Monday, November 20, 2023

लघुकथा (अङ्क ३ मा प्रकाशित)

नेपाली

-दुर्लभलाल सिंह
 (वि.स. १९९२ – वि.स. २०५४) 


भूगोल पार्कमा एक जना भाषण दिइरहेछ– नेपाली सबै बहादुर छन् । परिश्रमी छन् र इमानदार छन् । श्रोताहरु हर्षित भए । ताली बज्यो ।

भाषण दिने व्यक्ति जोशमा आयो– यो देशमा के छैन ? यहाँ विश्वप्रख्यात हिमालय छ । जति हिमालय स्वच्छ, पवित्र विशाल छ त्यति नै नेपालीहरु स्वच्छ, पवित्र र विशाल छन् ।

फेरि एक पटक त्यहाँ ध्वनि भयो– तालीको । एक जना मान्छे हूलबाट फुत्त उफ्रेर चिच्याउँछ– नेपाली सबै अल्छी छन् । एउटा सियो बनाउन नजान्ने नेपाली कसरी परिश्रमी र मेहनती हुन्छन् । यहाँ त कामसाम नगरीकन लाज सरम पचाएर भाषण मात्र दिनेहरु बहादुर, इमानदार, बुद्धिमान हुन्छन् ।

त्यसको कुरा सुनेर त्यहाँ भेला भएको सबैको पाइतलादेखि रीस उठ्यो । तिनीहरुले एक्कासि त्यसलाई छोपे । त्यसरी थिचिएको त्यो मान्छे तैपनि कराउँदैछ– नेपाली साँच्चै बहादुर छ... बहादुर । पछि त्यसको स्वर त्यहीं दबेर गयो ।

साभारः झूलभित्रको मान्छे लघुकथासङ्ग्रहबाट

No comments:

Post a Comment