Sunday, December 29, 2024

लघुकथा (अङ्क १९ मा प्रकाशित)

अन्तर्वार्ता

- भिम प्रज्वल
नेपालगन्ज बाँके 


प्रतिस्पर्धात्मक परीक्षा चुनौतिपूर्ण हुन्छन । उस्ता उस्तै प्रतिस्पर्धीहरूसँग सहभागी हुनुपर्ने भएकाले कसको स्थानकहाँ हुन्छ यसै भन्न सकिदैन । विनय पूर्ण तयारीका साथ परीक्षामा सहभागी भयो । उसको मेहनत देखेर साथीहरू अचम्म मान्थे । यसपटक विनयको सफलतालाई कसैले रोक्न सक्दैन । 

पहिलो परीक्षा राम्रो भयो । उसमा आत्मबल बढ्यो । दोस्रो परीक्षाको लागि मेहनतको गति बढायो । विषयवस्तुमा दखल पहिलेबाटै बनाएको हो । लेखनसिपको राम्रो अभ्यास गरेपछि उसलाई अब कुनै कुराले पछि परिएला लागेन ।

हजारौं जनालाई पछि पार्दै विनयको नाम दोस्रो परीक्षाको सफल हुनेको सूचिमा देखापर्‍यो । मेहनतले मूल्य फिर्ता गर्ने निश्चित जस्तै भएकोमा उ दङदास थियो । साथीहरूले बेला मौका पारेर स—सानो भोज पनि गरिहाले । आफन्तहरू पनि सकरात्मकझैं भएका थिए । छिमेकमा पनि उसले प्राप्त गर्न लागेको जागिरको सफलताको चर्चा हुँदै थियो । सबैले काम पाएका थिए । 

भित्रभित्रै विनयमा डर लागिरहेको थियो । प्रतिस्पर्धा हो जे पनि हुन सक्छ । उसले साथीहरूलाई खुसी कम गर्न पनि त भन्न मिलेन । जिम्मेवारी पाएकाहरूलाई आफ्नो जिम्मेवारी बहन गर्न दिनु उसले कर्तव्य ठान्यो । ऊ भने आफ्नो काममा दत्तचित्त भएर लागिरह्यो । काम नगरेर कसरी पुगोस् एक कर्मवीरलाई ।

अन्तर्वार्ता बाँकी रहेको थियो । उसको प्रस्तुति शैली गजब थियो । विषयवस्तुमा उचित दख्खल छँदै थियो । आकर्षक व्यक्तिङ्खव पनि थियो । अझै पनि उसले तयारीलाई विराम लगाएको थिएन । सबै समान गुण भएका व्यक्तिहरूसँग प्रतिस्पर्धा भएकाले आफू निपूर्ण हुनु टड्कारो आवश्यकता थियो ।

पूर्ण तयारीका साथ ऊ परीक्षाका मैदानमा उत्रियो । शुभकामनाका शब्द गुच्छा बटुल्दै हानियो परीक्षा केन्द्रतिर । सबै प्रतिस्पर्धी उपस्थित थिए वा थिएनन् उसले हेक्का राखेन । एकोहोरो आफ्नो कर्तव्य पथमा लम्किरह्यो । आवश्यक प्रक्रिया पूरा गरेर उ अन्तर्वार्तामा सामेल भयो ।

ऊ अन्तर्वार्ता लिने समूहमा सिन्धु पनि थिइ । पाँचजनाको विज्ञ टोलीले पालैपालो प्रश्न गरे । विनयले आफूले जानेका सबै प्रश्नहरूको जवाफ दियो । अन्तमा सिन्धुले एक प्रश्न थप सोध्ने विचार गरी । संयोजकबाट अनुमति पाएपश्चात सिन्धुको प्रश्न खस्यो, 'विनय के तपाई मसँग बिहे गर्न सक्नुहुन्छ ?’ विनयले गम्भीरतापूर्वक जवाफ दियो— 'म्याम, यो प्रश्नको उत्तर दिए म कति नम्बर पाउँछु ?’


---------------------------------------

.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment