Sunday, December 3, 2023

लघुकथा (अङ्क ७ मा प्रकाशित)

फुलू

-अनिता तुलाधर


सुन्तला रङले आकाश पोतिएको देखेर फूलुलाई हाँसुहाँसु लाग्छ । तर ऊ हाँस्दैन । उसका आँखामा रिसजस्तो, अभावजस्तो रङ पनि पोतिन्छ । फूलुलाई टाउको बजारेर रोइदिन मनलाग्छ । ऊ चुपचाप आफ्नो कोठामा पस्छ । कोठा फुङ्ग उडेको हुन्छ । कोठाको वातावरण उसलाई गहौंजस्तो लागेर आउँछ ।

क्यालेण्डरमा झुण्डिएर आत्महत्या गर्न खोजेका तारिखहरूमा आँखा पुग्छन्–भरखर आज २३ तारिख...! फूलुलाई आफ्ना दुःखका दिनहरू बिताउन अझ एक युग बाँकी नै भएको अनुभव हुन्छ । उसलाई रिस पिरो भएर आउँछ । फुलु रिसाएर दिनदिनभरि सुतिदिन्छ । मात्र सम्झन्छ– स्वास्नी । जसले उसलाई जिउँदैमा कहिल्यै पिरोलिन । महँगीको प्रश्न कहिले उठाइन । स्वास्नी बाँचुञ्जेल उसलाई केही पनि थाहा भएन । त्यसबेला उसलाई जीवन फक्रिएर फुलेको अनुभव हुन्छ ।

फूलुलाई रित्तोरित्तो अनुभव हुन्छ । फूलुलाई एकचोटि सबैथोक बिर्सिदिन मनलाग्छ । तर सम्झना पूर्णको जून भएर चारैतिर पोखिन्छ । ऊ केही पनि बिर्सिदिन सक्दैन । फूलु टोलाइरहन्छ ।

साभारः फूलु लघुकथासङ्ग्रहबाट

No comments:

Post a Comment