Wednesday, November 22, 2023

लघुकथा (अङ्क ४ मा प्रकाशित)

रहस्य

- किशन पौडेल
हेटौंडा–४ 


ए हेर्दाहेर्दै सोमप्रसादले सहरमा घडेरी किन्यो दुई तले आधुनिक घर पनि बनायो । उसको भेषभूषा तड्कभडक फुर्ती देखेर म तीन छक्क परेको थिएँ । बूढीको शान, सोख त झन् बेग्लै थियो ।

केही वर्ष अगाडि हामीसँगै डेरामा बस्थ्यौं । उसको र मेरो जागिर उस्तै तलब पनि बराबर जस्तै थियो । कान्छीको भट्टीमा लोकल पिएर नै सन्तुष्टि लिएका थियौं । ऊ हेर्दाहेर्दै सम्पन्नताको शिखर उक्ल्यो । कहिले भन्सार कहिले मालपोत धेरै ठाउँ चाहार्दै बढुवा हुँदै सुब्बा नि भइसक्यो ।

म जहाँको त्यही छु । न बढुवा हुन्छ न सरुवा हुन्छ महिना बित्छ तलब आउँछ सकिन्छ । सुको बचत हुने होइन । घर–अफिस बस् जिन्दगी सकसपूर्ण चल्दै छ ।

त्यो सीमित आम्दानीले कसरी यत्रो सम्पन्नताको शिखरमा पुग्यो होला मलाई अचम्म लाग्छ र उसको त्यो सानदार जिन्दगी देखेर कहिलेकाहीँ यो मनभित्र औडाह पनि भएर आउँछ ।
एक दिन उसले मलाई गतिलो रेस्टुरेन्टमा डिनरको अफर ग-यो । विदेशी ह्विस्कीले ज्यान तताउँदै मैले आफ्नो जिज्ञासा उसको कान नजिकै लगेर राखेँ –
“होइन मित्र, यो परिवर्तनको रहस्य मलाई पनि सुटुक्क भन न मेरो नि हालत केही बलियो हुन्थ्यो कि?’’

उसले कान नजिकै आएर गर्वसाथ भन्यो–
“मेरा तीन अभिन्न मित्रहरूको सहयोगले नै यो सब उपलब्धी हासिल भएको हो मित्र ।’’

मैले उत्सुकतापूर्वक मित्रहरूको नाम सोधेँ–
ऊ भन्दै थियो, “चाकरी, चाप्लुसी र भ्रष्टाचार ।’’

No comments:

Post a Comment