यौवन
-सनोजध्वज जोशी
खुमलटार, शान्तिनगर, ललितपुर
आजभन्दा पैंतालिस वर्ष पहिले ऐनामा आफ्नो रुप हेरेर क्या आनन्द लाग्थ्यो, मानौं स्वर्गकी अप्सरा मै मात्र हुँ । स्निग्ध कोमल छाला भएको गोरो मुहार, न कतै दाग, न कुनै चोटको खोट, न त कुनै चाउरी परेको । गहुँगोरो वर्ण, पातलो रक्ताम्य ओंठ, बान्की परेको त्यो आँखीभुईँ, लामा–लामा परेली, माथिल्लो ओठमाथिको सानो कालो कोठी, लामो कुकुरे दाँत अनि निधारमा रातो टीका, कानमा झुम्का, नाकमा फुली, आँखामा गाजल, आफ्नो रुप देखेर पातलो ओठको फिस्स् मुस्कानमा म आफू, आफैसँग रोमाञ्चित भई पागल हुन्थें ।
सामान्य केटीभन्दा अलि अग्लो सिनित्त परेको शरीर, उन्नत वक्षस्थल, हस्तिहाड जस्तो पाखुरा, छिनेको कमर, मिलेको नितम्ब, आफ्नो शरीर र मुहार ऐनामा देखेर आफैलाई काउकुती लागेर सुम्सुम्याउन मन लागेर आउँथ्यो । मलाई थाहा थिएन वैंश के हो भनेर न त थाहा नै थियो जवानी के हो भनेर । मख्ख पर्थें आफैमा म अप्सरा नै हुँ भनेर ।
घर बाहिर निस्किंदा युवा त टाढैको कुरा वृद्धलेसमेत नियालेको देख्दा आफ्नो रुपमा दङ्ग प-थें । युवाहरुले जिस्क्याउँदा म मख्खै प¥थें, त्यतिञ्जेल मलाई रुपमा घमण्ड मात्र लाग्थ्यो, आफूमा वैंशले धावा बोलेको थाहा नै पाएको थिइन् । ती हेर्नेको नजरमा प्रशंसा मात्र देख्थें, कामुक नजर वा तारिफको वा प्रेमको नजर मैले छुट्याउनै सकेको थिइन् आफ्नै रुपमा मात्र मख्ख थिएँ । म चाहन्थें मलाई सबैले हेरुन् सबैले तारिफ गरुन् । मेरा साथीहरु मेरो रुप देखेर औडाहा गर्थे समयमा परिवर्तन आयो मेरो चाहनामा पनि परिवर्तन भएछ । पन्ध्र वर्ष जतिकी थिएँ हुँला मलाई लाग्न थाल्यो युवाहरु मलाई बोल्न आउन मसँग गफ गरुन् । यो परिवर्तन किन भो थाहा नै पाइन् । अठार वर्ष पुग्दा नपुग्दै विवाह भो सिनेमाको हिरोजस्तो पति पाएँ खुसीको सीमा रहेन, विवाहको महिना दिनभित्रै मेरो रुपमा झन् निखार आयो हल्का मोटी भएँ, वक्षस्थल पहिलेभन्दा केही उन्नत भए, लवाईखवाईमा परिवर्तन भए, मनले सन्तुष्टि पायो आनन्दमय दिन बित्यो । खुसी र आनन्दको ममा कमी रहेन सधैं खुसी नै खुसी र सुख नै सुख ।
No comments:
Post a Comment