Tuesday, November 21, 2023

लेख (अङ्क ४ मा प्रकाशित)

  लघुकथाको परिभाषा

-लक्ष्मण अर्याल

विभिन्न समीक्षक, लघुकथाकार, विधा विश्लेषक आदिले आ–आफ्नै तरीकाले र पृथक पृथक कोणबाट लघुकथालाई चिनाएका छन् । लघुकथालाई चिनाउने सन्दर्भमा विद्वानहरूका विचारहरू आ–आफ्ना ठाउँमा उपयुक्त नै पनि छन् । हिजो जस्तो लघुकथा थियो आज त्यस्तो छैन । निरन्तर विकास छ – चिन्तनमा अनि लेखनमा पनि । समाज पनि हिजोको जस्तै छैन । यो दिनानुदिन परिवर्तित भइरहेको छ । राजनीति फेरिइरहन्छ । मानिसको चेतनाको स्तर पनि स्थिर छैन – दिनानुदिन बढ्दो छ । धार्मिक र सांस्कृतिक मूल्यमान्यतामा पनि दिनानुदिन बदलाव छ । आर्थिक तहमा पनि फेरबदल छ तर वर्गीय विषमताको खाडल पनि पुरिएको छैन । समयअनुसार विकृति र विसङ्गतिका धारहरू पनि पृथक् छन् । लघुकथाकार यही वृत्तमा बसेर लेख्छ । यसैले उसका लेखाइ सधैं परम्परामा मात्र जमिरहन सक्दैन । भनेको मतलव लघुकथाकारको लघुकथाकारितामा निरन्तरको बगाइ हुन्छ । अझ यो लघुकथा लेखनको मात्र ट्रयाक होइन, समग्र लेखनको ट्रयाक पनि यही हो । लेखनलाई प्रभावित पार्ने कुराहरू धेरै हुन्छन् । परिभाषाहरू लेखनको परिवर्तनसँगै प्रवाहित भइरहन्छन् । यसैले हिजोका परिभाषाहरू आज अपूर्ण भइरहेका छन् र आजका परिभाषाहरू भोलि अपूर्ण बन्छन् । भनौं, समयअनुसार लेखन बदलिन्छ, लेखनअनुसार परिभाषा फेरिन्छ । सैद्धान्तिक मान्यताहरू थपघट भइरहन्छन् । लेखनपछि सिद्धान्त निर्माण हुने भएकाले पनि यो प्रक्रिया स्वभाविक छ ।

लघुकथालाई चिनाउने सन्दर्भमा धेरै विद्वानहरूले केही न केही लेखेका छन् । ती मध्ये केही विद्वान्का परिभाषालाई यहाँ उल्लेख गर्ने जमर्को गरिएको छ । लघुकथाको विधागत चिनारीका लागि यी समालोचक तथा लघुकथाकारका परिभाषाहरू सहयोगी बन्न सक्छन् –


१. कम्तीमा दुईओटा यथार्थ वा कल्पित स्वतन्त्र घटना अथवा स्थितिको कालक्रमिक प्रतिनिधित्व भएको लघुतम आख्यानलाई लघुकथा भनिन्छ । सानोमा पूर्ण र स्वनिष्ठ भई आफ्नै खुट्टामा उभिन सक्नु यसको (लघुकथाको ठुलो चुनौती हो । यसले संक्षिप्तता र परिपूर्णताको सर्व एकैचोटी पूरा गर्नुपर्छ किनभने संक्षिप्तता नहुँदा यसको बाहिरी संरचना भत्कन्छ र परिपूर्णता नहुँदा यसको भित्री स्वरुप बिग्रन्छ । यसको सिर्जना सदैव चुनौतीपूर्ण हुन्छ ।

लघुकथाबाहेक आख्यानका अरु कुनै भेदमा लघुतम भन्ने विशेषता एवम् मौलिकता पाइँदैन । लघुतम आख्यानको हैसियतमा आफ्नो मौलिकता धान्दै अहिले यो पनि साहित्यको एउटा लोकप्रिय सिर्जनाका रुपमा स्थापित भएको छ ।
– मोहनराज शर्मा

२. आकारगत लघुता मात्र लघुकथाको ताङ्खिवक पहिचान होइन, मुख्य कुरो त यसमा क्षणभरमै विचार वा भावको विष्फोट हुन सक्ने अणुसामथ्र्य हुनुपर्छ ।

विस्तारमा क्रमैसँग जानु यसको (लघुकथाको) स्वभाव किमार्थ होइन तापनि आफ्नो रैखिक गतिलाई भने यसले शीघ्रातिशीघ्र पार गरी अन्त्यमा पाठकमा गहिरो प्रतिध्वनिको आभास गराएरै छाड्छ । प्रतिध्वनि नसुनिए त्यो लघुरचना लघुकथा नभएर कुनै ठट्यौली मात्र बन्दछ ।
तीव्र गतिमा थोरै बोलेर धेरै कुराहरू भन्न सक्ने सामथ्र्यमा यो (लघुकथा) धनी छ । छोटो र सीधा बाटो हिंडेर छिट्टै गन्तव्यमा पुग्न सक्ने अश्वशक्ति नै यसको आयामिक सौष्ठव हो ।

लघुकथा सङ्क्षिप्त शैलीको आख्यान हो । यसमा लघुताको आयामभित्र कथावस्तु, पात्र, दृष्टिविन्दु र सारवस्तुको एकअर्कासँग अन्तर्मुख भएर समष्टिमा एकै विधागत स्वरुप प्रक्षेपित हुन्छ । कुनै भाव, संवेग र चिन्तनको प्रक्षेपण नै यसको शक्ति हो जुन नितान्त प्रयत्नलाघवमा आधृत हुन्छ ।
– दयाराम श्रेष्ठ

३. मलाई लाग्छ – लघुकथा एउटा कविताको झिल्का हो, कथात्मक कविता हो, प्रतीकात्मक अनुभूति हो, विद्रोह र असन्तुष्टि व्यक्त गर्ने थलो हो ।
– भागीरथी श्रेष्ठ

४. लघुकथा शब्द नेपाली साहित्यको सन्दर्भमा प्रयुक्त कथा विधाको एक प्रविधा हो ।

अकथा र अवस्तुता जस्तो कोरा आन्दोलन होइन लघुकथा लेखन परम्परा । विवस्तुता, विपात्रता, अनाख्यानात्मकताका गतिहीनतामा घस्रने अजिङ्गर होइन लघुकथा सुन्दर र फुर्तिले मृगको गतिमा दौडिने तत्व हो लघुकथा । लघुकथामा शिल्पगत प्रतीकात्मकता, बिम्बगत सङ्केत आदिको सूक्ष्मता रहन्छ ।
– राजेन्द्र सुवेदी

५. लघुकथा कुशल फोटोग्राफरले खिचेको विशाल र सुन्दर दृश्यको सानो फोटो हो । थोरै समयमा थोरै शब्द पढेर धेरै शब्दको स्वाद लिन सक्ने विधा हो ।
– श्रीओम श्रेष्ठ ‘रोदन’

६. फोटोग्राफीको भाषामा लघुकथा यस्तो स्नैप सट (क्लिक) हो जसले समयको प्रवाहलाई स्थिर बनाइदिन्छ । त्यो समयको हिस्सा पनि हो र स्वतन्त्र पनि छ ।
– राजेन्द्र यादव

७. राम्रो कविताले झैँ राम्रो लघुकथाले मन्त्रमुग्ध मात्र पार्दैन, झल्याँस्स पारेर टुङ्ग्याउने यसको प्रस्तुतिले गर्दा मनमा गहिरो संवेगात्मक अनुभूति छाड्छ । अँध्यारोमा फोटो खिच्दा फ्ल्यास लाइट बलेपछि एउटा दृश्य एकैछिन आँखा अगाडि बसेझैं यसको प्रभाव कायम रहन्छ ।

लघुकथा वास्तवमा कथा नभई दृष्टिकोण हो । यसले जीवन, समाज, विषय, घटनाका बारेमा एउटा दृष्टिकोण प्रस्तुत गर्दछ । त्यो दृष्टिकोण प्रष्ट पार्न लेखकले घटना, संवाद, वर्णन आदि लेखन उपकरणहरूको प्रयोग गर्छ । एउटा लघुकथामा एउटाभन्दा बढी दृष्टिकोण प्रस्तुत गर्न खोज्यो भने कुनै पनि दृष्टिकोण प्रष्ट नहुन सक्छ ।

थोरै शब्दमा धेरै कुरा भन्नुपर्ने भएकाले शीर्षकदेखि अन्त्यसम्म हरेक शब्दको चयन तौलीतौली गर्नुपर्छ । लघुकथामा कमिलाले चसक्क गरी टोके जीवनका कुनै घटना वा अनुभूतिको त्यस्तो हृदयस्पर्शी अभिव्यक्ति हुन्छ जो केही समयसम्म अनुभव भइरहन्छ । यो अनुभूति जति लामो समयसम्म हुन्छ त्यति नै लघुकथा प्रभावकारी हुन्छ ।
– विनयकुमार कसजू

८. लघुकथा जीवनाकाशलाई हेर्ने दूरबिन हो । उपन्यास तरबार हो, कथा खुकुरी हो भने लघुकथा छुरी हो ।
– मनु ब्राजाकी

९. आख्यान विधाको सूक्ष्मतम लेखनी भइकन पनि आफैँमा पूर्ण विषय केन्द्रित आख्यान सिर्जना हो – लघुकथा । एउटै प्लटको मियोमा बाँधिएर जतिसक्दो छोटो बुनोटभित्र मिठासपूर्ण शैलीमा व्यङ्ग्योक्तिसहित टुङ्ग्याइएको सिर्जनामा विषयको उठानलाई अन्त्यको झड्काको प्रहार लागेको हुनुपर्छ ।
– तुलसीहरि कोइराला

१०. कुनै एउटा दृश्य, घटना, क्षण वा अनुभूतिकै सेरोफेरोलाई खासै कुनै भूमिका बिना नै सिधा प्रस्तुत गरिने मिहिन सीपयुक्त कथात्मक रचना नै लघुकथा हो ।
– ध्रुव मधिकर्मी

११. लघुकथाको कलात्मक विशेषता नै शब्द र वाक्यको अत्यन्त मितव्ययिता हो । शब्द र वाक्यमा मितव्ययी नभई लघुकथा लेखिन्न पनि, हुन्न पनि । प्रभावकारी लघुकथा मितव्ययी पनि र कलात्मक पनि हुन जरुरी छ । आकारमा लघु भए पनि यो अरु विधाभन्दा कठिन विधा हो ।
– राजव

१२. लघुकथा विष्फोटका साथ प्रस्फुटित भएको विधा हो । यो कुनै व्यक्तिको महानताका बारेमा गरिने भाषण होइन । बरु शोषण र शोषकको विरुद्ध एउटा क्रान्ति हो ।
– डा. अञ्जली शर्मा

१३. संक्षिप्त, सरल, सुरुचिपूर्ण प्रहारक एवं सम्प्रेरक कथात्मक अभिव्यक्ति नै लघुकथा हो ।
– रवीन्द्र समीर

१४. सूत्रात्मक रुपको सङ्केतात्मक सन्देश दिने आख्यान साहित्यको एउटा नवीनतम उपविधा नै लघुकथा हो ।
– रामविक्रम थापा

१५. लघुकथा कमभन्दा कम शब्दमा प्रभावशाली ढङ्गबाट कथिएको कुनै पनि संवेदनाको प्रस्तुति हो ।
– महावीर प्रसाद जैन

१६. भोगेका क्षणका टुक्राहरूलाई त्यस्तै शब्दका टुक्राहरूमा नै प्राण भर्नु लघुकथा हो ।
– दिनेशचन्द्र दूबे

१७. एक पृष्ठको आयाममा विस्तारित, दुई सय पचास शब्दभित्रको छोटो आख्यान नै लघुकथा हो ।
– रोनाल्ड वालेस

१८. जीवनको सही मूल्य स्थापित गर्न व्यक्ति र उसको समयको विवेच्य क्षणलाई थोरै र सारगर्भित शब्दमा असरदार किसिमले व्यक्त गर्ने सफल विधाको नाम लघुकथा हो जसले सिधै चिन्तनतन्तुहरूलाई प्रभावित गर्छ ।
– विक्रम सोनी

१९. यो मात्र घटनावली हो । परिवेश निर्माणलाई पूर्णरुपमा त्यागी विश्लेषणसित अछुत रहेर घटना र चरमसीमायुक्त प्रस्तुति नै लघुकथा हो ।
– डा. पुष्पा वंशल

२०. लघुकथा साहित्यरुपी ब्रह्माण्डमा सूर्यको ॐ उष्णता र विशालता होइन, मेघाच्छन्न आकाशमा चम्किएको बिजुली हो जसले पाठकको मस्तिष्कमा एउटा तीव्र प्रभाव छाडेर एकाएक सकिन्छ ।
– बलराम

२१. लघुकथाले आफूलाई संक्षेपमा राखेर जीवनको व्यापकता पस्कन्छ । यो मानव चरित्रको एउटा बिम्ब, मनको एउटा भाग, जीवनको एउटा घटना र घटनाको पनि एउटा अंश तथा कालखण्डको एउटा चित्रण हो तर यति भएर पनि एउटा पूरै कथानक प्रस्तुत गर्न यो विधा सक्षम हुन्छ ।
– अशोक लव

२२. लघुकथा कथाभन्दा स्वतन्त्र र अलग एउटा विधा हो । केवल आफ्नो लघु आयतनका हिसाबले मात्र होइन, यसको पूर्ण स्वतन्त्रताका कारणले पनि यो विधाले कथाभन्दा स्वतन्त्र अर्थ राख्दछ । यो विधाले कथा र लामो कथाको सगोत्रीय विधा भएर पनि निजत्व, बनोट, तत्व र प्रभावक्षमतामा ती भन्दा फरक भएकाले आफ्नो रचना र बनोटमा कथाभन्दा स्वतन्त्र र पृथक पहिचान राख्दछ ।
– डा. हरिमोहन

२३. लघुकथा मानव मनको अभिव्यक्तिलाई केही शब्दहरूमा प्रभावकारी ढङ्गबाट अभिव्यक्त गर्न सक्ने सशक्त विधा हो ।
– डा. सतीश दूबे

२४. लघुकथाको मुख्य विशेषता यो हो कि त्यसमा सबै कुराको उद्घाटन हुँदैन । विषयको विवेचना सूक्ष्म हुन्छ । साङ्केतिकता लघुकथाको अत्यावश्यक तत्व हो जुन अधिकांश लघुकथाबाट हराउँदै गएको छ । पाठक केही जान्दैनन् भन्ने भावनाले लेखकमा सबै कुरा भनिदिने बेचैनी आइरहेको छ ।
– सतीश राठी

२५. यो (लघुकथा) अत्यन्त घनीभूत ढङ्गले खाँजिएको हुनुपर्छ । झन्डै गेय कविताजस्तै अचानक विष्फोट भएझैँ गरी रहस्योद्घाटन हुनुपर्छ । यो अति बलियो एउटा घटनामा मात्र सीमित हुन्छ । यसको साङ्केतिक महत्व हुन्छ ।
– इर्भिङ हाव

२६. जीवनका सङ्गतिहरूलाई उजागर गर्ने लघुकथा एउटा न्युटन बम हो, जो विष्फोट हुनासाथ अचानक अन्तर्मनलाई आन्दोलित गर्न थाल्छ ।
– भगवती प्रसाद द्विवेदी

यी लघुकथाका परिभाषाहरूले आज लेखिएका र लेखिने मानक लघुकथाको लगभग आकारप्रकार समेट्न सक्छ । परिभाषाका सन्दर्भमा यो कुरा बुझ्नु पर्छ कि भविष्यमा लेखिने लघुकथामा नयाँ धार आए पुनः यी परिभाषाहरू अपूर्ण बन्न सक्छन् र नयाँ परिभाषा र दृष्टिको खाँचो पर्न सक्छ । माथिका परिभाषाहरूको सार बुँदा यस्तो छ –

á आकारप्रकार सानो हुन्छ ः लघुतम आख्यान तर यो सारांश कथा होइन ।
á कम्तीमा दुई घटना राम्रो लघुकथाको आधार हो ।
á विचार वा भावको विष्फोटक प्रभाव हुनु लघुकथाको खास पहिचान हो ।
á व्याख्या र विश्लेषण लघुकथाका लागि अनावश्यक हुन् ।
á राम्रो लघुकथामा पाठकको मस्तिष्कलाई धेरैवेरसम्म तरङ्गित बनाइरहने सामथ्र्य हुन्छ ।
á बलियो र आकर्षक भाषाशैली जीवन्त लघुकथाको प्राण हो ।
á भूमिका बिना नै सिधा प्रस्तुत गरिने मिहिन सीपयुक्त कथात्मक रचना नै लघुकथा हो ।
á लघुकथा आख्यानको प्रभेद हो ।
á लघुकथा जीवन भोगाइबाट टिपिएको एउटा सानो झिल्को हो ।
á लघुकथा आफूलाई सङ्क्षेपमा राखेर जीवनको व्यापकता पस्कने प्रविधा हो ।
á छोटोमा लेखिने आख्यानात्मक धारिलो रचना नै लघुकथा हो ।


माथिका परिभाषा, बुँदागत निष्कर्ष तथा प्रकाशित नेपाली लघुकथाका प्रकृति र प्रवृत्तिका आधारमा लघुकथालाई यसरी चिनाउनु उपयुक्त हुन्छ –

कम्तीमा दुई घटना समाविष्ट भएको, विचार र भावसघनतामा वेष्ठित, चामत्कारिक भाषाशैलीमा लेखिने, जीवन भोगाइका आरोह अवरोहहरूबाट घटना टिपिएको, विकृति, विसङ्गति र समाजका बिप्ल्याँटा परिस्थिति विरुद्धको आवाज प्रखर भई आउने, आख्यान विधा अन्तर्गत पर्ने तीन सय शब्दको आसपासमा केन्द्रित त्यो सूक्ष्मतम प्रभेद लघुकथा हो जसमा पठनपश्चात् मानव मस्तिष्कलाई धेरैवेरसम्म झङ्कृत र तरङ्गित बनाइरहने सामथ्र्य हुन्छ ।

साभारः लघुकथा विमर्शन पुस्तकबाट

No comments:

Post a Comment