Monday, June 9, 2025

लघुकथा (अङ्क २४ मा प्रकाशित)


"ठूलै परियोजनाको काम सम्पन्न गर्यो नोर्बुले ।’’
साथीहरूमा टीकाटिप्पणी हुँदै थियो । 

“यो परियोजनामा यति धेरै लागत कसरी लाग्यो ? नोर्बुले रकम झ्वाम्म पारेको हुन सक्छ ।’’ विवादका कुराहरू बढ्दै गएपछि आखिर छानबिन समिति नै बन्यो । समितिको अध्यक्ष पनि नोर्बु नै भयो । 

विरोध हुन थाल्यो ।
“यो छानबिन समितिको अर्थ छैन । जुन व्यक्तिले परियोजना सम्पन्न गर्यो उहीँ छानबिन समितिको अध्यक्ष । यो त संसारको आठौं आश्चर्य भयो । यसमा विश्वास गर्न सकिँदैन ।’’ नोर्बुलाई समितिको अध्यक्षबाट राजीनामा गर्न व्यापक दबाब आयो । जनगुनासो अति बढेकोले नोर्बुले समितिको अध्यक्षबाट राजीनामा दिनुपर्यो । 

केही समयपछि पार्टीको व्यक्तिलाई समितिको अध्यक्ष बनाइएको जानकारी आयो । सबै जिल्लाराम परे । फेरि गएको चुनावमा नोर्बुको सहयोगलाई पार्टीले राम्ररी मूल्याङ्कन गरेकै थियो । आउँदो चुनाव खेर फाल्न कसले चाहन्थ्यो र ? छलफल चल्दै थियो । 

“यसरी झन् कसरी निष्पक्ष हुन्छ ? यो त झन् हुँदै भएन ।’’ विरोधका आवाज पनि घनिभूत हुँदै थिए ।

त्यसै बेला सरकारको तर्फबाट घोषणा गरियो ।
“अब त समितिमा परिवर्तन हुँदैन ।’’
विपक्षीहरूले अझ आवाज उठाउन थाले ।
“त्यसो भए हामी आन्दोलनको आँधीबेहरी ल्याउने छौं ?’’

सत्तापक्ष कत्ति दबिन चाहँदैनथ्यो ।
“हामी पनि आन्दोलनबाटै आएका हौ । अहिले सबैको विश्वासिलो व्यक्ति नै समितिको अध्यक्ष छ । अब निष्पक्ष छानबिन हुन्छ । सबैलाई विश्वास गरी धैर्यधारण गर्न अनुरोध गरिन्छ ।’’ तर विरोध थामिएन ।

विपक्षीहरूले आवाज बुलन्द गरे । गाइँगुइँ सुनियो, “यसले झन् निष्पक्ष छानबिन गर्छ भनेर कसरी विश्वास गर्ने दुधको साक्षी बिरालो ।’’

– भरतपुर –१३, चम्पानगर, चितवन

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:

Post a Comment