दिव्यदृष्टि
-मुरारीराज मिश्र
कुमारीगाल, काठमाडौं –७
"मैले पनि मरणोपरान्त आँखादान गरेर आएँ नि दाइ ।" रमेशले प्रफुल्ल मुद्रामा दाजु दिनेशलाई सुनायो ।
"पहिले–पहिले मैले यसबारेमा बताउँदा, कानमा बतास लगाएको थिइनस् त ! अहिले कहाँबाट बुद्धि पलायो तेरो ?" दिनेशले प्रश्न ग-यो ।
"केही महिना अघिको एउटा दुर्घटनामा मेरो साथीको नेत्रज्योति गुमेको थियोे । आँखादान गरेको कुनै दानीको कृपाले, शल्यक्रियाबाट उसले पुनः संसार देख्ने अवसर पायो । म यसैबाट प्रभावित भएँ ।" रमेशले जवाफ दियो ।
नजिकै बसेकी उनीहरुकी वृद्ध आमाले, दाजुभाइको कुरा सुनेर भनिन् – "मृत्युुपछि शरीरको कुनै अङ्ग छुट्याएर जलाएमा, अर्को जन्ममा त्यो मान्छे छुट्याएको अङ्गबिना जन्मन्छ रे ! यो कुरा पण्डित बुद्धिप्रसादले प्रवचनमा भन्नुभएको थियोे बाबु । त्यसैले आँखादान गरेको ठीक लागेन है मलाई त !"
आमाको उक्त भनाइमा असहमति जनाउँदै दिनेशले भन्यो – "यस्तो हैन आमा, आँखादान गर्ने भनेको पुरै आँखाको डल्लो झिक्ने नभई आँखामा रहेको पातलो जाली मात्रै निकालिने हो । एकजना मान्छेको आँखादानबाट दुईजना दृष्टिविहीनले संसार देख्न पाउँछन् । मरेपछि पनि अरुको आँखाबाट संसार हेर्न पाउनु त आफैं बाँचेसरह हो नि आमा !"
दाजुको कुरामा रमेशले थप्यो – "मरेपछि पनि दुईजनालाई संसार देखाउने व्यक्ति, अर्को जन्ममा नेत्रहीन हैन, बरु दिव्यदृष्टि लिएर पो जन्मन्छ त ! किनकि, यो सबैभन्दा ठूलो पुण्यकार्य हो । कि कसो आमा !"
"ए, कुरा त यस्तो पो रहेछ ! पण्डितका कुरा सुनेर झण्डै म पुण्यकार्यबाट विमुख भएको ! लौ मलाई पनि आँखादान गर्ने फाराम ल्याइदेओ त ।" आमाले हाँस्दै भनिन् ।
No comments:
Post a Comment