यो सरल प्रश्न हो, म किन लेख्छु ?
यसको जवाफ पनि सरल नै छ, म नलेखि रहन सक्दिन त्यसैले लेख्छु ।
खासमा यसको उत्तर यति सिवाय अरु छैन, सारमा ।
तर यो अलि ठाडो जवाफ भयो कि ? अलि साहित्यिक भएन कि ? जवाफ दिने अलि भाँती मिलेन कि ?
लेख्ने भन्ने वित्तिकै जीवनमा कहिले लेखें भन्ने कुरा बीज रुपमा आउँछ ।
मेरो सम्झनामा टड्कारो छ, मैले आठ कक्षामा पढ्दा हेटौंडाको भूटनदेवी हाईस्कूलमा शुक्रबारे कविता प्रतियोगितामा मैले यौटा कविता लेखेर प्रतियोगितामा प्रस्तुत गरेको थिएँ । त्यो कविताको शीर्षक थियो “बिहानी” । त्यो कविताको कुनै अवशेष रहेन, तर त्यो कवितामा लेखेको भावना चाहिँ सम्झन्छु । “अब उठ बिहानी भयो । मन्दिरमा घण्ट बज्यो” इत्यादि लेखेको थिएँ ।
त्यो कविता पुरस्कृत भएन । त्यसपछि मैले स्कूले जीवनमा कहिल्यै थप कविता लेखिँन । एकैचोटी एसएलसी पास भएपछि यौटा गीत लेखें । त्यो गीतको चाहिँ दुई हरफ याद छ, बाँकी याद छैन । मूल कपी काठमाडौँमा डेरा सर्दा कता बेपत्ता भो, पत्तो नै भएन ।
यी लेखन लहडका थिए । पछि म काठमाडौंमा अध्ययनका लागि गएपछि गीत, कविता, कथा लेख्न लागें । ती पनि आफूले पढेका, सुनेका रचनाका प्रभावले जन्मिएका हुन् भन्ठान्छु म । मलाई साहित्यको अर्थ नै थाहा नभएको बेला थियो त्यो ।
प्रकाशन यात्रा सुरु भएपछि छापिनका लागि र छापामा नाम देखिनका लागि लेखेँ । रहर लागेर लेखेँ । नामको लागि लेखेँ ।
लेख्दै जाँदा अध्ययनले मलाई खार्दै लग्यो कि ? म खारिँदै गएँ कि ? साहित्य भनेको गम्भिर कुरा हो भन्ने ज्ञान भयो । अध्ययनलाई निरन्तरता दिएँ । त्यो आजसम्म कायम छ । मलाई अहिले मेरो अध्ययन र अनुभवले लेखाउँछ । मेरो अनुभव र अनुभूतिले लेखाउँछ । म जिम्मेवार लेखक हुँ भन्ने भावनाले लेखाउँछ ।
अब त मैले जीवनमा जानेको र जीवनभर गरिरहने काम भनेकै लेख्नु हो । मेरो जीवनको दैनिकी नै लेखन हो । सास फेरे जस्तै हो । दैनिक भोजन गरे जस्तै हो । नियमितता हो ।
साँच्चै भन्ने हो भने मलाई लाग्छ, म लेख्नकै लागि जन्मेको हुँ, त्यसैले लेख्छु ।
-फल्स चर्च, भर्जिनिया, अमेरिका ।

No comments:
Post a Comment