Wednesday, November 22, 2023

लघुकथा (अङ्क ४ मा प्रकाशित)

तपाईं कहाँ हुनुहुन्छ?

-विनयकुमार कसजू  



तपाईंलाई अचम्म लाग्ने छ किनभने आँखाले देखेको कुरामा भर पर्नैपर्छ । तपाईंको वरिपरि चारैतिर ठूलोठूलो साइनबोर्डहरू छन् । राम्रा, विशाल, भव्य सङ्केतपाटीहरू भित्ताहरूमा ठड्याइएका छन् जसमा लेखिएको छः चिनी कारखाना, चुरोट कारखाना, कपडा उद्योग, कागज मिल, मैदा मिल, घ्यू प्रशोधन केन्द्र, राजमार्ग निर्माण, विकास बैंक, सिमेन्ट कारखाना, बाँध नहर निर्माण, इत्यादि । यस्ता अनेक सङ्केत पाटीहरू देखिन्छन्, जसले उन्नति, प्रगति र विकासका सुनौला सपनाको वर्णन गरिरहेका छन् ।

तपाईं छक्क पर्नुहुन्छ । आहा ! कस्तो ठाउँमा आएछु ! कस्तो उन्नति भएछ यहाँ ! कस्तो भाग्यमानी रहेछन् यहाँका मान्छे !

तपाईं ’कहाँ आएँ’ भनेर जान्न छट्पटिनु भयो होला । तर मलाई लाग्छ, म कहाँ भन्ने कुरा यति बेलासम्म तपाईंले थाहा पाउनु भयो होला । यदि थाहा पाउनु भएको छैन भने सुटुक्क भन्छु, सुन्नुस, "तपाईं साइनबोर्ड पेन्टरको पसल अगाडि उभिनु भएको छ ।"

‘साभारः पशुतन्त्र’ लघुकथासङ्ग्रहबाट

No comments:

Post a Comment