Wednesday, November 22, 2023

लघुकथा (अङ्क ४ मा प्रकाशित)

गुरुपूर्णिमाको उपहार

-गंगा खड्का
बूढानीलकण्ठ, काठमाडौँ 


कक्षामा गुरुपूर्णिमाको अवसरमा सरला गुरुआमालाई उपहार दिनको लागि तँछाडमछाड चल्यो । केही समय रोकिएर उपहार दिने धैर्यता कसैसँग पनि भएन । सबैले उपहार दिइसकेपछि सबैभन्दा अन्तिममा सुशान्तले एउटा पत्याएको कागज र खामभित्र केही चिज हालेर दियो । गुरुआमाले कागज खोलेर खुसुक्क हेरिन् । उनी सुशान्तपट्टि हेरेर मुसुक्क हाँसिन् । उसले पनि मीठो हाँसोद्वारा गुरुआमाको हाँसोको स्वागत ग-यो । यो देखेर अरु विद्यार्थीहरू मुखामुख गरे । उनीहरूले गुरुआमालाई सबभन्दा कसको उपहार मन प-यो भनेर सोधे ।
सरलाले भनिन्, ‘‘बेलुकी मेरो स्टोरीमा हेर्नू ।’’

सबैजना बेलुकीको प्रतीक्षामा बसे । उनले सुशान्तले दिएको उपहार र चिठी दुवैको फोटो राख्दै लेखेकी रहेछिन्, ‘‘आजको गुरुपूर्णिमामा मैले पाएको सबैभन्दा बहुमूल्य उपहार !’’

यो देखेपछि पक्कै गुरुआमालाई मैले दिएको उपहार मन प-यो होला भनेर बेलुकी गुरुआमाको स्टोरी हेर्न व्यग्र प्रतीक्षा गरिरहेका विद्यार्थीहरू सुरुमा त खिन्न भए तर जब सुशान्तको चिठीमा लेखिएका कुरामा उनीहरूका आँखा अडिए तब उनीहरूको मनमा गुरुआमाप्रति कुनै गुनासो रहेन । जसमा लेखिएको थियो, ‘‘आज म जे छु, हजुरकै कारणले छु । आमाबाबु दुवै नभएको म टुहुरोलाई जिन्दगीको अर्थ बुझाउने र कक्षामा प्रथम स्थान हासिल गर्न सफल बनाउने हजुरजस्ती देवीलाई आजको दिन प्रसादस्वरुप मेरो मार्कसिटको प्रतिलिपि उपहार दिएको छु, स्वीकार्नु होला ।’’

No comments:

Post a Comment