Saturday, March 23, 2024

लघुकथा (अङ्क १० मा प्रकाशित)

सर्टिफिकेट


-देवकी के.सी.
दक्षिणकाली नगरपालिका ३, काठमाडौं  


विश्वविद्यालयका प्रोफेसर चेतन असाध्यै राम्रा शिक्षकमा गनिन्थे । सधैं राजनीति र भागबन्डाको किचलो हुने विश्वविद्यालयमा कार्यरत औंलामा गन्न सकिने राम्रा नाउँभित्र प्रोफेसर चेतनको नाउँ पनि अटाउँथ्यो । पाँच महिना अघि मात्रै स्नातक अध्ययन गर्नकै लागि छोरालाई अमेरिका पठाउन सकेकोमा प्रोफेसर चेतन मख्ख थिए ।

तपाईंनै प्रोफेसर अनि आफ्नो छोरो चाहिँ किन स्नातक अध्ययन गर्न अमेरिका पठाउनु भयो नि ? किन तपाईंको  छोरोलाई स्नातक अध्ययन गराउन सक्ने शिक्षक र कलेज नेपालमा छैनन र? कि तपाईंलाई आफैले पढाएकोमा विश्वास छैन चेतन सर भनेर प्रश्न तेर्साउनेहरुलाई प्रोफेसर चेतन एउटै जवाफ दिन्थे । छोराले नै विदेशमा अध्ययन गर्ने रहर गर्‍योे के गर्नु मेरो चाहना त छोरालाई नेपालमै पढाउने थियो ।

आजभोलि प्रोफेसर चेतन सहकर्मीहरुसित चिया गफ भेटघाटमा अमेरिका गएको आफ्नो छोराकै मात्र कुरा गर्थे । उनी मेरो छोराले त नेपालका प्रोफेसर मेरो कलेजमा आएर पढ्यो भने नि फेल हुन्छ होला बाबा भन्यो भन्दै खित्का छाडेर हाँस्दथे । आफ्नै छोराले यहाँको शिक्षा र यहाँको प्रोफेसरको योग्यतामा प्रश्नचिन्ह उठाउँदा पनि मख्ख परेर हाँस्न प्रोफेसर चेतनलाई लाज पनि नलागेको देख्दा अचम्मै लाग्थ्यो ।

एक महिनापछि सर्टिफिकेट छानबिनमा विश्वविद्यालयका धेरै लेक्चरर, प्रोफेसर, रजिस्ट्रार परे । त्यसमा धेरैजसोको सर्टिफिकेटनै नक्कली पाइयो । त्यस्तै नक्कली सर्टिफिकेटधारीभित्र असाध्यै राम्रा मानिएका प्रोफेसर चेतन पनि परे । यो खबर सामाजिक सञ्जाल मार्फत् संसारभर फैलिदा अमेरिकामा स्नातक अध्ययन गर्दै गरेको प्रोफेसर चेतनको छोराको कानमा पनि पुग्यो । विचरो ! उसले आफ्नै बाउ नक्कली सर्टिफिकेटधारी रहेछन् भन्ने थाहा पाएर लाजले शिर उठाउनै सकेन ।

प्रोफेसर चेतनका सहकर्मीहरु चिया गफमा हाँसो गर्न थाले- चेतन सर त मेरो छोराले अमेरिकामा स्नातक अध्ययन गर्न आए पनि फेल हुन्छन् नेपालका प्रोफेसर भन्दै हाँस्थे । साँच्चिकै उनको छोराले त आफ्नै बाउ नक्कली सर्टिफिकेटधारी प्रोफेसर हुन् भन्ने चाल पाएर नै त्यसो भनेको रै’छ कि क्या हो ?


No comments:

Post a Comment