मुक्तक
मन्दिर पनि हजुरको झन्झन् मूर्ति हजुरको पाइजामा नभए पनि आहा कुर्ती हजुरको मिठो गफ गर्नुहुन्छ चोक चोकमा घुम्नुहुन्छ हैसियत सुको छैन अझै कत्रो फुर्ति हजुरको ।
२
अहँकारको महल अनि अहँकारकै छानो हजुरको
अझ झन्झन् निर्धनको गर्दन त अचानो हजुरको
अतीत बिर्सनु भो भ्रमको खेतीमा खुब रमाउनु भो
जब छरपस्ट हुन्छ नियत, अनि चल्छ गानो हजुरको ।
३
बोली छरितो हजुरको काम चाहिँ ढिलो हजुरको
मनभित्र पीरैपीर भएपनि मुहार चहकिलो हजुरको
घमण्डको शिखर पुग्नु हुन्थ्यो अनि पछारिनु हुन्थ्यो
तैपनि! कर्तुत लुकाउन सक्ने बानी गतिलो हजुरको !!
४
रिमझिम साँझ हजुरको झन् सुनौलो बिहान हजुरको
शेषनागलाई पनि बर्णन गर्न गाह्रो पहिचान हजुरको
मुखभरि कलंकको कालो पोतिएको देख्दा समेत पनि
अझै ! भक्त भलाद्मीहरूले गाउँछन् गुणगान हजुरको !!
५
चुपचाप छ धर्ती अचेल झन् चुपचाप छ आकाश पनि
मौन बस्नुमा नै आनन्द रह्यो चुपचाप छ उल्लास पनि
नीति नियम घायल हुँदै गयो उत्ताउलाको हात परेपछि
उज्ज्वल भविष्यको चिन्ताले चुपचाप छ इतिहास पनि ।
६
बादलले ढाकेपछि नै जून हराउँछ तारा हराउँछ
जब बढ्छ पीर व्यथा खुसी उमंग सारा हराउँछ
वनमारा झैं विकृति विसंगति फैलिइदै गएपछि
विसंगति सँगसँगै सभ्य संस्कारको नारा हराउँछ ।
७
मलाई युद्ध जित्नु छैन, जिन्दगीसँग हार्नु छैन
अगाडि पुग्ने चाहनामा, निर्दोषलाई पछार्नु छैन
मतलबी दुनियाँमा मतलब कै पसल चल्दो रैछ
भुइँ मान्छे हुँ भुइँमै रमाउँछु जूनतारा झार्नु छैन ।
-फुटुङ, काठमाडौं


No comments:
Post a Comment