"कति पिउनु परेको होला, पिउन पनि !’’ परिवारका सदस्य रिसले आगो भए पनि रामबहादुरले रक्सी पिउन छाडेनन् ।
घरमुली उनै थिए । त्यसैले उनलाई रक्सी पिउने लतको पोखरीबाट बाहिर निकाल्न कसैले सकेनन् । नानीदेखि लागेको बानी भने झैँ उनको दैनिक जीवनमा रक्सी अभिन्न अङ्ग हुँदै आयो । कसैले अवरोध गर्न खोजे पनि उनी अनेक जुक्ति निकाल्थे र रक्सीसँग भेट गरेरै छोड्थे ।
तर उनले अब रक्सी खान सकेनन् । रक्सीले उनलाई खान थाल्यो । उनको शरीरमा अनेक किसिमका बिकारहरू देखिन थाले । उनको कलेजोले काम गर्न छोड्यो । शरीरका आँखा लगायतका अङ्गमा पहेँलोपन बढ्न थाल्यो । खानेकुरामा अरूचि बढ्दै गयो । उनी कमजोर हुँदै गए । उनको बास अस्पतालमा हुन थाल्यो ।
अब पनि पिउन नछोडे ज्यान नबाँच्ने भएकाले रक्सी छोड्ने कडा निर्देशनसहित डाक्टरले उनलाई एक महिनाको औषधि लेखे ।
उनी जहान परिवारको साथ लागेर घर आए । घरकाले अब उनको कडा निगरानी गर्न थालेका थिए । उनी सिधा आफ्नो कोठामा उक्लिए । उनको कोठा अव्यवस्थाको नमुना थियो । उनकी श्रीमती पनि उनको कोठामा छिर्न नपरोस् भन्थिन् । अरु झन् किन छिर्थेन् ?
पतिको रक्सीको लत छुट्ने आशाका साथ उनकी श्रीमती आज उनको कोठामा छिरिन् । कोठामा जताततै रक्सीका बोतलहरू लडेका थिए । श्रीमतीले देख्ने गरी उनले भुइँमा लडेका खाली बोतलहरू टिपे । मलाई बिगार्ने तैँ होइनस् भनेर रिसाउँदै रक्सीका खाली बोतलहरू झ्यालबाट बाहिर झार्न थाले । पतिको आजको क्रियाकलापले उनलाई खुसी तुल्याएको थियो ।
उनले श्रीमतीतिर हेरेर भने, “हेर त राधा ! मलाई हानि गर्ने बोतलहरूलाई मैले फालिसकेँ ।”
यतिखेरै उनकी श्रीमतीले कोठामा बाँकी रहेका बोतलहरूलाई पनि उठाएर फाल्न खोजिन् । हत्तपत्त रामबहादुरले श्रीमतीलाई रोके अनि नखोलिएका बोतलहरूलाई सुमसुम्याउँदै भने, “छोड ! छोड ! यिनीहरूलाई नचलाऊ । यिनीहरू पूरै निर्दोष छन् ।’’
– बागमती ११, कर्मैया, सर्लाही


No comments:
Post a Comment