आगोको लप्का
- रञ्जु मार्ग
अमेरिका
'ए बाबु ! जा जा, पल्लो घरमा मोही पारेका छन् क्यारे, मागेर लिएर आइजो ।' अगेनोमा ढिँडो ओराल्दै गरेकी ठकुर्नी आफ्नो दश वर्षीय छोरालाई अह्राउँछे ।
आँगनमा खेल्दै गरेको छोरा आमाको आदेश भुईंमा खस्न नपाउँदै फुरुङ्ग हुँदै भाँडो समातेर पल्लो घरतिर लाग्छ ।
केही बेर मै छोरा आइपुग्छ र आमाको अगाडि भाँडो फ्यात्त राखिदिँदै भन्छ – आमा ! आमा आज मोही पारेका छैनन् रे !
‘के भन्छ यो?‘ अगेनाबाट पाकेको ढिँडो निकाल्दै सोध्छे ।
‘हिजो साँझ तेरो बा’लाई भेट्दा त आज मोही पार्छौ भनेका थिए रे त !’
‘खोइ ? छैन भने । अँ साँच्ची ! हिजो बेलुका हाम्रा बा गएका थिए रे । अनि बेलुका भैंसीले दूध दिएन रे । उनीहरुले भन्दै थिए – ‘भैसीलाई चोखे लाग्यो रे ।
आमा ! आमा ! चोखे लागेको भनेको के हो ? अनि हाम्रा बा गएपछि किन चोखे लागेको?’
त्यो अबोध छोराको कौतुहलता ठकुर्निलाई अगेनामा बलिरहेको आगोको लप्का जस्तो लाग्छ ।
No comments:
Post a Comment