Monday, March 17, 2025

लघुकथा समाचार


 

३ चैत्र, आइतबार

स्रष्टा साँझ अमेरिकाको आयोजनामा अम्बिका धितालको लघुकथासङ्ग्रह ‘जूनको जात्रा’को परिचर्चा कार्यक्रम आइतबार सम्पन्न भएको छ । उक्त परिचर्चा कार्यक्रममा डा. शेखर कुमार श्रेष्ठ, डा. कुसुमाकर शर्मा गौतम, इन्दिरा चापागाईं, दीपक लोहनी र मनीषकुमार शर्मा समित  परिचर्चाकार हुनुहुन्थ्यो ।

‘जूनको जात्रा’ को परिचर्चाकारहरूले कृतिभित्र समावेश गरिएका ६५ वटा लघुकथाहरूमा सामाजिक, राजनीतिक, शैक्षिक, सांस्कृतिक पक्षमाथि देखापरेका विकृति माथि व्यङ्ग गर्नुको साथै बालमनोविज्ञान लगायत विविध विषयवस्तुहरू समेटिएको बताउनु भयो ।

परिचर्चाकार इन्दिरा चापागाईंले लघुकथा सङ्ग्रहमा नारी पात्रको उपस्थिति राम्रो रहेको उल्लेख गर्दै लघुकथामा प्राकृतिक रूपले भरिपूर्ण नारीले अन्यायको विरुद्ध आवाज उठाएका थुप्रै लघुकथा रहेको साथै लघुकथामा समाजको प्रतिबिम्ब झल्किएको बताउनुभयो । लघुकथाका शीर्षकहरू आकर्षक र आकस्मिक र कुतूहलपूर्ण  हुनुका साथै समापन झट्कादार रहेकाले लघुकथा उत्कृष्ठ र पठनीय रहेको बताउनुभयो । वरिष्ठ साहित्यकार तथा लघुकथाकार डा. कुसुमाकर शर्माले अम्बिका धितालको जूनको जात्रामा आफूले अनुभव गरेका भोगेका समाज, घरपरिवार शैक्षिक र राजनीतिक क्षेत्रका यावत कुरालाई लघुकथाले समेटेको उल्लेख गर्दै समापन खण्ड एक वाक्यमा राख्दा लघुकथा अझै सशक्त बन्ने कुरा व्यक्त गर्नुभयो । त्यस्तै अर्का परिचर्चाकार दीपक लोहनीले भाव र विचारले युक्त लघुकथा नै कालजयी हुने र जूनको जात्रा लघुकथा सङ्ग्रहका  लघुकथाहरुमा भाव र विचार सँगसँगै आएकाले आजको समयमा लघुकथा लेख्नेहरुको भिडबाट अम्बिकाले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको कुरा बताउनुभयो ।
जूनको जात्रामा विषय र आयामप्रति सचेतता देखाइएको छ । विषयको विविधता, आकस्मिक उठान, आकारमा छोटा, विषयको प्रस्तुति, संरचनामा रोचकता र समापनलाई प्रभावकारी बनाउनु उहाँको लघुकथाको विशेषता भएको बताउनुभयो । भाव र विचारलाई सशक्त रूपमा आएको पछिल्लो समयमा प्रकाशित लघुकथा मध्ये ‘जूनको जात्रा’ सङ्ग्रहनीय कृति भएकोले सबैले एकपटक पढ्नुपर्ने कुरा  बताउनुभयो । अर्का परिचर्चाकार मनीष कुमार शर्मा ‘समित’ले लघुकथाकार शैक्षिक क्षेत्रमा कार्यरत रहेकाले सङ्ग्रहभित्रका धेरै लघुकथाहरू शैक्षिक क्षेत्रमा रहेका विकृति र  विसङ्गतिको पक्षमा व्यङ्ग्य गर्दै बाल मनोविज्ञानमा आधारित भएको कुरा व्यक्त गर्नुभयो। यथार्थपरक लघुकथा अब्बल रहेकाले लघुकथाकार अम्बिका धितालको जूनको जात्राले विशिष्ट स्थान हासिल गरेको कुरा उहाँले बताउनुभयो। अन्तिम परिचर्चाकार डा. शेखरकुमार श्रेष्ठले जूनको जात्रा लघुकथामा विषयगत विविधता भएकोले उत्कृष्ट भएको चर्चा गर्दै आगामी दिनमा बिम्ब  र प्रतीकका साथै सिद्धान्तलाई आधारित बनाएर कथा लेखनमा लाग्न हौसला दिनुभयो । उहाँले कतिपय लघुकथा लेख्दै जाँदा लघुकथा नभएर छोटा कथा बन्ने कुरामा सचेत गराउनुभयो। उहाँले वर्तमान समयमा लघुकथाकारहरूको भिडमा जूनको जात्रा पहिलो लघुकथा सङ्ग्रह प्रकाशित गरेकी लघुकथाकार अम्बिका धिताल आशालाग्दो प्रतिभा भएको कुरा प्रकट गर्नुभयो।
कार्यक्रममा खेमराज पोखरेल तथा त्रिवेणी साहित्य मञ्चका अध्यक्ष केशव बैरागी माइलोले अमेरिकाबाट र खगेन्द्र बस्यालले नेपालबाट कृतिकारलाई कृति सफलताको शुभकामना दिनु भएको थियो । उक्त  भर्चुअल परिचर्चा कार्यक्रमको सहजीकरण अमेरिका निवासी विश्वराज अधिकारी र क्यानडा निवासी डा. कुसुमाकर शर्मा गौतमले गर्नुभएको थियो भने कृतिकार अम्बिका धितालले आफूले विचार तथा भाव प्रधान लघुकथा लेख्ने गरेको  बताउनुभयो । उहाँले समाजलाई जूनको प्रतीकका रूपमा मानेको र  समाजमा विकृति, विसङ्गति, अन्याय, अत्याचार र भ्रष्टाचार जात्राका रूपमा भित्रिँदा समाज बिथोलिएकाले जूनले जसरी शीतलता दिन्छ त्यसरी नै समाजका यावत विकृति र विसङ्गति हटाउँदै शीतलता प्रदान गर्नका लागि तथा समाज सुधारमा सघाउ पुर्याउनका खातिर लेख्ने गरेको  बताउनुभयो । उहाँले कार्यक्रममा उपस्थित भएर परिचर्चा गर्नुहुने, शुभकामना दिनुहुने, सुनिदिनुहुने सबैलाई कृतिकारले धन्यवाद दिनुभयो । परिचर्चा कार्यक्रममा उपस्थित अन्य महानुभावहरूमा अमेरिकाबाट नवराज शर्मा र नेपालबाट श्याम श्रेष्ठ, मनोहर पोखरेल , रन्जु खनाल, मिसु श्रेष्ठ थपलिया, ध्रुवराज थापा, गङ्गा बस्नेत, रचना शर्मा, बन्दना घिमिरे, राजु क्षेत्री अपुरो, कल्याण पन्त, मनोहर पोखरेल,रोशन पराजुली, अन्जु शर्मा उपस्थित हुनुहुन्थ्यो ।

--------------------------------------

.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment