लघुकथाः कति लामो कति छोटो
-राजेश खनाल
लघुकथा लेखनको इतिहास पुरानो छ । २००७ सालतिरै साहित्यकार पूर्णप्रसाद ब्राह्मणले लघुकथाको सङ्ग्रह प्रकाशनमा ल्याएका थिए । त्यसपछि अरुअरु साहित्यकारहरुले पनि लघुकथा लेख्दै, प्रकाशन गर्दै गए । यद्यपि, जुन गतिमा लघुकथाको विकास र विस्तार हुनुपर्ने हो, त्यो गतिमा सायद आख्यान साहित्यको यो उपविधा दगुर्न सकेन । तर, ३० को दशकदेखि लघुकथा लेखनमा नयाँ लेखकहरु आउन थाले । भारतीय पत्रपत्रिकाहरुमा प्रकाशित लघुकथाले नेपाली भाषाको लघुकथा लेखनलाई मलजल गर्दै गयो । र पनि लघुकथा लेखन कतै ओझेलमा परेको हो कि भन्ने परिस्थितिमा थियो ।
आज, लघुकथा लेखनमा धेरै स्रष्टाहरु सक्रिय छन् । लघुकथाका माध्यमबाटै चर्चित छन् । सँगै, लघुकथा लेखनको प्रवद्र्धनमा योगदान पुर्याउँदै आएको लघुकथा समाजले यसलाई व्यापक बनाउँदै लगेको छ । आकारको हिसाबले सानो लघुकथाको विकासले व्यापक आयतन सिर्जना गरेको छ भन्न सकिन्छ ।
आकारमा सानो भए पनि लघुकथा लेखन सजिलो छैन । जसरी कविता लेख्न गाह्रो छ, त्यस्तै लघुकथा पनि गाह्रो छ— श्वेतश्याम स्वरुपमा आउन ।
कठिन हुँदाहुँदै पनि लघुकथा लेखिने क्रम चुलिँदो छ । यो विधामा धेरै स्रष्टाहरुले कलम चलाउँदै आएका छन् । तथापि, आख्यानको लघुत्तम स्वरुप लघुकथा आकारप्रकारमा मात्रै सानो देखिएको, लेखनका दृष्टिकोणबाट यो कथा, उपन्यास र लघुउपन्यासभन्दा कम नभएको लघुकथामा कलम चलाउनेहरु स्वीकार्छन् ।
लघुकथा साहित्यमा समालोचना गर्दै आएका र लघुकथा लेखनलाई निरन्तरता दिँदै आएका साहित्यकर्मीहरुले यसलाई स्वीकारेका छन्, लघु रुपको भए पनि यसमा सबै कथा तत्वको दरकार पर्छ । त्यसैले त लघुकथाका विषयमा बोल्दा यसलाई ‘संक्षिप्तमा सम्पूर्ण’ भनिँदै आइएको छ ।
जहाँसम्म शब्दसीमाको कुरो छ, संक्षिप्त लेखन कहिलेकाहीँ पाँच÷सात शब्दको पनि हुनसक्छ भने कहिलेकाहीँ तीन सय हाराहारी शब्दको पनि । (‘लघुकथाको रचना विधान’ले लघुकथाको शब्द संख्या बढीमा तीन सय शब्द मानेको छ ।)
तर, लघुकथा लेखनमा सक्रिय कतिपय लेखकहरु मानक लघुकथा दुई सय शब्दभन्दा मुनि अथवा त्यसकै हाराहारीमा रहेको बताउँछन् । उनीहरुका अनुसार लघुकथामा ‘तत्व’ प्रधान हुन्छ । शब्द संख्या थोरै तर त्यसले दिन सक्ने अर्थ र मर्म अथाह हुनुपर्ने उनीहरु बताउँछन् ।
पुराना लघुकथाकारका लघुकथा हेर्दा पनि स्तरीय लघुकथाहरु दुई सय पचास शब्दभन्दा बढीका भेटिँदैनन् । ती लघुकथा पूर्णप्रसाद ब्राह्मणका हुन् अथवा दुर्लभलाल सिंह, जगदीश नेपालीहरुका । त्यसैले लघुकथालाई बलियो बनाउन, अझै स्तरीय बनाउन लेखकले धेरै मिहिनेत गर्नुपर्छ । धेरै साधना गर्नुपर्छ ।
लघुकथाको शब्द संख्या र यसका अन्य विविध विषयमा केन्द्रित रहेर ‘लघुकथाको रचना विधान’ पुस्तकका लेखक प्रा. डा लक्ष्मणप्रसाद गौतम, लघुकथा विधामाथि पहिलोपटक सोध गर्ने शोधार्थी ईश्वरीप्रसाद पोखरेल, लघुकथाकारहरु अशेष मल्ल, इन्दिरा प्रसाईं तथा सुमन सौरभसँग हामीले केही जिज्ञासा राख्यौँ । प्रस्तुत छ, लघुकथा स्रष्टाका विचार ः
थोरै शब्दमा धेरै भन्न सक्नु नै लघुकथा सर्जकको विशेषता हो । मलाई लाग्छ, यतिले नै स्पष्ट पार्छ । जहाँसम्म लघुकथा लेखनमा शब्दसीमाको कुरा छ, यदि सर्जकले चार÷पाँच सय शब्दमा लघुकथा लेखेका छन् भने उनले त्यसलाई दुई, साढे दुई वा तीन सय शब्दसीमाभित्र ल्याउन पनि सक्नुपर्छ ।
मेरो विचारमा, कथानकका अनावश्यक शब्द फ्याँकेर, अनावश्यक वाक्यहरु हटाएर, पुनरावृत्तिहरु छिमलेर, कसरी त्यसलाई छरितो र कलात्मक बनाउन सकिन्छ, त्यसरी लेख्ने अभ्यास पनि हो लघुकथा लेखन ।
यदि, लेख्दालेख्दै चार÷पाँच सय शब्दको लघुकथा भयो भने त्यस्ता सर्जकलाई न त मानक लेखक मान्न सकिन्छ न त लघुकथालाई नै मानक लघुकथा ।
वास्तवमा, छोटोमा धेरै कुरा त्यो पनि चोटिलो रुपमा भन्नलाई लेखकमा साधना–शक्ति हुनुपर्छ । साधना गर्न सक्ने सामथ्र्यवान् स्रष्टा छ भने उसले लघुकथाका लागि तीन सय शब्द पनि खोज्दैन । उसले आफ्नो कथा डेढ सय÷दुई सय शब्दमा नै टुंग्याउन सक्छ । उसले त्यतिकै शब्दमा स्तरीय लघुकथा दिन सक्छ । लघुकथा जति छोटो भयो, सर्जकले त्यतिकै बिम्ब र प्रतीकहरु खेल्नुपर्ने हुन्छ । र, त्यस्तै सिर्जना बलियो पनि हुन्छ ।
रचना हेरेरै कुनै पनि सिद्धान्त निर्माण हुन्छ । भरतमुनीले त्यस बेलाका नाटकहरु हेरेरै नाट्य सिद्धान्त लेखेका थिए । विश्व साहित्यमा पनि त्यस्तै प्रक्रियाहरुबाट सिद्धान्त लेखिएको हो । लघुकथाका सन्दर्भमा पनि त्यही नै लागु हुन्छ । पुराना मानक लघुकथा सर्जकका लघुकथाहरु हेरेरै, तिनका लघुकथाहरुको आधारमा लघुकथाको रचना विधान लेखिएको हो ।
अर्को कुरो, तीन सय शब्द मात्र भएर पनि लघुकथा हुँदैन । त्यसमा शिल्प, कौशलका साथै कथामा चाहिने सम्पूर्ण तत्व चाहिन्छ । त्यस अतिरिक्त लघुकथा हुनका लागि त्यसमा रहस्यात्मक किसिमको समापन जरुरी छ । स्रष्टाले समापन शैलीमा विशेष ध्यान पुर्याउनुपर्छ । यसरी हेर्दा के पनि भन्न सकिन्छ भने, लघुकथा घटना वा विषयवस्तु कम र शिल्प बढी हो । र, मानक लघुकथा लेख्नेहरु शिल्पी नै हुन् ।
पछिल्लो समयका लघुकथाहरु हेर्दा गुणात्मक ग्राफचार्ट निकै तल छ । संख्यात्मकताको ग्राफचार्ट निकै माथि छ । त्यसैले लघुकथा सर्जकहरुले पनि साहित्यको अध्ययन गरेरै लेख्नुपर्छ भन्ने मलाई लाग्छ ।
ईश्वरीप्रसाद पोखरेल
शब्दसीमाको कुरा गर्दा कतिपयले पाँच÷सात शब्दका लघुकथा पनि लेखेका छन् । प्रा. डा. कपिलदेव लामिछानेले ‘बोन्साई’ लघुकथा संग्रहमा ‘बूढो’ शीर्षकको लघुकथा जम्मा पाँच शब्दमा लेख्नुभएको छ । भन्नुको तात्पर्य पाँच शब्दमा पनि लघुकथा लेखिन्छ । विदेशमा पनि धेरै लेखकहरुले स–साना लघुकथाहरु लेख्नुभएको छ । अमेरिकामा पनि एउटा ६ शब्दको लघुकथा लेखिएको छ ।
मूलतः लघुकथा सर्जकले कस्तो विषयवस्तुलाई उठाएको छ, त्यसको विषय कति प्रभावशाली छ, कथानक तन्तु कस्तो बनाएको छ, के कस्तो सारवस्तु र उद्देश्य तथा प्रयोजन कथाले बोकेको छ भन्ने कुरामा लघुकथाको आयाम निर्माण हुन्छ ।
लघुकथाको आयाम जतिसक्दो छोटो हुनुपर्छ । लामो आयामका लागि जीवन र जगतको सकल पक्षलाई समेटेर कथा र उपन्यास लेखिएकै छ नि ! जीवन–जगतको कुनै एक पक्ष, एक काल, एक खण्ड र एक घटना विशेषलाई लिएर लेखिएको लघुकथा एक÷दुई मिनेटभित्रमा पढिसक्ने हुनुपर्छ । त्यसैले पनि लघुकथा आख्यानको लघुत्तम उपविधा भनिएको हो । अझै, लघुकथा त कुराकानी गर्दागर्दै एकै छिनमा सिध्याउने खालको हुनुपर्छ भनिन्छ ।
आख्यान विधाको एउटा स्वतन्त्र उपविधाका रुपमा लघुकथा देखापरेको छ । लघुकथा अहिलेको व्यस्त समाजमा, व्यस्त समयमा बेफुर्सदिला मानिसहरुका लागि साहित्यप्रति रुचि राख्ने एउटा सशक्त माध्यम बनेर गएको छ भन्ने मलाई लाग्छ ।
लघुकथाले बेग्लै साहित्यिक आस्वादन दिन्छ । तर, त्यो स्वाद पस्कनका लागि सर्जकले धेरै मिहिनेत गर्नुपर्छ । मिहिनेत र साधना नगर्ने हो भने लघुकथा पाठकले चाहेजति खँदिलो नहुन सक्छ ।
अशेष मल्ल
लघु भन्नासाथ आकारमा सानो हुनैपर्छ भन्ने मलाई लाग्छ । अझै, लघुकथामा आकारभन्दा पनि विषय र प्रस्तुतिलाई ध्यान दिइनुपर्छ । मैले भन्दै आएको छु– लघुकथा भनेको ‘संक्षेपमा सम्पूर्ण’ हो । त्यसैले लघुकथामा शब्दहरु बढी हुनु भनेको बेइमानी हो । त्यसमाथि लघुकथामा समयको सीमालाई उल्लंघन गरियो भने लघुकथाको सौन्दर्य मर्छ । अर्थात्, लघुकथामा लामो कथाको जस्तो घटनाक्रम हुनु हुँदैन ।
कसैकसैको लघुकथा आकारमा त छोटो हुन्छ, तर समयसीमाको उल्लंघन गरिएको पाइन्छ । त्यसले लघुकथाको सौन्दर्य मर्छ ।
लघुकथा लेखनलाई कतिपयले चुट्किला भन्दै आएका छन्, तर त्यसो होइन । यो गम्भीर विधा हो । भारतीय पत्रिकामा छापिएको एउटा लघुकथा म सम्झिन्छु— दशहराको दिन रावणको पुतला जलाउने समय हुन्छ । त्यति बेलै घोषणा गरिन्छ, ‘जसले अरुको पत्नीलाई आँँखा लगाएको छैन । त्यही मानिस पुतला जलाउन अगाडि आऊ’ । हजारौँको हुल तर कोही अगाडि बढ्दैनन् । सबै मौन । तर, एकजना मानिस अगाडि बढ्छ र पुतला जलाउँछ । त्यो मानिस दृष्टिविहीन हुन्छ ।
यो लघुकथाले कति गम्भीर सन्देश दिएको छ । यसलाई चुट्किला भन्न सकिन्छ र ! किमार्थ सकिँदैन । अहिलेका लघुकथामा भने त्यो गम्भीरता भेटिन्न । तसर्थ, लघुकथा लेखक लेखनतर्फ गम्भीर हुनु जरुरी छ ।
लघुकथाकै सन्दर्भमा एउटा प्रसंग जोड्न सान्दर्भिक हुन्छ । आजको युग भनेको सूचना–प्रविधिको युग हो । अहिले डिजिटल युगको चरम विकास भएको समय हो । विज्ञानले मानिसको हातहातमा मोबाइल दिएको छ । अहिले लाइब्रेरी गएर किताब पढ्ने, किताब पसलमा गएर किताब किन्ने र पढ्नेहरुको संख्या एकदम कम भइसक्यो ।
डिजिटल युगले जुन यो सुविधा हामीलाई दिएको छ, त्यो सुविधाको उपयोग हामी लेखकले किन नगर्ने ? त्यसमाथि लघुकथा लेख्ने हाम्रा लागि सौभाग्य भएको छ मोबाइल । हामीले लेखेको लघुकथालाई मोबाइलका माध्यमबाट जनजनसम्म पुर्याउने ठूलो अवसर आएको छ ।
त्यसमाथि स्कुलका बालबालिकाहरुमाझ हामीले लेखेको लघुकथा पुर्याउन सक्यौँ भने भोलिको दिनमा त्यसले नेपाली साहित्यलाई राम्रा पाठकहरु दिने निश्चित छ । यो अवसरलाई हामीले गुमाउनु हुन्न ।
इन्दिरा प्रसाईं
लघुकथा लेखन धेरै अगाडिदेखि गरियो । यस्तै २०३३÷०३४ सालतिरबाट । त्यसबखत हामीले लघुकथाको शब्दसीमातर्फ ध्यान दिएनौँ । भारतीय साहित्यिक म्यागेजिनहरुमा लघुकथाहरु छापिएको देखेपछि हामीले पनि लघुकथा लेख्न सुरु गरेका हौँ ।
हामीले दुई सय शब्द पनि लेखेनौँ । अझै, त्योभन्दा कम शब्दमै लघुकथा लेख्यौँ कि ! लघुकथा जतिसक्दो सानो लेखिनुपर्छ भन्ने दृष्टिकोणका साथ नै लेखियो ।
मलाई लाग्छ, लघुकथा पनि चटनीजस्तै हुनुपर्छ । जिब्रोमा लाग्नासाथ तालु र पैताला दुवै एकैपटक छुने । अर्थात्, लघुकथा आफैँमा सम्पूर्ण हुनुपर्छ ।
मैले एउटा लघुकथा लेखेकी थिएँ, ‘आस्था’ शीर्षकमा–
‘उसले धूप बाली । दियो सल्काई । र, आफ्नो बिरामी छोराको शीघ्र स्वास्थ्यलाभको कामना गरी ।
उसले धूप बाली । दियो सल्काई । र, आफ्नो मृत छोराको आत्माको चिर शान्तिको कामना गरी ।’
आज पनि ‘आस्था’ शीर्षकको यो लघुकथा मेरा लागि प्रिय छ । किनभने, यो लघुकथा आफैँमा सम्पूर्ण छ । मलाई लाग्छ, सिंगो जीवन छ यो लघुकथामा । धेरै लामो नहुँदा पनि लघुकथा शक्तिशाली हुन्छ । सम्पूर्ण हुन्छ ।
लघुकथामा सन्देशपूर्ण दर्शन हुनुपर्छ । गम्भीर भएर लेख्ने हो भने लघुकथाबाट धेरै कुरा अभिव्यक्त गर्न सकिन्छ । अंग्रेजीमा यसलाई ‘कफी ब्रेक स्टोरी’ पनि भनिन्छ । कफी पिउँदाको ब्रेकमा पढेर आनन्द लिन सक्ने लेखन लघुकथामा हुनुपर्छ ।
लघुकथा पढिसकेपछि पाठकको दिमागमा हतौडा पनि चल्नुपर्छ । पाठकलाई त्यो कथाले हिर्काइरहनुपर्छ । पाठकलाई लघुकथाले सोच्न बाध्य तुल्याउनुपर्छ । हुन त पाठकको ग्रहण गर्ने क्षमतामा पनि भर पर्ने कुरा हो यो ।
अहिले पनि लघुकथा लेख्दै आएकी छु मैले । अहिले पनि कतिपय विषयहरुले मलाई छुन्छ र कथा, लघुकथा लेख्छु । परार साल लघुकथा समाजले पुरस्कृत गर्दा मैले भनेकी पनि थिएँ– मैले यो सन्तानलाई छुट्ट्याएर राखिदिएकी थिएँ । यसलाई त्यति माया पनि गरेकी थिइन । तर, आज त्यसैले पो मलाई पाल्दै छ । किनभने, मैले लेखेको लघुकथाले नै मलाई पुरस्कार दिलायो ।
सुमन सौरभ
लघुकथा हो भनेपछि त्यसलाई ‘मैले सीमापारि पुर्याउनु हुँदैन’ भन्ने हरेक लघुकथा लेखकले सोच्नुपर्छ र त्यहीअनुरुप सीमाभित्रै रहेर लेख्नुपर्छ । नचाहिने कुरालाई काट्दै छाँटदै गएपछि लघुकथाको तोकिएको आकारमा त्यसलाई ल्याउन नसकिने होइन । जत्ति पनि सकिन्छ ।
कथाको अर्थ लाग्छ कि लाग्दैन भन्ने एकपटक पढ्दा नै थाहा हुन्छ । र, फेरि आफैँले सम्पादन गरेर त्यसलाई मिलाउने हो भने चार सय शब्दको लघुकथालाई साढे दुई सयमा झार्न नसकिने होइन । लघुकथा लेखकको शिल्प भनेकै त्यही हो ।
लघुकथा आख्यानको अर्को उपविधा हो । त्यसैले यसमा आख्यानमा हुने सबै तत्व हुनुपर्छ । तर, कुरो यत्ति मात्रै हो कि त्यो छोटो हुनुपर्छ । लघुकथाका लागि तोकिएको शब्दसीमा नाघ्नु हुँदैन ।
लेखकलाई के–के लेख्न मन लाग्छ लाग्छ, लेख्दै जाँदा त्यो लामो पनि हुन जान्छ । विषयवस्तु जब उम्लेर आउँछ, त्यसपछि लेखेकले लेखेको लेखेकै गर्छ । तर, छोटोमा मिलाउने कला लेखकमा हुनुपर्छ ।
लघुकथा छोटो आख्यान हो । बस् त्यही बुझेर लेख्ने हो भने लघुकथा राम्रो जन्मिन्छ । मेरो विचारमा त लघुकथा लेखक कुशल सम्पादक पनि हुनुपर्छ । उसले आफैँले लेखेको चार÷पाँच सय शब्दको लघुकथालाई दुई सय पचास शब्दमा ल्याउने गरी सम्पादन गर्नुपर्छ ।
No comments:
Post a Comment