Saturday, October 10, 2026

म किन लेख्छु ? (अङ्क ३९ मा प्रकाशित)


'म किन लेख्छु?’ – यो प्रश्नको जवाफ दिन मलाई साह्रै गाह्रो हुन्छ। म शब्दहरूसँग चिनजान गर्दै, कलम चलाउन सिक्दैछु ।

म लेख्दिनँ होला, सायद मभित्रका केही कुरा शब्द खोज्दै बाहिर आउन खोज्छन् । कुनै दृश्य, नीरवता, कसैको आँखामा अडिएको पीडा, सम्बन्धभित्र नबोलिएका वाक्य, निभाउन नसकेका कर्तव्यको पश्चाताप वा समाजमा देखिएको सानो विसंगतिले मनमा प्रश्न छोड्छ । ती प्रश्नहरूलाई बे–वास्ता गर्न सक्दिनँ । तिनै प्रश्नहरू शब्द खोज्दै कागजसम्म आइपुग्छन् । सायद यही लेखन हो । 

बुबाले भन्नुभएको थियो– “तिम्रो लेखाइ एकदम राम्रो छ, छोरी, कलम नरोक, सङ्ग्रह निकाल्नुपर्छ ।” उहाँको त्यो वाक्य मेरो स्मृतिमा गहिरो गरी बसेको छ । उहाँको देहावसानपछि मातापिताको बिछोडले थिचिएको समयमा, बुबालाई माया गर्ने अग्रजहरूले भन्नुभयो– “शोकलाई शक्तिमा बदल, छोरी । हजुरबुबा र बुबाको सम्झनालाई शब्दले अगाडि बढाउनुपर्छ ।”

ती शब्दहरूले दुःखले थिचिएको मनलाई सम्हाले । बुबाआमाको बिछोडको पीडा मेरा लागि गहिरो अनुभूति बन्यो । त्यस पीडामाथि शब्दहरू मलमजस्तै भए । लेख्दा उहाँहरूसँग बिताएका क्षण, आवाज र सामीप्य फेरि नजिक आएझैँ लाग्छ । त्यसैले उहाँहरूको अभावमा लेख्नु मलाई दुःखबाट भाग्नु होइन, दुःखसँगै बाँच्ने एउटा आधार बनेको छ ।

हजुरबुबा र बुबाको साहित्यप्रतिको लगावले मलाई गहिरो प्रभाव पारेको छ । उहाँहरू अभिभावक मात्र होइन, शब्द र संस्कारसँग जोड्ने आधार पनि हुनुहुन्थ्यो । उहाँहरूले छोडेर जानुभएको साहित्यिक चेतना र सम्झनालाई आफ्नो तरिकाले निरन्तरता दिन चाहन्छु । उहाँहरूको नाम र सोचलाई शब्दमार्फत अगाडि बढाउन चाहन्छु ।

लघुकथा, कथा र कविता लेख्ने प्रयाससँगै समय, समाज र आफूलाई छोएका विषयमा लेख र विचारहरू पनि लेख्दै आएकी छु । केही लेख पत्रपत्रिकामा छापिएका छन् । कतिपय रचना फेसबुक वालमा राख्छु । त्यहाँ आफ्ना शब्दहरू सुरक्षित रहन्छन् जस्तो लाग्छ र मनमा सन्तुष्टि मिल्छ ।

जीवनका ठूला कुरा सधैँ ठूला घटनामै भेटिँदैनन् । सानो घटना, संवाद, हेराइ वा मौनताभित्रै पनि पूरै जीवन लुकेको हुन सक्छ । त्यही सानो क्षणभित्रको ठूलो अर्थ टिप्न मलाई मन पर्छ ।

मेरा लागि लेख्नु नाम कमाउने माध्यम होइन । मनमा जम्मा भएका अनुभूति र भन्न नसकेका कुरा शब्दमार्फत आकार दिन सकूँ—लेखनको अर्थ मेरा लागि यही हो । हजुरबुबा र बुबाआमाको जीवनकालसम्म उहाँहरूको नामसँगै मैले आफ्नो परिचय पाएँ । आज उहाँहरू भौतिक रूपमा मसँग हुनुहुन्न, तर उहाँहरूको स्नेह, संस्कार र सम्झना मभित्र जीवित छन् ।

सायद त्यसैले अब म आफ्ना शब्दलाई उहाँहरूको सम्झनासँग जोडेर अगाडि बढाउन चाहन्छु । बुबाआमासँगको बिछोडको पीडामा शब्दहरू मलम बनून्, हजुरबुबा र बुबाले छोडेर जानुभएको साहित्यिक विरासत मेरो कलमबाट केही कदम अगाडि बढोस् र उहाँहरूको नाम मेरा रचनामा जीवित रहोस्‌—चाहना यही हो । उहाँहरूको सम्झना मेरा शब्दमा बाँच्छ भने, त्यही नै उहाँहरूका लागि मेरो श्रद्धाञ्जली हुनेछ ।

कुनै अपरिचित मनले पनि मेरा शब्दमा आफ्नै अनुभूतिको झिल्को भेट्न सकोस्‌—चाहना यत्ति हो ।

सायद त्यसैले म लेख्छु—मेरा बुबाको त्यो आवाज सम्झँदै, उहाँहरूको सम्झनालाई शब्दमा जोगाउँदै र आफ्नो कलम नरोक्ने प्रयास गर्दैछु ।

– रमेश विकल प्रतिष्ठान मार्ग आरुबारी

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment