Tuesday, November 21, 2023

अन्तर्वार्ता

*****************
लेखक परिचय
बुद्धिमाया र डम्बरबहादुर क्षत्रीको सुपुत्रका रुपमा वि. सं. २०२९ कार्तिक १९ गते कास्कीको माछापुच्छ्रे गा.पा. वडा नं. ४ लाहाचोकमा साहित्यकार राजु क्षत्री अपूरोको जन्म भएको हो । श्रीमती, एक छोरा र एक छोरीको छुट्केइलो परिवारमा बसोबास गर्दै आएका क्षत्रीले साहित्यिक जगतमा अरु थुप्रै कामहरू गर्ने सोचहरू बनाएका छन् ।

विद्यार्थीकालदेखि नै खेलकुद तथा साहित्यिक कुरामा अभिरुची देखाउने क्षत्रीको ‘बाँझो कि बाँंझी ?’ शीर्षकको पहिलो लघुकथा सन् २००६ मा प्रकाशित भएको थियो । हालसम्म उनका निम्न लघुकथा कृतिहरू प्रकाशित भइसकेका छन् ः – 

(१) मेरा केही लघुकथाहरू (२०६८)  (२)  भाग्य र कर्म (२०७३) (३)  आशाका झिल्का (२०७४)  (४)  दिमागको बिर्को (२०७६)  त्यसबाहेक अन्य विधागत कृतिहरूमा प्रवासका भोगाइ र अनुभवहरू (सन् २००९) नामक यात्रा संस्मरण कृति प्रकाशित भएको देखिन्छ । उनले साहित्यिक कर्मवापत सिर्जना सदन घाचोकबाट वर्ष सम्मान २०७७, मन्जरी थिएटर मलेसियाले गरेको सम्मानबाट (सन् २०१७) सम्मानित भएका छन् । त्यसै गरी सन वे लगुन क्वालालम्पुर मलेसियाबाट सन् २००७ मा साहित्यिक भ्रमण गर्ने अवसर पनि प्राप्त गरेका छन् । उनीसित लघुकथा संसारका स्तम्भकार गोमविक्रमले लघुकथा विधासँग केन्द्रित रहेर गर्नुभएको कुराकानी यसप्रकार छ ः 

*****************

गोम ः लघुकथा के हो ? उत्कृष्ट लघुकथा हुन के कस्ता गुणहरू हुनुपर्ला ?

राजु ः  विद्वानवर्गहरूले लघुकथाको परिभाषा आ–आफ्नै शैलीबाट गर्नु भएको छ । आखिर सार र निचोड उस्तै नै हो । मैले पनि लघुकथालाई यसरी परिभाषित गर्ने गरेको छु । ‘‘एउटा निश्चित मूल्यमान्यताको परिधिभित्र रही सरल र सटिक ढङ्गबाट माला उनेर कौतुहलता प्रदान गर्दै आकर्षक समापन गरिएको लघुत्तम आकारको त्यो कथा जसले पाठकको मन र मस्तिष्कमा तरङ्ग पैदा गरोस् ।’’ यहाँले सोध्नु भएको प्रश्नको उत्तर यसैभित्र अटेको छ भन्ने लाग्दछ । यद्यपि लघुकथामा घटना, पात्र, कथ्य बुनोट, द्वन्द्व र दृष्टिविन्दु जस्ता तत्वहरू हुनु अनिवार्यता मानिन्छ ।

गोम ः तपाईं आफ्ना कृतिहरूको मूल्याङ्कन गर्नु प-यो भने कसरी गर्नुहुन्छ ? कृतिमा समाविष्ट लघुकथाका दरिलो पक्ष र कमजोर पक्ष केलाउनु पर्दा ?

राजु ः हामी लघुकथा लेखनमा अभ्यासकै क्रममा छौँ । मेरा केही लघुकथाहरू लघुकथाको निकट पुग्न खोजेका छन् भने धेरै लघुकथाहरू हतारका साहित्य पनि भएका छन् । एक समय सबैलाई लघुकथाको नशा भने लाग्दो रहेछ । त्यही नशाले म स्वयंका लघुकथाहरू पनि अहिले पढ्दा निकै कमजोर भएको पाउँछु । पहिला राम्रोसँग सिद्धान्तै नबुझी लेखिन्थ्यो । अब भने अलिकति बुझेर मात्र लेख्न थालिएको छ ।

खास गरी सामाजिक परिवेशका विषयवस्तु चयन गरी आकर्षक समापन यानी विपरित भावमा समापन गर्नु मेरो मुख्य उद्देश्य रहेको हुन्छ । कतिपय लघुकथामा म सफल पनि भएको छु जस्तो लाग्दछ तर कतिपय लघुकथाहरू कथ्य बुनोट निकै कमजोर भएको पाएको छु । गहन शब्द चयन गर्न नसक्नु मेरो अर्को कमजोर पक्ष हो । त्यसैले पनि मैले सोचेजस्तो लघुकथा लेख्न त अझै धेरै साधना गर्नुपर्छ ।


गोम ः नेपाली लघुकथाको अवस्था कस्तो छ ? नेपाली लघुकथालाई विश्व साहित्यको बजारसम्म पु-याउन के गर्न सकिएला ?

राजु ः नेपाली लघुकथा अझै पनि गाउँ–गाउँ बस्ती–बस्तीसम्म पुग्न सकिरहेको छैन । विश्व साहित्यमा पुग्न त अझै समय लाग्छ । यसको मतलव यो होइन कि नेपाली लघुकथा साह्रै कमजोर छन् । उत्कृष्ट लघुकथाहरू पनि प्रशस्तै छन् । ती लघुकथाहरूलाई अनुवादको माध्यमबाट विश्व बजारमा पु¥याउन कोही न कोही अग्रसर हुनैपर्छ ।

गोम ः स्मरणीय लघुकथा कुन छ होला आफ्नो वा अरुको सङ्ग्रहको ? अनि के कारण होला बताइदिन सक्नुहुन्छ कि ?

राजु ः  मैले केही सङ्ग्रह मात्र पढ्ने मौका पाएको छु । हरेक सङ्ग्रहमा समावेश गरिएका सबै लघुकथा एक से एक उत्कृष्ट कसैका पनि हुँदैनन् र छैनन् पनि । सङ्ग्रहभित्र या सामाजिक सञ्जालमा भेटिएका केही लघुकथा निकै उत्कृष्ट पनि भेटेको छु । नारायण तिवारी सरको ’बा को फोटो’ र ’क्यान्सरको जात’, डा रवीन्द्र समिरको ‘पेशा’, खेमराज पोख्रेलको ‘आमाको बिहे’, महेश प्रसाईंको ‘स्वामिभक्ति’, जुनु क्षत्रीको ‘सर्प र मान्छे’, श्रीओम श्रेष्ठ ’रोदन’को ‘संवेदना’, तुलसीहरि कोइरालाको ‘मजदुर दिवस’ इत्यादि लघुकथाहरू मेरो मनमा अविस्मरणीय छाप छोड्न सफल छन् । 

राजु क्षत्री अपूरोका कृतिहरू


गोम ः लघुकथामा कसरी आकर्षित हुनु भो ? अरुलाई आकर्षित गर्न के गर्न सकिएला ?

राजु ः मेरो लेखन यात्रा मलेसियाबाट सुरु भएको हो । खेल र पत्रकारितातिर नशा लागिरहेकै अवस्थामा लघुकथा लेख्न सुरु गरियो र आफूलाई यसै क्षेत्रबाट परिचित बनाउन सक्छु जस्तो लाग्यो । सत्तरीको दशकमा जमेरै लेखियो । व्यक्तिगतरुपमा होस् वा हाम्रो लघुकथा केन्द्र, नेपालका माध्यमबाट होस् थुप्रै नयाँ लेखकहरूलाई लघुकथा लेखनतिर आकर्षित गराउँदै आइरहेका छौं । साहित्यिक विधाकै ऐतिहासिकगान, लघुकथागानको परिकल्पना गर्दै व्यक्तिगत र संस्थागतरुपमै सानो परिचय पनि बनाउन कसरत गरिरहेका छौं । लघुकथाको क्षेत्रमा थुप्रै उल्लेखनीय काम गर्दै हामीले पुस्ता हस्तान्तरण गर्न सफल पनि भएका छौं कि जस्तो लाग्दछ ।

गोम ः लघुकथामा दिवंगत तर सम्झिनु पर्ने नामहरू ?

राजु ः लघुकथाको क्षेत्रमा जो जति लागि पर्नुभयो ती सबै हाम्रा लागि श्रद्धेय हुनुहुन्छ । यी नामहरूलाई राज्यले सम्बोधन गर्नुपर्छ भन्ने लाग्दछ ।


गोम ः हाम्रो लघुकथा केन्द्र, नेपालको संस्थापक र एडमिन भएका नाताले यसको स्थापना र गतिविधिबारे पनि प्रकाश पारिदिनु हुन्छ कि ?

राजु ः हामी नेपाली लघुकथालाई नयाँ तवरले अगाडि बढाउन चाहन्थ्यौँ र सोही आधारमा क्रमिकरुपले नयाँ र अलि पृथक ढङ्गबाट चलिरहेका छौं । यसका धेरै कार्यक्रमको परिकल्पना मैले गरेको छु जस्तै लघुकथागान, फर्माइस, लाइभ वाचन, समीक्षा, छलफल आदि । प्रत्यक्ष समीक्षाले जसको लघुकथा हो उसलाई बाहेक अन्य जो कसैलाई पनि लाभदायी देखिन्छ ।

गोम ः लघुकथाको उन्नयनका निमित्त सस्थाहरूबाट दिइने सम्मान पुरस्कार, पत्र–पत्रिका, सामाजिक सञ्जाल तथा अन्य मिडिया वा माध्यमको भूमिकाबारे यहाँले कस्तो अपेक्षा राख्नुहुन्छ ?

राजु ः अहिले लघुकथाहरू छाप्ने र छपाउने काम धेरै भइरहेको छ तर पाठक सङ्ख्या न्यून छन् । हतारमा पुस्तक प्रकाशन गर्ने जमात पनि उत्तिकै बढेको छ । धेरैका कृति आफ्नै घरमै थन्किएर बसेको अवस्था छ । नवपुस्ता सामाजिक सञ्जालकै मनोरञ्जनात्मक क्षेत्रमा धेरै आकर्षित भइरहेको अवस्था छ भने नारीहरू चाहिँ टिकटकमा रमाइरहेका देखिन्छन् । यस्तो हुनुमा लघुकथाको गुणस्तर कम हुनु पनि हो जस्तो लाग्दछ । लघुकथामा एक किसिमले बाढी त आयो तर गुणस्तरमा ह्रास पनि आएको छ । कतै कतै सम्मान पुरस्कारमा पनि विकृति र बेथितीपूर्ण बनाइएको छ । जहाँ र जसलाई मन लाग्यो दिइहाल्यो । यो रोग निको पार्न सानोतिनो क्रान्तिले सम्भव भने छैन ।

No comments:

Post a Comment