Saturday, October 10, 2026

अन्तर्वार्ता (अङ्क ३९ मा प्रकाशित)




खेमराज सर तपाईंको अमेरिकामा दिन कसरी बिताई रहनुभएको छ ?

खेमराजः साहित्य साधनामा बरालिनु मेरो वर्तमान दिनचर्या हो । त्यसैले साहित्य मै घोत्लिन रहेको हुन्छु ।

तपाईंले कहिलेबाट लघुकथा लेख्न सुरु गर्नुभयो ?

खेमराजः मैले २०७१ सालमापहिलो लघुकथा लेखेँ, जसको शीर्षक थियो ‘फिङ्गर फ्रिन्ट’ । लघुकथा कुनोमा सर्वप्रथम प्रकाशित भयो । मेरो पहिलो लघुकथासङ्ग्रहमा प्रकाशित पनि छ । 

लघुकथाप्रति तपाईंको आकर्षण बढ्नुको कारण के हो ?

खेमराजः लघुकथा लेखन, पठन, चिन्तन, मननप्रति मेरो आकर्षण बढ्ने खास कारण केही छैन । संयोग मात्र हो । तर पनि सामाजिक सञ्जालमा रहेको लघुकथा कुनोको भूमिकाले गर्दा म लघुकथातिर आकर्षित भएँ । त्यसको म एउटा एडमिन पनि हुँ । सायद यही भूमिकाले मलाई लघुकथामा रम्न सिकायो ।

तपाईंको विचारमा लघुकथा के हो ?

खेमराजः मेरो विचारमा लघुकथा आख्यानको एउटा छुट्टै र स्वतन्त्र प्रविधा हो । कथाको सङ्कुचित रूप वा उपन्यासको एक सुन्दर अनुच्छेद होइन लघुकथा । लघुत्व, तात्क्षणिकता, प्रभावकारिता यसका तङ्खव हुन् । मैले दिने गरेको परिभाषा ‘सूक्ष्म रूपमा शब्द सीमितताभित्र अटाइएको, आयामको सूक्ष्मता भएको, झट्केदार आख्यानात्मक प्रस्तुति लघुकथा हो । आख्यानको हारमा यो हुचिल (उपन्यास) पनि होइन, काग (कथा) पनि होइन, भुसुनो –एक लाइनकथा) पनि होइन, कागको खण्डित रूप वा भुसुनोको विस्तारित रूप पनि होइन । बरु बगेडी हो, पूर्ण बगेडी’ हो ।

लघुकथा राम्रो बनाउन कुन कुन कुरामा ध्यानदिनु पर्छ ?

खेमराजः मेरा विचारमा लघुकथा राम्रो बनाउन मूल रूपमा संरचना विधान (बनौट, बुनौट) तथा कथ्यविधान (कथानकको ओज) मा ध्यानदिनु जरुरी हुन्छ । संरचनाविधानको हेक्का राखी आफूले उठाएको कथानकको सन्देशप्रति आफैँले प्रश्न उठाएर आउने उत्तरसँग सम्बन्धित कथानक छान्यो भने लघुकथा राम्रो बन्छ भन्ने मेरो मान्यता छ । अर्थात् आफ्नै कथानकमा प्रश्न गरी निखार ल्याउनु सुन्दर कथानकको छनौट हो ।

अनि तपाईंलाई कस्ता किसिमका लघुकथा मनपर्छ ?

खेमराजः मलाई रुन्चे कथानक त्यति मन पर्दैन । जीवनलाई नकारात्मक धारबाट व्याख्या गरिएको कथानक पनि मन पर्दैन । अन्धविश्वासी कथानक पनि मन पर्दैन । रुन्चेको सट्टा विद्रोही, अन्धविश्वासीका सट्टा चेतीय तथा जीवनका प्रति नकारात्मकताभन्दा सकारात्मकता भएको कथानक मनपर्छ । किनकी जीवनमा बाँच्नु भनेको नै सकारात्मक कुरा हो । मरेपछि त खिसाखत्तम भइहाल्छ नि !

तपाईं कस्ता विषयवस्तुमा लघुकथा लेख्न रुचाउनु हुन्छ ?

खेमराजः मचाहिँ मैले आफैँले बनाएको वैचारिक थिममा लघुकथा लेख्न मन पराउँछु । मेरो वैचारिक थिम भनेको अग्रगम्यता हो । प्रश्नै प्रश्न सोधेर तर्कका कसीमा राखेर आउने सत्यका आधारमा म लघुकथा लेख्न मन पराउँछु । हौवा, हल्ला वा हावामा लाग्दिनँ ।

लघुकथाको विकासमा आफूले गरेको योगदान के के रहेका छन् ?

खेमराजः मलाई लघुकथाको क्षेत्रमा अथवा नेपाली साहित्यको क्षेत्रमा त्यत्रो बिघ्न उल्लेख गर्नुपर्ने गरी योगदान गरेको जस्तो लाग्दैन ।

साहित्यिक संस्थासित आबद्ध हुनुहुन्छ भने ती कुन–कुन संस्था छन् ?

खेमराजः म आफ्नै लिलिपुटियन अस्तित्वमा रमाउँछु । म आफू चाहिँ कुनै साहित्यिक संघसंस्थासँग आबद्ध भएर त्यसको अनुशासनमा बसेर क्रियाकलाप गरी रमाउने वा अस्तित्व निर्माण गर्ने मानिस होइन । अर्थात् कुनै पनि साहित्यिक संस्थाको आवरणमा म आफ्नो अस्तित्वको जगेर्ना गर्न चाहन्न । म यी सबबाट मुक्त हुन चाहन्छु । तर मसँग सम्बन्ध भएका वा मलाई आबद्धताको लागि अनुरोध गरिएका सामाजिक सञ्जालीय वा भौतिक साहित्यिक संस्थामा भने म बिनाभूमिका, बिनापूर्वाग्रह तथा बिनास्वार्थ आबद्ध भएको हुन्छु । मसँग स्वार्थ पूर्ति गर्न/गराउन खोजियो भने म तटस्थ बन्छु । निस्पृह बन्छु । सङ्ख्यात्मक रूपमा कति ओटा साहित्यिक संस्थामा म आबद्ध छु भन्नै सक्तिनँ । गनेको पनि छुइनँ । गन्ने पनि छुइनँ ।

खेमराज पोखरेलका केही कृतिहरू

तपाईंले त धेरैवटा संयुक्त लघुकथासङ्ग्रह पनि निकालीसक्नु भएको छ, यसरी संयुक्त लघुकथासङ्ग्रह निकाल्दा हुने फाइदा र बेफाइदा के के होलान् आफ्‌ना अनुभवहरू बताउनुहोस् ।

खेमराजः यो प्रश्न सायद साहित्यकार विश्वराज अधिकारी, कुसुमाकर शर्मा गौतम र मेरो संयुक्त लघुकथासङ्ग्रह ‘ओदान’ तथा हालै २०८३ सालमा प्रकाशित भएको ‘त्रिकुटी’ सँग सम्बन्धित होला जस्तो लागेको छ । ‘ओदान’ र ‘त्रिकुटी’ संयुक्त लघुकथासङ्ग्रह हो । अर्थात् त्यसभित्र हामी तीनै जनाको एक एकओटा छुट्टै लघुकथासङ्ग्रह रहेको छ । यसबाट मूलतः दुई फाइदा छ । एक त अर्थ/खर्चका हिसाबमा सहुलियत हुन्छ । अर्को यी कृति हामी तीनबिचको तत्कालीन अवस्थाको मित्रताको द्योतक पनि हो । बेफाइदा के हुन्छ भने पाठकले त्यसभित्र तीनओटा लघुकथासङ्ग्रह सङ्ग्रहीत छन् भनेर मेसो नै पाउन्नन् । त्यसभित्रका लघुकथासङ्ग्रहको छुट्टै अस्तित्व धरापमा परिरहन्छ । परिरहेको छ ।

बाँकी जीवन अमेरिकामा नै बिताउने कि नेपाल फर्किने योजना छ ?

खेमराजः यो प्रश्न मेरा लागि जटिल हो । म संयोग र परिवेशमा विश्वास गर्ने मानिस हुँ । मेरा निर्णयहरू परिवेश र संयोगले गरिन्छ । अब कुरा रह्यो बाँकी जीवन नेपालमा कि अमेरिका बिताउने भन्ने कुरा पनि संयोग तथा परिवेशले नै निर्धारण गर्छ । यो चाहिँ पक्का हो कि म वर्तमानमा अमेरिकाको टेक्सस राज्यको सान्‌मार्कोसमा छोरीसँग बसिरहेको छु । योजना केही छैन । योजना बनाएर पनि सोअनुसार जिन्दगी चल्ने होइन क्यारे ! त्यसो भएपछि नजाने गाउँको बाटो म किन सोधूँ ?

स्थायी रूपमा नेपाल नफर्कने हो भने वा फर्कने भएपनि कारण के होला ?

खेमराजः पहिलो कुरा त स्थायी रूपमा नेपाल फर्कने/नफर्कने टुङ्गो छैन । यदि नफर्कने कुरा रह्यो भने धेरै कारण हुन सक्छन् । भौतिक कारण धेरै हुन सक्छन् । अमेरिकी भौतिकजीवन र नेपालको भौतिकजीवनको तुलना हुन सक्दैन । मनोवैज्ञानिक कारण पनि धेरै छन् । कारण बयान गर्‍यो भने आलेख बन्छ । त्यसै पनि म मेरा मर्जीले अमेरिका आएको/बसेको होइन । सन्तानका कारणले म अमेरिका आएको/बसेको हुँ । सन्तान मोह त्याग गर्ने कथित ‘ब्रह्म ज्ञान’सम्म पुग्ने मलाई जाँगर छैन । तर पनि यत्ति बुझिदिन अनुरोध गर्छु कि अमेरिकामा म अर्थोपार्जनमा छुइनँ । बुक्का छु । र मैले नेपालमा भएपनि अमेरिकामा भएपनि मेरो अबको योगदान भनेको साहित्य साधना हो, त्यो म गरिरहेको छु । गरिरहने छु । अहिलेको डिजिटल युगमा नेपालमा बस्नु र अमेरिकामा बस्नुले के तात्विक फरक पर्छ र ? आखिर मैले राष्ट्र, राष्ट्रियताको राजनीतिक ब्यापार गर्नु छैन क्यार !

अमेरिकामा रहँदा खेमराज पोखरेलसँग कसरी सम्पर्क गर्न सकिन्छ ?

खेमराजः अमेरिकामा १२१०५०८०९११ मेरो इमेल : khempokharel2013@gmalil.com हो ।

No comments:

Post a Comment