न्याय
-वसन्त अनुभव
घोराही – १४, दाङ
"हार्दिक स्वागत एवम् बधाई छ, यहाँलाई ! अन्ततः न्यायको जित भएको छ ।" जेलमुक्त भइ भर्खर आएका दुखीप्रसादलाई एक पत्रकारले सोधे । अदालतले उसलाई निर्दोष साबित गर्दै फैसला दिएपछि ऊ आजै रिहा भएको थियो ।
तर दुखीप्रसादले कुनै प्रतिक्रिया दिएन । उसको अनुहारमा पनि कुनै खुसीका धर्साहरू देखा परेनन् ।
"तपाईं खुसी देखिनुहुन्न नि ? के तपाईं अदालतको यस फैसलाबाट सन्तुष्ट हुनुहुन्न ? तपाईं निर्दोष साबित हुनुभएको छ । टन्न क्षतिपूर्ति पाउनुभएको छ, खुसी हुनुस् ।" अर्को पत्रकारले भन्यो ।
"सन्तुष्ट ? निर्दोष ? क्षतिपूर्ति ? हा हा हा !" दुःखीप्रसाद एक्कासि जोड जोडले हाँस्यो । उसको अस्वाभाविक व्यवहार देखेर मान्छेहरू डराए । पागलको संज्ञा दिए ।
हाँस्दाहाँस्दै ऊ भावुक बन्यो । अनि गहभरि आँसु लिदै अगाडि भन्यो– "तपाईं नै भन्नोस् पत्रकार नानी ! म खुसी हुनु कि दुःखी ? म निर्दोष हुँदाहुँदै ५०/५५ वर्ष जेल बसेँ । मेरो उर्वर जिन्दगी कालकोठरीमै सकियो । घर रहेन, परिवार रहेन । अहिले न्याय पाएर के गर्नु ? यो न्यायले, यो क्षतिपूर्तिले मेरो घाउ भरिन्छ र?"

No comments:
Post a Comment