माफ
-विष्णु भण्डारी आचार्य
बेलबारी, मोरङ
दिलबहादुर विदेश गइसकेपछि दिलुको चरित्रलाई लिएर यता टोलछिमेकमा सबैले औँला उठाउन थाले । भन्थे, परपुरुषसँग ठाउँठाउँ घुम्न जान्छे । दिलबहादुरलाई विदेशमा फोन गरेर पोल पनि नसुनाएका होइनन्, के गरोस् फर्कि हाल्नु पनि गएको ऋण तिर्न बाँकी थियो, नफर्कु, घरमा स्वास्नीको त्यो चर्तिकला । रिस भनेसम्म उठ्यो ।
जसोतसो वर्ष बित्यो विदेश गा’को ऋण पनि लगभग तिरीसक्यो ।
दिलबहादुर आएपछि घरव्यवहार जिम्मा लाएर मात्र जाने अडिगमा बसेकी थिई दिलु ।
त्यस्ती चरित्रहिनलाई दिलबहादुरले कसरी राख्दोरहेछ, चोरऔंला ठड्याइरहेका थिए छिमेकी पनि ।
टोल भेला बस्यो । दिलु घोसेमुन्टो लाएर एकातिर बसेकी थिई । जोसँग नाम जोडिएर चरित्रमा औँला उठाइएको हो उसैको जिम्मा लाएपछि सन्तोषले बस्ने सुरसारमा कस्सिएको थियो दिलबहादुर ।
दिलुले हात उठाइ भेलाको अगाडि, सानो बोली पारेर भनि– ‘‘बस्न नदिएपनि, दिलबहादुरसँग केही कुरा भन्छु अन्तिममा । आखिरी मैले उसको घरव्यवहार पनि बिगारेकी छुइन् ।’’
दिलबहादुर दिलुसँग कुरा गर्न मानिरहेकै थिएन । भेला भएकामध्येका एकजनाले भने– ‘‘कुरा गर्दैमा के हुन्छ त गर ।’’
दिलबहादुर मन नलागी नलागी राजी भयो बोल्न । कुरा भए दुई बीच, एकान्तमा ।
“एकचोटिलाई माफ देऊ मलाई, म तिमीसँगै बस्न चाहन्छु, मलाई जोसँग जिम्मा लाउन आँटिदैछ उसको पनि आफ्नो घरव्यवहार छ ।
तिम्रो मेरो घरव्यवहार नबिग्रियोस् चाहन्छु म ।”
“तँलाइ लाज छैन यस्तो कुरा भन्न?’’ हान्न झम्टियो ऊ ।
“तिमीले पनि त पहिले त्यो रविनालाई लिएर बाहिरै बस्न थाल्याथ्यौ, विरोध गर्दा, माफ गर्दैउ म उसलाई लिएर आउँदिन छोड्दिन्छु, भन्यौ, बिर्सियौ तिम्ले ?”
दिलबहादुर एकछिनसम्म घोरियो र त्यो भेलाको अगाडि उभिएर भन्यो, छलफल यतिकै स्थगित गरौँ ।
No comments:
Post a Comment