*****************
लेखक परिचय
नेपाली विषयमा स्नातकोत्तर तथा अभिलेखकालीन नेपाली भाषा विषयमा विद्यावारिधि गर्नु भएका डा. चालिसेको २०४५ सालमा मिर्मिरे पत्रिकामा "रवि" शीर्षकको लघुकथा पहिलो पटक प्रकाशित भएको थियो । उहाँका लघुकथासँग सम्बन्धित कृतिहरुः रातो चामल (२०७६), जलान (२०७७), लघुकथालय (२०७९), लघुकथाकल्प (२०८०), अनुवाद लघुकथा ः Pseudo (2022), Holocaust (2022),
Kuthungri (2022), Conflict (2022) आदि कृति प्रकाशित छन् भने अन्य विधागत कृतिहरु ः कवितासङ्ग्रह – ८ वटा, भाषा व्याकरण– ४ वटा, समालोचना– १ वटा प्रकाशित भइसकेका छन् । साहित्यिक योगदान बापत विभिन्न प्रतिष्ठित पुरस्कार र सम्मानहरु पाउनु भएको छ । प्रस्तुत छ उहाँसँग लघुकथामा केन्द्रित रहेर गोमविक्रम ज्यूले गर्नु भएको कुराकानी यसप्रकार छः
*****************
गोमविक्रम ः उत्कृष्ट लघुकथा हुन के कस्ता गुणहरु हुनुपर्ला ?
डा. विदुर चालिसे ः लघुकथा विशिष्ट ज्ञानको झिल्का रुपी अग्नि फिलिङ्गो हो, जसको उत्पत्तिले सर्जकको मस्तिष्क मार्फत पाठकको मस्तिष्कलाई मनोवैज्ञानिक ज्ञानको थेरापीमा पु¥याएर प्रक्षेप गर्छ । यो एक खालको सर्जकको अनुभव जन्य अभिव्यक्ति र पाठकका लागि उत्खनन् भएको ऊर्जावकत्वको प्रभावमा व्यङ्ग्य धारण गरेर पुष्टि हुन पुग्छ । उत्कृष्ट लघुकथा हुनका लागि गहन विषयवस्तुको खिरिलो चाप, आयाम संयोजन, लघुकथा तत्वको प्रयोग, निर्धारित सिद्धान्तहरुको उपयोग, अणु सामथ्र्यको प्रयोग र सर्जकमा अनुभव र ज्ञानका साथ प्रयुक्त हुनसक्ने विशिष्ट लघुकथा लेखन प्रस्तुतिको कलागत शैली हुनु आवश्यक छ । गुणको निर्माण प्रतिभाको प्रातिभ शक्ति र अभ्यास आदर्शबाट निर्माण हुन्छन् । त्यसैले सर्जकको ध्यानमा अग्र दस्तावेजको अध्ययन गर्न आवश्यक र महत्वपूर्ण हुन्छ ।
गोमविक्रम ः अहिले लेखिएका लघुकथाहरुको कमजोर पक्ष के लाग्छ ? अथवा लघुकथाका चुनौतीहरु के देख्नुहुन्छ?
विदुर चालिसे ः सिर्जनापछि समीक्षाको मार्ग देखिने हुनाले प्रायः सिर्जनाहरु सर्जकले साहित्यिक विधागत खास बान्कीका ढाँचामा सालाखाला स्वरुपमा प्रस्तुत गर्दछ । कहिलेकाहीँ सर्जक र समीक्षकको बीचमा यस्तै संवादहरु पनि चल्छन् । त्यसैले न्यूनतम सर्जकीय अनुमानित ढाँचामा प्रस्तुत भएको प्रखर अणु सामर्थका घटना, पात्र, परिवेश र प्रखर भाषा शैलीय विन्यास भएका लघुकथाहरु प्रभावकारी देखिन्छन् । बजारमा चलेका लघुकथाहरुको वर्तमान समयको कथ शक्तिको आधारलाई नियाल्दा भने सर्जकहरुले अझै पनि गहन चिन्तन, मनन र लेखनका लागि विशिष्टीकरण गर्नु आवश्यक छ । लघुकथाको गुणात्मक पक्ष सर्जकको मस्तिष्कबाट निस्कने कथन संसक्तिको आभा र शैलीय प्रभावबाट निर्धारण हुने हुँदा सानो लेख्दैमा, छोट्याउँदैमा वा बृहत्तर संरचनाबाट शब्द घटाउँदैमा लघुकथा हुँदैनन् । बजारमा देखिएका कतिपय लघुकथाले यी सिमाहरु पार गरेमा अझै उन्नत हुन सक्छन् । लघुकथाका क्षेत्रमा कृति विशेष, रचना विशेष र व्यक्तित्व विशेष समीक्षा समालोचनाहरु खासै भएका छैनन् । अबको ध्यान यतातिर पनि जानुपर्छ । लघुकथाको विषय, शैली, संरचना, सैद्धान्तिक पक्ष आदिका आधारमा यस विधाको समालोचना अगाडि बढाउनु आवश्यक छ । यसो गर्नसके लघुकथामा देखिएका कतिपय भ्रम र दिशाहीनता एवं अन्यौलहरु स्तरिकरण भएर कमी कमजारीहरु सच्चिन पुग्छन् । लघुकथाका क्षेत्रमा देखिएका कतिपय चुनौतीहरुले आफै बाटो तय गरेर गुणात्मक बन्छन् ।
गोमविक्रम ः नेपाली लघुकथाको अवस्था कस्तो छ विश्व साहित्यको बजारसम्म पु¥याउनका लागि के गर्नु पर्ला ?
डा. विदुर चालिसे ः सरलता, सर्जक र पाठकका लागि समयको मितव्ययिता, सूक्ष्म ज्ञानको चोटिलो प्रभावको उत्पत्ति एवं मनोऊर्जाको मजा उन्नत लघुकथाका आकांक्षाहरु हुन् । त्यसैले लघुकथाहरु संख्यात्मक रुपले जति निस्किएका छन् त्यति नै विशिष्ट र मानक रचनाहरु भएमा विश्व बजारमा नेपाली लघुकथाले विस्तारै पहुँच दिन सक्थ्यो । अहिले विस्तारै सामाजिक सञ्जालबाट व्यक्ति विशेषसम्म पहुँच, विभिन्न भाषाका अनुवादमा पहुँच र प्रकाशनको पहुँचमा तीव्रता आएको छ । यस प्रकारका अवस्थाले नेपाली लघुकथालाई विश्व बजारमा अवश्य नै पु¥याएको छ । भविष्यमा यसैले महनीयता कायम गर्नेछ ।
गोमविक्रम ः स्मरणीय लघुकथाः आफ्नो अरुको सङ्ग्रहको नाम अनि कारण ?
डा. विदुर चालिसे ः आफ्नो त आफ्नो छँदैछ । आफ्नो लघुकथाहरु विशेषमा ‘‘लघुकथालय’’लाई रोज्छु । यसको मूल्यवता नवीन लघुकथा लेखकका लागि नयाँ ढाँचामा प्रस्तुत छ । शैलीवैज्ञानिक लघुकथागत शैलीय संरचनामा रचना गरिएका नमूना (मोडल) लघुकथाहरु यसमा छन् । नवीन लघुकथाकारले यसलाई आभ्यासिक लेखन आदर्शका लागि प्रयोग गर्न सक्छन् । यस्तै ‘‘लघुकथाकल्प’’ प्रौढ र प्राज्ञिक लघुकथा लेखक एवं समीक्षकका लागि निकै उपयोगी छ । यसमा लघुकथनका मसिना संरचनाका साथै सिद्धान्त, विश्वका लघुकथाका क्षेत्रमा देखिएका लघुकथा बान्कीका इतिहास र उदाहरणहरु यसमा प्रस्तुत गरिएको छ । लघुकथाको सैद्धान्तिक पुस्तकमा डा. लक्ष्मणप्रसाद गौतमको ‘‘लघुकथा रचना विधान’’ र लक्ष्मण अर्यालको ‘‘लघुकथा विमर्शन’’ मनन योग्य छन् । लघुकथाको सिर्जनात्मक पुस्तकमा पूर्णप्रसाद ब्राह्मणको “झिल्का“ र खलील जिब्रानका “लघुकथाहरु“ समदूरीका बौद्धिक, स्तरीय र प्रभावोत्पादक लाग्छन् । समकालीन लेखकहरुका कृतिहरु कुनै न कुनै कोणबाट तिनैका निरन्तरताका रुपमा मात्रै रहेका छन् ।
| डा. विदुर चालिसेका कृतिहरु |
गोमविक्रम ः लघुकथामा कसरी आकर्षित हुनु भो ? अरुलाई आकर्षित गर्न के गर्न सकिएला ?
डा. विदुर चालिसे ः व्यस्त जीवनको भोगाइ एवं साहित्यिक विधागत अनुभूतिका कारणले होला । अरुलाई आकर्षण गर्न आफूले लेखेका कृतिहरुले अरुलाई कति, कसरी र कस्तो प्रभाव पारेको छ भन्ने आधारमा यसको मापन गर्न सकिन्छ । सायद लघुकथाका लेखक, पाठक, समिक्षकहरु मेरा विचारहरुबाट आकर्षित नै हुनुहुन्छ भन्ने लाग्छ ।
गोमविक्रम ः लघुकथामा दिवंगत तर सम्झिनु पर्ने नाम ?
डा. विदुर चालिसे ः दिवंगत लघुकथाकारहरु धेरै छन् । त्यसमध्ये लघुकथाका दिवंगत लेखकहरुमा पूर्णप्रसाद ब्राह्मण र विनय कसजूलाई विशेष सम्झना गर्छु
गोमविक्रम ः लघुकथाको उन्नयनका निमित्त पत्र–पत्रिका, सामाजिक सञ्जाल तथा अन्य मिडिया वा माध्यमको भूमिका कस्तो अपेक्षा राख्नुहुन्छ ?
डा. विदुर चालिसे ः लघुकथाको उन्नयनका निमित्त अवश्य पनि पत्रपत्रिका, सामाजिक सञ्जाल तथा अन्य प्रकारका माध्यमको भूमिका अत्यन्त गहन छ । लेखकले लेखेर पठाएका लघुकथाहरुलाई भाषिक सम्पादन, ढाँचा सम्पादन, गहनतम शब्दहरुको स्थापन जस्ता विषयहरुलाई लघुकथा सम्पादन गर्ने सम्पादक मण्डलले ध्यान पु¥याउनुपर्छ । लघुकथा भयो कि भएन भन्ने ज्ञान सम्पादक वा सम्पादन मण्डललाई पनि प्रखर रुपमा ज्ञान हुनु जरुरी छ । यसरी सम्पादन गरे लघुकथाको प्रभावकारितामा ओजिलो स्तरकायम हुन सक्छ ।



No comments:
Post a Comment