Thursday, November 23, 2023

लघुकथा (अङ्क २ मा प्रकाशित)

खरानी 

-नवराज रिजाल
बारा 


घरमा पाँच कोठा थिए । बुढाले जीवनकालको अन्त्यतिर चार छोरालाई एकएक र बुढाबूढीलाई एक गरी दामासाहीले भाग लगाए । यो छोराहरुको धेरै अघिदेखिको माग थियो । पहिला बुढा मानिरहेका थिएनन् ।

‘केटाकेटी नै छन्’–उनी सोच्थे । अन्त्यमा बडो मुस्किलले सहमतिमा आए । बुढाको मृत्युपछि बूढी एक्लै बसिन् । छोराहरुको सोचको उल्टो भयो । आमालाई आफ्नो पक्षमा ल्याउन सबैले निक्कै प्रयत्न गरे ।

‘तपाईं एक्लै बस्न पाउनुहुन्न’ –जेठोले भन्यो । ’हो त चार–चार भाइ छोराहरु छन्, तपाईं चाहिँ ....’ –माइलोको राय रह्यो । ‘ठीकै त हो यो कुरा, आफूलाई मन लागेकोतिर बस्नोस्’–साइँला र कान्छाले थपे ।
बूढी अडानबाट एक इन्च पनि तल झरिनन् ।

छोराहरुलाई एक एक कोठामा जीवन धान्न अप्ठेरो भइरहेको थियो । एक दिन यसै विषयमा दाइभाइको बीचमा मुक्कामुक्कीसमेत चल्यो । कान्छो सबैभन्दा बलियो थियो । तीनै जना दाजुहरुलाई मज्जाले मुक्क्यायो ।

‘आमा जता बसे पनि कोठामा मेरो अधिकार हुनुपर्छ’ –जेठाले भन्यो । ’अहँ, हुँदैन मेरो हुनुपर्छ । आमाले मसँग बस्ने इच्छा राख्नुभएको छ’ –माइलाले भन्यो । ‘ओ हो, पाउलाउ... हाम्रो त नामै लिन जाँदैनौ हैन ?’ –साइँलो र कान्छो जङ्गिए ।

तर कसैको कुरा कसैलाई चित्त बुझिरहेको थिएन । चारै भाइमा चढेको क्रोधको मात्रा उच्च थियो ।
‘आगो लगाइदिन्छु’ –माइलो गर्जियो । 'अँ म चाहिँ चुपो लागेर बसुँला नि’ –साइँलोले थप्यो । 'म पनि छाड्दिनू’ –कान्छो एक पाइलो अझ अगाडि देखियो । ’यी हेर त मेरो हातमा के छ’ –जेठो भाइहरुतिर फर्कियो । सबैका हातमा मट्टितेल र सलाई थियो ।घर दन्किन थाल्यो । ‘भित्र कोही छ क्यारे’ –जेठाले भन्यो । ‘हैन जम्मै बाहिर छन्’ –कान्छाले सुनायो । ‘ए, पख, पख... माइलो चिच्यायो’ –सबैका आँखा ऊतिर आकर्षित भए ।
'आमा रोएजस्तो छ’ –उसले साउतीको स्वरमा भन्यो । जेठा र कान्छाले मुखामुख गरे ।
‘आमा घर भित्रै हुरहुर्ती बलिरहेकी रहिछिन् । थुक्क.. कस्तो गल्ती भएछ’ –जेठाले भन्यो । ‘हो त, च्व, च्व’ –कान्छाको प्रतिक्रिया थियो ।

‘बिना कामको विवादले आमाले ज्यान गुमाउनु प-यो’ –खुइय गर्दै बोले माइला र साइँला ।

घरको आधा भाग जलिसकेको थियो । आमा आफूलाई बचाउन छोराहरुलाई आग्रह गरिरहेकी थिइन् । तर छोराहरु सुनेको नसुन्यै गरिरहेका थिए ।

No comments:

Post a Comment