Tuesday, November 21, 2023

लघुकथा (अङ्क ३ मा प्रकाशित)

नेपालबहादुरको सपना

-त्रिचन्द्र प्रतीक्षा
चागल, काठमाडौँ


बिहान झिसमिसेसँगै रेडियो नेपालमा भारतीय राष्ट्रिय गान बजिरहेछ, ’जनगणमन अधिनायक जय हे भारतभाग्यविधाता !
०००००
०००००००
०००००००००
जय हे, जय हे, जय हे, जय जय जय जय हे ।।’
नेपालबहादुर झस्किन्छ, अचम्म मान्दै नेपालको रेडियोमा किन र कसरी बज्यो भारतीय राष्ट्रिय गान? रेडियो अन्तै स्टेसनतर्फ लगाए त्यहाँ पनि उहि गान बजिरहेको सुने ।

एकछिनमा सूचना आउँछ,
’नेपालसरकारका लेण्डुपहरुले नेपालको सम्पूर्ण जिम्मेवार भारत सरकारलाई सुम्पेको हुनाले हामीले सहस्र स्वीकार गर्दै यो सूचना नेपालीहरुका लागि जारी गरेका छौं आजका मितिबाट प्रत्येक नेपाली जनताहरु भोकै नरहुन् भन्ने खातिर हरेक महिनाको लागि रासनपानी दिने भएका हुनाले आ–आफ्नो वडा टोलमा रासनकार्ड लिन अनुरोध गर्दछौं ।’

यो सूचना सुनेपछि नेपालबहादुरलाई निकै औदाहा हुन्छ, मुटु निकै दुःखेको महसुस गर्छ । रिसले चुर चुर हुन्छ । फेरि, रेडियोबाट अर्को सूचना जारी हुन्छ,

’आजको मितिबाट नेपाली जनताहरुको लागि शिक्षा र स्वास्थ निःशुल्क गरिने छ । कुनै पनि रोगको उपचार नेपाललगायत भारतभरको कुनै पनि हस्पिटलमा निःशुल्क गरिने छ भने आ–आफ्नो छोराछोरीलाई उच्चशिक्षासम्म निःशुल्क गरिने छ साथै हरेक परिवारका एक सदस्यलाई एक रोजगारी ग्यारेन्टी भारत सरकारले गरिनेछ ।’

यो सूचना सुनेपछि नेपालबहादुर जुरुक्क ओछ्यानबाट उठेर बोतलबाट पानी पिउँदै झ्याल खोल्छ । एकाबिहानै टाढाबाट जुलुस आएको आवाज उनको कानमा आएर ठोक्किन्छ । सोच्छ कहीँ नेपाल भारतले लिएकोमा विरोधको जुलुस पो हो कि ? हो भने आफूपनि विरोध जुलुसमा सहभागी बन्ने सोचले लुगा लगाउँछ जुलुस नजिकिँदै गर्दा नारा स्पष्ट सुनिन थाल्छ, विरोधमा होइन समर्थनमा भारतको झण्डासहित ’भारत सरकार जिन्दावाद र जयजयकार’को नारा रहेछ ।

नेपालबहादुर झ्यालकै आड लिएर थचक्क बस्छ, भाउन्न भएर रिंगटा लाग्छ र ठूलो स्वरले कराउँछ, ’चोर, डाँका लेण्डुपहरु, आफ्नै आमालाई बेचिस् थुक्क’

होइन बूढा के भो निन्द्रामै थुक्क थुक्क भन्दै कराएछ त । बुढी कराएको आवाजले नेपालबहादुरको सपना भङ्ग भएर झल्यास्स ब्यूझिन्छ । र नेपालबहादुरले आफ्नी स्वास्नीलाई एकटकले हेरेर भन्छ, उफ् कस्तो नराम्रो सपना पो देखेछु बुढी ।

No comments:

Post a Comment