चुनावमा उमेदवार भएपछि उहाँलाई निकै सकस भएको छ । उहाँको पृष्ठभूमि राजनीतिक होइन । उहाँ विश्वविख्यात उद्योगपति हुनुहुन्छ । उहाँका देशभित्र र बाहिर समेत ठुलाठुला उद्योग सञ्चालनमा छन् । ती सबैको सञ्चालन र रेखदेख कर्मचारी, मजदुर र नोकरचाकरले गरेका छन् । उहाँको सम्पत्ति अथाह छ । पार्टीले प्रशस्त आर्थिक सहयोग लिएर उहाँलाई यसपालिको संघीय निर्वाचनमा उमेदवार बनाएको हो ।
विलासी जीवन बाँचिरहेका उहाँमा शारीरिक श्रम र व्यस्तता सहने खुबी छैन । अहिले भने उहाँले सहनै पर्ने बाध्यता छ । मतदाताका अगाडि बोलेरो हाँकेर यात्रा गर्न मिलेको छैन उहाँलाई । कहिले अर्काले हाँकेको बाइकको पछाडि बसेर त कहिले आफैंले साइकिल चलाएर बस्तीका चोकचोकमा र जनताका घर घरमा पुग्नुपरेको छ । यत्ति मात्रै कहाँ हो ? जनताका घरमा जेजस्तो पाकेको छ त्यही मिठो भन्दै खानु पनि परेको छ उहाँले । मिनरल वाटर कहाँ पाउनु जतासुकै ! त्यहीँका खोला, धारा र नल्काको पानी खान बाध्य हुनुभएको छ उहाँ । त्यसैले त उहाँको पेट पटकपटक गडबड भएको छ । शरीर थाकेर लखतरान भएको छ भने बोल्दा बोल्दा घाँटी बस्न थालेको छ । उहाँ घरीघरी ब्यागबाट क्याप्सुल/ट्याबलेटहरू निकाल्दै खानुहुन्छ ।
दस– बाह्रदिनपछि एकदिन साँझ घरमा पुग्नुभयो उहाँ । निकै दुब्लाइस्सेछ नि, अचानक उहाँकी पत्नीले भन्नुभयो । हो, दुब्लाएँ त । कम सकस हुँदो रहेछ चुनावमा उम्मेदवार भएर मतदाताका घर घर पुग्न ! तर जितियो भने यस्तो सकस केही होइन राधा ! नेताले पत्नीलाई मायाले स्पर्श गर्दै भन्नुभयो । यतिखेर राधामा भने केही खुसी र केही दुःखको अनुभूति भयो ।
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment