Friday, June 6, 2025

लघुकथा (अङ्क २४ मा प्रकाशित)


 

श्रीमतीको गहना बेचेर किताप त छापें । अब विमोचन कसरी गर्ने होला ? अक्षर प्रसाद “दुखीले” साथी शब्दप्रसाद “पीडित’’सँग गुनासो गरे ।

“पीडित”— चिन्ता नगर प्रविधिको जमानामा जुमको माध्यमबाट गर्दा भै हाल्छ । हलको पैसा तिर्न नपर्ने, निम्तालुहरूलाई खाजा ख्वाउन नि नपर्ने ।

“दुखी”— तिम्रो सुझाव एकदमै ठिक लाग्यो उत्साहित हुँदै उनले भने बरु लिंक पो कसरी लिने होला  ?

“पीडित”— त्यो त मेरो सालोको श्रीमतीको मितिनीको स्कूल छ । त्यहाँ जुमबाट पढाउने गर्छन् । मैले भने पछि नाइ भन्दैनन्‌

“दुखी”— त्यसो भए कुन समय उपयुक्त होला ? दिउँसो अफिस, घरको कामले फुर्सद हुँदैन । साँझ विशेषगरि नारी श्रष्टालाई खाना पकाउने खाने गर्दा नौ बजिहाल्छ ।

“पीडित”— राती १० बजे राख्दा ठिक्क हुन्छ । त्यस पछि साहित्यकारहरू फुर्सदमा हुन्छन् ।

“दुखी”—तिमीले ठिक भन्यौ । कार्यक्रम त भब्य गर्नुपर्छ । म सय जनालाई निम्ता गर्छु तिमीले सय जना बोलाउ । दुईसय जना भएपछि भन्या जस्तो कार्यक्रम भै हाल्छ । बरु कहिले गर्ने होला ?

“पीडित”— राम्रो कामको लागि ढिला किन ? पर्सी शनिवार नै हुन्छ ।

“दुखी’’— शनिवार थुप्रै साहित्य कार्यक्रम हुन्छ । दिनभरि घरि यो घरि त्यो कार्यक्रममा धाउँदा सबै थाकिसकेका हुन्छन् अनि राती पनि कार्यक्रममा को आउलान् र ?

“पीडित”— त्यसको चिन्तै नगर न हाम्रो काम बोलाउने हो । आउनेको काम आउने हो ।

शनिवार राती निर्धारित समयमै “दुखी” र “पीडित” जुममा उपस्थित भए तर निम्तालु कोही पनि देखिएनन् । राती १२ बजेसम्म पनि नआएपछि “दुखी’’ले भने म चाहीँ सबैको कार्यक्रममा गएँ । मेरोमा चैं कोही आएनन् ।

“पीडित”— दुःख नमान साथी सय बराबर तिमी, सय बराबर म । दुई सय पुगिहाल्यो ।

– असन, काठमाडौँ

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment