Sunday, November 19, 2023

लघुकथा (अङ्क ५ मा प्रकाशित)

योग्यता

-लीलाराज दाहाल
बागमती ११, कर्मैया, सर्लाही 


एउटा नव स्थापित कार्यालयको लागि केही कर्मचारी अपुग भएकाले भर्ना गर्ने निर्णय गरी योग्य व्यक्तिहरुबाट दरखास्त आह्वान गरियो । केही प्रशासनिक पद र केही कम्प्युटर अपरेटर पदका लागि निवेदन मागिएको थियो ।

लक्ष्मणले पनि बेरोजगारीको दलदलबाट बाहिर निस्कन कम्प्यूटर अपरेटर पदमा आवेदन गरे । उनी कम्प्युटर बिज्ञानमा स्नातक थिए । कम्प्यूटर जानेका अरु केही युवायुवतीहरुले पनि सोही पदमा आवेदन गरेका थिए । परीक्षाको किसिम प्रयोगात्मक र अन्तर्वार्ता भनिएको थियो । परीक्षामा त जीवनमा कहिल्यै कम्प्यूटर नछोएका उम्मेदवार पनि सामेल भएका थिए । परीक्षाको नतिजा पनि सार्वजनिक भयो ।

लक्ष्मण लगायत कम्प्यूटरका जानकारहरुको नाम निस्किएको थिएन । कहिल्यै कम्प्यूटर नछोएका, नजानेकाहरु पो कम्प्यूटर अपरेटरको पदमा उत्तीर्ण भएका थिए ।
उनीहरुले हाकिमको कोठामा पुगेर असन्तुष्टी जनाए, “हामी कसरी अयोग्य भयौं हाकिम साहेब ? आज हाम्रा प्रमाणपत्रहरुको ठूलोे उपहास भयो तपाईंबाट ।”

अब उनमा लक्ष्मण र यस्ता कैयौं योग्य लक्ष्मणहरुको चित्त बुझाउन सक्ने तागत बाँकी थिएन । लाचारीको चश्मा लगाएर कार्यालय प्रमुखले भने, “तपाईंहरुको लागि माथिबाट फोन आएन । म के गरूँ त ?”

No comments:

Post a Comment