Sunday, November 19, 2023

लघुकथा (अङ्क १ मा प्रकाशित)

बाँडफाँड

-अदीप्त प्रकाश
काठमाडौं, हालः लन्डन

शन्तलाल र मखमली नाम नै काफी छ तिनको आनीबानी बताउन । कहिल्यै दोहोरो सवालजवाफ भएन, शन्तलालबाट झन् उसकी श्रीमती मखमलजस्तै कोमल । कसैको चर्को आवाजमा नै आँखाबाट
बलिन्द्रधारा आँसु बहिसकेको हुन्थ्यो ।

पुर्खाले छोडेको घरखेत जेनतेन गर्जो टर्नेसम्म थियो । अझै कति जायजेथा त छिमेकीलाई कमाउन दिएका पछि निखन्न सकेनन् र यसै छोडिदिएका
भन्ने सुनिन्छ ।

सन्तानहरु तीन जना वर्षौटे छोराहरु जन्मिए । जेठो अलि चलाख थियो लेखपढ गरेर घरव्यवहार सानैदेखि चलाउन सक्ने खालको । माहिलो पनि दिमाग र शरीर दुबैमा ठिकठाक गाउँघरमा हैकम गर्ने खालकै थियो भने कान्छो दिमाग अलि कम भएको तर सबैभन्दा बलियो थियो । भारी खेप्ने ओर्ने काम सबै उसकै जिम्मामा हुन्थ्यो अनि ऊ पनि खुसी खुसी गर्न तम्तयार रहन्थ्यो । तीन भाइमा मिल्ती पनि भएकोले घर खुसी खुसी चल्दै गयो । बिहाबारी पछि छोराहरु छिन्न भिन्न भए, आरोप प्रत्यारोप भए, कति पटक त घम्साघम्सीसमेत भए । दाजु र भाइको नाता बिर्सिएर एक अर्कालाई दुश्मन देख्न थाले । आफ्ना छोराहरुको यस्तो चालाले शन्त र मखमली चिन्तित हुँदै गए । उनीहरुका सारा उपाय असफल भएर आखिर अंशबन्डा हुने निधोमै पुग्यो ।

जेठोले सिम्ले खेत हात पा¥यो । माहिलाले पनि टारी खेत पायो । कान्छाको भागमा घरबारी र फलफूल बगैंचासमेत हात प¥यो । तर गाउँलेहरुले उसलाई उक्साउन थाले । उक्साहटमा कान्छाचाहिँ दाजुहरुको उछितो काढ्न थाल्यो । कुखुरा बास्नेदेखि झ्याउँकिरी कराउन्जेलसम्म दाजुहरु र बाबुआमालाई सत्तोसराप गर्ने गथ्र्यो ।

छोराहरुले पालिहाल्छन् नि भनेर जिउनीसमेत नराखी बाँडेका बूढाबूढी तीनै जनाबाट मिल्किए । आज हो कि भोलि भएका उनीहरु आसमा बसेर दिन काट्न थाले । अब घरको भाग लगाउने पालो आयो– जेठोले माथिल्लो तल्ला पायो । कान्छोले बीचको भन्डारकोठा र बरन्डासहितको बीचको तल्ला पायो भने माहिलाले पनि छिँडीकै तल्लामा चित्त बुझायो तर कान्छालाई यो बाँडफाँड पनि चित्त बुझेन र अन्याय भएको भनेर घरमा भाँडभैलो मच्चाउन छोडेन ।

अब त ती बूढाबूढीले बस्ने कोठासमेत पाएनन् । सबै छोराबाट तिरस्कृत हुँदै उनीहरु बुढेसकालमा बासको खोजीमा घरबाट खाली हात निस्कन बाध्य भए ।

छिमेकीको रेडियोमा सुनियो – देश सात प्रदेशमा विभाजित भएको छ र अझै राज्यहरु बढ्ने सम्भावना छ । असन्तुष्ट पक्षलाई फकाउन सरकार लागि परिरहेको छ । उनीहरुले झल्झली आफ्नो घरमा घटित घटनाक्रम सम्झिँदै आँसु झारे ।

No comments:

Post a Comment