Showing posts with label रत्न कोजू. Show all posts
Showing posts with label रत्न कोजू. Show all posts

Saturday, October 10, 2026

व्यक्तित्व (अङ्क ३९ मा प्रकाशित)


आधुनिक नेपाली कथा–परम्पराको 'नवचेतनाको युग’ (सं. २०२०–३९) मा कथाकार रत्न कोजू (सं. २०१४) देखा परेका हुन् । उनको पहिलो प्रकाशित कथा हो 'एउटा चित्र’ (सं. २०३१) । इतिहास विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरेका उनी सामान्य घरेलु व्यवसाय गरी जीवन बिताइरहेका छन् । उनी साहित्यिक पत्रकारितामा पनि अभिरुचि राख्दछन् । 'पुस्तकाकारमा प्रकाशित उनको एउटै मात्र कथासङ्ग्रह हो बुढो वर्तमान (सं. २०३९) । अर्को कथासङ्ग्रह प्रकाशनको प्रतीक्षामा छ ।

रत्न कोजू देशको समसामयिक राजनीतिक शासन व्यवस्थाको कटु आलोचना गर्ने कथा–स्रष्टा हुन् । उनले देशमा लागू भएको पञ्चायती शासन व्यवस्थाको निरङ्कुश शैलीलाई प्रत्यक्ष विधिद्वारा होइन, स्वैरकल्पना ('बलतबकथ) र अन्योक्ति विधिद्वारा प्रस्तुत गरेका छन् । यसो गर्नु उनको बाध्यता पनि थियो, किनभने त्यस व्यवस्थाले व्यक्तिको वाक् स्वतन्त्रतामाथि पूर्ण प्रतिबन्ध लगाएको थियो । कथासङ्ग्रहको 'स्व–स्वर–स्वीकार’ ('अर्थात् भूमिका’) मा उनले यस कुराको सङ्केत यसरी गरेका छन् :

मलाई सम्झना छ, सानो छँदा पढेको/सुनेको एउटा नाऊको कथा । एकपल्ट राजाको कपाल काट्न जाँदा उनको एउटा कान नभएको देख्छ – उसले । त्यो कुरालाई दबाउनै नसकिने स्थितिमा पुगेर ऊ छटपटाउँछ । कसैलाई भनौँ राजाको डर, चुप बसौं मनभरिको मत्सर जुन उसको लागि राजाबाटू पाउने कुनै सजायभन्दा कम लाग्दैन । त्यही छटपटीमा ऊ कुनै निर्जन ठाउँमा पुग्छ र 'राजाको एउटा कान छैन है !’ भनी नर्कटको घारीलाई सुनाएर हलुङ्गो फर्कन्छ । मैले यस सङ्ग्रहलाई त्यसैको प्रतिलिपि ठानेको छु र, त्यसैले कथामा मैले आफूलाई माध्यम मात्र स्वीकार गरेको छु । आफ्नो आँखा अगाडिको … लाई तत्काल मेरो चेतनाले जसरी जुन बिम्ब र प्रतीकद्वारा टिप्यो, जुन शैलीमा त्यसलाई भन्यो सङ्ग्रह त्यसको मस्यौदा हो । यही कारण हो, कथाहरूमा दुरूहताले प्रश्रय पाएर कथ्य कहीँ कतै नेपथ्यमै हराएको महसुस गरेको छु…

र, म अहिले एउटा कान नभएको राजाको कथा नर्कटसँग भन्ने त्यो नाऊझै केही हलुङ्गो भएको छु। (पृ. 'क’ र 'ख)’) ।


कथाकार रत्न कोजूले आफ्ना लघुकथाहरू 'चोट’, 'पर्खालहरू’, 'इलाकाभित्र’, ’तर त्यो फर्केन’, 'दुष्यन्त–शकुन्तला भेट’, 'बुढो वर्तमान’, 'उनी आएछन्‌’ मा तात्कालिक राजनीतिक कटुता र विकृतिहरू खुलस्त पारेका छन् । देशमा विद्यमान शासन व्यवस्थामा प्रजातान्त्रिक मूल्य र मान्यताको सर्वथा अभाव हुँदा आम जनता अपाङ्ग जस्तो भएर बाँच्नुपरेको पीडालाई उनले कथ्य बनाएका छन् । यसै सन्दर्भमा उनले 'चोट’ कथामा २००७ सालपश्चात् देशमा आइसकेको प्रजातन्त्र एक दशकपछि बेपत्ता भई हराएकोमा जनतालाई परेको चोटलाई अन्योक्तिद्वारा व्यक्त गरेका छन् । यस कथामा प्रजातन्त्रको बहिर्गमनबाट देशमा व्याप्त विषादमय स्थितिको चित्रण यसरी गरिएको छ :

– दाइ, उहाँ त गइहाल्नुभो ।
– साँच्चै ?
– हो ।

बाहिरिँदासम्म हाँसोमा चुलिएको घरको वातावरण अहिले मुर्झाइरहेको छ । सबै आ–आफ्ना ओछ्यानमा एउटा अप्रत्याशित व्यथा सँगालेर सुस्ताइरहेका हुन्छन् । आमा आफ्नै ओछ्यानमा सुक्कसुँक्क गरिरहेकी हुन्छिन् । विस्तारै साँझको कालिमा बढ्दै जान्छ । कसैको मनमा बत्ती बाल्न सुल्झिरहेको हुँदैन । मै बिजुलीको स्विच अन गर्छु, कालिमा कतै भाग्छ, कतै लुक्छ । तर हामीभित्रको कालिमा भने छिपिँदै गएको साँझसित अझ गहिरिदै जान्छ, गहिरिँदै जान्छ ।