१. विषयप्रवेश
साहित्यमा मुख्यतया चारओटा विधाहरूको सैद्धान्तिक अध्ययनले पूर्णता पाउन थालेको छ । तिनमा कविता, नाटक, आख्यान र निबन्धजस्ता विधाहरू रहेका छन् । कविताका रूपमा फुटकर कविता, खण्डकाव्य र महाकाव्यको अध्ययन गरिन्छ । तर, तिनीहरू सैद्धान्तिक दृष्टिले आपसमा जति नजिक छन् त्यति नै तिनका बीचमा केही अन्तरहरू रहेका छन् । त्यस्तै नाटकसँगै एकाङ्कीको अध्ययन गरिए पनि दुबैका बीचमा समानता र भिन्नताका अभिलक्षणहरू पाइन्छन् । त्यसैगरी आख्यानात्मक प्रकृतिका उपन्यास र कथाहरूको पनि पृथक् पृथक् विधागत अस्तित्व रहेको छ । निबन्धचाहिँ पछिल्लो चरणमा स्थापित साहित्यको कान्छोजस्तो गद्यात्मक विधा हो । सामान्यतया यी कुनै पनि विधाभित्र वा उपविधाका रूपमा लघुकथाको चर्चा गरिँदैन ।
लघुकथा आख्यानात्मक प्रकृतिको हुने भएकाले यसको सम्बन्ध उपन्यास र कथासँगै धेरै हदसम्म गाँसिएको छ । त्यसमा पनि कथा शब्दका अगाडि लघु शब्दको प्रयोग भएबाट यसको निकटतम सम्बन्ध कथा विधासँग रहेको सङ्केत हुन्छ । त्यसैले पनि यसमा कथा विधामा जस्तै अनेक संरचक घटकहरू रहेका हुन्छन् । तर, लघुकथा स्वयंमा कथा विधाको अन्तरभेदचाहिँ नभएकाले यसलाई कथाकै प्रकृतिजस्तो भए पनि स्वतन्त्र आख्यानात्मक प्रविधाका रूपमा लिने गरिन्छ ।
२. लघुकथाको परिचय
लघुकथाको शाब्दिक अर्थ छोटो वा सानो कथा भन्ने हो । यसमा तत्सम स्रोतका लघु र कथाजस्ता दुई पदको मेल भएको छ । शाब्दिक अर्थका दृष्टिले सानो कथा नै लघुकथा भनिए पनि वास्तविक रूपमा यसको अभिप्राय केही विशिष्ट प्रकृतिको रहेको छ । कथाका दीर्घतर, दीर्घ र लघुजस्ता भेदहरू हुने गर्दछन् । यहाँ लघुकथाको तात्पर्य ती कथागत भेदका रूपमा नभई स्वतन्त्र विधागत पहिचानसँग गाँसिएको छ । त्यसैले लघुकथाको अङ्ग्रेजी रूपान्तरण सर्ट स्टोरी नभई मिनी सर्ट स्टोरी वा माइक्रो स्टोरी हुने गर्दछ । अथवा, अङ्ग्रेजीमा लघुकथाको अभिप्रायसँग गाँसेर सर्ट सर्ट स्टोरी वा लिटिल सर्ट स्टोरी आदि नामहरू पनि प्रयोग हुने गरेका छन् ।
पूर्वीय संस्कृत साहित्यका आदिम ग्रन्थहरूदेखि नै लघुकथाका अनेक प्रयोगहरू हुँदै आएका छन् । संस्कृतको प्राचीनतम ग्रन्थ ऋग्वेदका सूक्तहरूदेखि अथर्ववेदका मन्त्र हुँदै उपनिषद्–ब्राह्मण ग्रन्थहरूसम्ममा समेत कथात्मक संरचनाको स्वरूप विकसित हुन थालेको पाइन्छ । त्यस्तै जातक कथा, पञ्चतन्त्र, हितोपदेश, बेताल पञ्चविंशतिका, सुकसप्तति आदि ग्रन्थहरूमा पनि कथात्मक संरचनाको विकास भएको पाइन्छ । यस्ता कथाबीज वा कथात्मक स्वरूपहरूलाई संस्कृतमा अद्भुत कथा, लोककथा र कल्पित कथाजस्ता अनेक भेदहरूअन्तर्गत पनि चर्चा गरिएको पाइन्छ । खासगरी वैदिक साहित्यका आख्यानमूलक सूक्तहरू, नीतिपरक एवम् औपदेशिक प्रकृतिका पौराणिक आख्यानचूर्णकहरू वा पञ्चतन्त्र, हितोपदेशलगायत अनेक ग्रन्थहरू लघुकथाकै सन्दर्भमा देखा पर्दछन् । यसरी पूर्वीयमा लघुकथात्मक प्रकृतिका अनेक स्रोतहरू विद्यमान रहे पनि लघुकथाको सैद्धान्तिक परिचर्चाचाहिँ प्रारम्भ भएको पाइँदैन ।
लघुकथाको सैद्धान्तिक परिचर्चा पाश्चात्य जगतबाटै भएको हो । सन् १९५० को दशकदेखि पाश्चात्य जगत्का अनेक विद्वानहरूबाटै लघुकथासम्बन्धी अभिमतहरू प्रकट भएको मानिन्छ । त्यस्तै इसपका नीतिकथा र बाइबलका आख्यानात्मक सूक्तहरूलाई पनि त्यहाँ लघुकथाकै रूपमा विश्लेषण गरिएको पाइन्छ । जे होस्, प्रारम्भदेखि वर्तमानसम्म आइपुग्दा लघुकथाको एउटा विधागत पहिचानसम्बन्धी मापदण्ड तयार हुन थालेको अवस्था छ र यसबारे विभिन्न विद्वानहरूले आआफ्ना अभिमतहरू पनि राख्दै आएका छन् । त्यस्ता केही परिचायत्मक किसिमका उल्लेखनीय कथनहरू यसप्रकार छन् :
