Monday, November 20, 2023

लघुकथा (अङ्क ३ मा प्रकाशित)

भोको पेट
(विश्व बालश्रम विरुद्ध दिवस सन्दर्भमा)

-मनोहर पोखरेल
राजविराज–६ सप्तरी 



एकाबिहानै बजारमा नारा लागेको थियो ‘बाल अधिकारको सम्मान गरौ ।’ अरुहरुले नारा दोहो¥याइरहेका थिए । ‘बालश्रम रोकौं, ‘बालबालिकालाई श्रममा लगाउन पाइँदैन ।’ चेतनामुलक सन्देश लेखिएको प्ले कार्डहरु प्रदर्शन भइरहेको थियो । हामी भिडलाई पछ्याइरहेका थियौं ।

विश्व बालश्रम विरुद्धको दिवस थियो । जुलुसमा सिडिओ, जनप्रतिनिधी, नागरिक समाज, अधिकारकर्मी, पत्रकारलगायतको सहभागिता थियो । टोलीले बालश्रमको अवस्था अनुगमन गर्दै थियो । बालबालिकाहरुलाई श्रमिकका रुपमा प्रयोग नगर्न चेतावनी दिंदै हिँडिरहेको थियो ।

टोली चोकको एक होटलमा पस्यो । ग्राहकहरु रमाउँदै खाजा खाइरहेका थिए । ‘ओ भाई तिम्रो उमेर कति भयो ?’ टोलीका एक जनाले सोधे । प्लेट धुँदै गरेका बालकले जवाफ फर्काए, ‘१६ वर्ष ।’ रेडिमेड पसलमा कपडा देखाइरहेका अर्को बालकलाई सोधियो । कपडा पट्याउँदै उसले पनि रेडिमेड जवाफ नै दियो ।
पालैपालो टोलीले इँटाभट्टा, ग्यारेज, चिया पसल, फलाम पिट्ने, फुटपाथे र ठेला पसलमा काम गरिरहेका पढ्ने उमेरका बालकलाई सोध्दै गयो । कसैले १६ कसैले १८ भनिररहेका थिए ।

अपत्यारिलो काम गर्ने बालकहरुको उमेर पत्यारलाग्दो थिएन् । अपरिपक्व उमेरमा कुरा चाहिँ परिपक्व झैं गरिरहेका थिए । कानुनले बालश्रम निषेध गरेकोले उनीहरुले उमेर ढाँटेको सहजै अनुमान गर्न सकिन्थ्यो । टोलीले एकै पसलमा काम गरिरहेका चारजना बालकलाई केरकार गर्न थाल्यो । “यसका मालिकलाई कैद र सजाय गर्नुपर्छ” भन्दै तर्सायो ।

“बालश्रम रोक्नु अघि गाँसवासको व्यवस्था गरिदिनु प¥यो । मैले त काम दिएर पेट भर्नुका साथै कुलतमा लाग्नबाट जोगाएको छु ।’’ मालिकको जवाफपछि हालसम्म अनुगमन कार्य बन्द छ ।

No comments:

Post a Comment