास चाबी धेरै दिनदेखि बन्द थियो, बीचमै अड्कियो ।

महेशले पूरा जोड लगायो ।

त्यति बेला स्वाँठ एउटा बलियो लट्ठी उसको पिठ्यूँमा पर्‍यो । पीडाले ऊ रन्थनियो ।

“साले ! तिमीहरूकै कारण यो बिमारी बढिरहेको छ । घरमा रहेर ज्यान जोगाऊ तर घरबाट बाहिर ननिस्किओ । प्रोटोकल नामसित कुनै मतलब छैन । छिटो बन्द गर् !” यति भनेर प्रहरीको पोसाकधारी मानिसले लगातार दुई–चार पटक लट्ठीले हानेर गयो ।

महेशको पुरै जिउ दुखिरहेको थियो तर आँखा भने चम्किरहेको थियो । उसले मुट्ठी खोल्यो । दुई सयको नोट अहिले पनि उसको हातमा थियो ।

–बिहार, भारत

 अनुवादः डा. पुष्करराज भट्ट

.............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।