Wednesday, April 2, 2025

पुस्तक समीक्षा (अङ्क २२ मा प्रकाशित)


घुकथाकार रुद्र अधिकारी निर्दोषीको दृष्टि नामक लघुकथासङ्ग्रह २०८० मा प्रकाशित भएको छ । यस कृतिभित्र उनले लेखेका छोरी, नजिर, इज्जत, तुल्यता, बहिष्कार, वेपत्ता, बिजेता, अज्ञात लगायत विभिन्न शीर्षकका ६६ वटा लघुकथाहरू राखिएका छन् । यसमा सङ्गृहीत ६६ वटै लघुकथा पाठकलाई प्रभावकारी रुपमा आकर्षित गर्न सक्षम रहेका छन्‌ । यस सङ्ग्रहभित्रको छोरी शीर्षकको पहिलो लघुकथामा छोरो भएन भने वंश नास हुन्छ, लाछी कुरो नगर माहिला मर्दका दुइटी स्वास्नी भएर केही बिग्रिंदैन भनेर आमाले भनेकी छिन् । यस कृतिभित्रको इज्जत शीर्षकको लघुकथामा शिलापत्रको अनावरण गरी वृद्धाश्रमको नवनिर्मित भवन उद्घाटन गर्नका लागि माननीय मन्त्रीज्यूलाई अनुरोध गरियो । मन्त्रीले रातो कपडाले छोपिएको शिलापत्रको सुर्काउनी ताने । उपस्थित सबैले ताली बजाए । उद्घोषकले मन्त्रीलाई धन्यवाद दिँदै शिलापत्रमा लेखिएका कुरा पढेर सुनाए । मन्त्रीले वृद्धाश्रम भवनको उद्घाटन गर्न पाउँदा आफू गौरवान्वित भएको भाषण गरे भनिएको छ । 

लघुकथा भन्ने शब्दले छोटो कथा भन्ने अर्थ दिन्छ तर अङ्ग्रेजी साहित्यमा भने जति लामो कथालाई पनि सर्ट स्टोरी भन्ने चलन छ । वहिष्कार शीर्षकको लघुकथामा दाइले अड्डी कसेको देखेर कान्छाले भन्यो, “तपाईंलाई थुने भने सोर्सफोर्स लगाएर निस्कनुहोला तर वीरेलाई कति चित्त दुख्यो होला ? उसले किन अपहेलित हुनुपर्ने ? ऊ पशु त होइन नि ? वीरेलाई गरेको जातीय भेदभाव र छुवाछुत सम्झेर कुनै दिन तपाईंले पछुताउनुपर्ने छ, दाइ !” दाइले अँध्यारो मुख लगाए भनेर अधिकारीले लेखेका छन् ।  थोरै लेखेर पनि गुणस्तरमा ध्यान दिन सके कृतिको महत्व बढ्नेछ । यस तथ्यलाई लघुकथाकार अधिकारीले मनन गरेका छन् । 

अज्ञात शीर्षकको लघुकथामा नगरपालिकाले बाबुको नामबिना जन्मदर्ता गर्न मिल्दैन भनेपछि रेखा न्यायालयको ढोका ढकढक्याउन पुगेकी थिइन् । उनले अदालतमा कुनै परपुरुषसँग संसर्ग नगरेको जिकिर गर्दै भनिन्, “एक रात कसैले सहवास गरेको जस्तो अनुभव भएर म ब्युँझिएको थिएँ । तर त्यो सहवास नभई ऐंठन वा सपना थियो । त्यसपछि म फेरि सुतेँ । त्यसैले मेरो कुनै पुरूषसँग सहवास भएकै छैन” भनेको छ । यसभित्र ६६ वटा लघुकथा गाँसिएका छन् । विषयवस्तुका हिसाबले बहुमुखी छन् । राजनीतिक, विसङ्गति, सामाजिक विडम्बना, आर्थिक विपन्नता, बौद्धिक दयनियता, सांस्कृतिक विचलन जस्ता कुराहरूमा अधिकारीका लघुकथाहरूले व्यङ्ग्य गरेको छ । भाषा सरल छ । कसिएको छ । प्रस्तुुति मिठो छ । सुुरम्य छ । लघुत्व छ । सङ्क्षिप्त छ । पढ्दा निकै आनन्द आउँछ । 

लघुकथा आख्यान विधा भएकाले यसको लेखनमा स्रष्टा सचेत हुनुपर्छ । स्रष्टाले लघुकथा लेखनका लागि समाजमा घटेका घटनाहरूको सूक्ष्म निरीक्षण गरेर, इतिहास, पुराण वा मिथक वा आफैले गरेको कल्पनाबाट प्राप्त गर्छ । यसरी कथाकारले लिने कथानकको स्रोत जेभए पनि लघुकथा लेखनमा प्रयोग हुने कथानकमा भने विशेष ध्यान दिन जरूरी छ । 

सङ्ग्रहभित्रका पात्र, परिवेश र घटना हाम्रै समाजमा देखिएका सुनिएका र भोगिएका छन् । मान्छेका प्रवृत्ति र उसले बिर्संदै गएको आफ्नो धरातल तथा हराइरहेको मानवीय संवेदनालाई पनि यस कृतिले आफ्नो विषय बनाएको छ । आशावादी भएर समाजका विकृतिलाई निर्मूल पारेर एउटा सुन्दर समाज निर्माण गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि यस सङ्ग्रहभित्रका कथा सक्षम छन्‌ । स्रष्टा एउटा समाजको द्रष्टा पनि भएकाले ऊ यो समाजबाट अलग हुन कत्ति पनि सक्दैन । यही समाजमा रहेका सङ्गत, बिसङ्गत सबै कुरासँग पौँठाजोरी खेल्नु नै पर्छ । चोर शीर्षकको लघुकथामा चोरले झोला लुकाउन खोजेकाले एकछिन घम्साघम्सी चल्यो । त्यत्रा मानिसको सामुन्ने जाबो एक चोरको के सिप लाग्थ्यो र ? धर्र.. धर्र.. झोला च्यातियो । झोलाको सबै सामान छताछुल्ल भयो । पोखिएको सेतो धुलोले चोरको अनुहार नचिनिने गरी ढाक्यो । चोरले राम धुलाइ खायो भनिएको छ । 

सती शीर्षकको लघुकथामा “तल्लो जातसँग विवाह गर्‍यो भनेर यो समाजले साह्रै अपहेलना गर्‍यो । कानुनले छुवाछुतको अन्त्य भयो भन्दैमा कहाँ हुँदोरहेछ र ? व्यवहारमा छुवाछुत ज्युँकात्युँ छ । यस्तो विभेद कहिलेसम्म सहने ? म त थाकिसकेँ । अब म आत्महत्या गरेर मर्छु ।”, माहिलो बर्बराउँदै थियो । 

उनले लेखेका लघुकथामा व्यङ्ग्यचेत प्रखर भएर आएको देखिन्छ । समाजका बिसङ्गति–असङ्गति तथा विकृति माथि व्यङ्ग्य प्रहार गर्नु प्रमुख अभिध्यय रहेको छ । प्रस्तुत लघुकथा सङ्ग्रहका देश, काल र परिस्थितिहरू समसामयिक समाज मैत्री परिवेश रहेका छन् । 

धन्न ! छोरीलाई नर्स पढाएछन् । पाइपबाट खुवाउने, सुई हान्ने, पिसाबको पाइप हप्तैपिच्छे फेर्ने र समय समयमा औषधी खुवाउने काम सबै उनैले धानेकी छन् भनिएको छ । प्रस्तुत लघुकथासङ्ग्रहका देश, काल र परिस्थितिहरू समसामयिक दैनन्दिन जीवनको समाजमैत्री परिवेशमा आधारित रहेका छन् । सामाजिक आदर्श चेतको स्थापनाका लागि यथार्थ जीवनको घटना र पात्रीय सन्दर्भको आदर्श कथनलाई लघुकथाहरूले यथार्थको झल्को दिनेछन् । 

यस सङ्ग्रहभित्रको आनन्द शीर्षकको लघुकथामा घरमा ऊ एक्लै थियो । पानी माग्ने बहानाले उसले सुन्तलीलाई बोलायो । सुन्तली आई । टेबुलमा पानी राखेर चुकुल लगाउन भन्यो । उसले त्यसै गरी । सुन्तलीले आफ्नो शरीर उसैलाई सुम्पी । होस–बेहोस, पीडा– आनन्द केही समयका लागि जसरी आयो त्यसै गरी गायब भयो । रगत बगेर खुट्टासम्म पुगेर रोकिए भनिएको छ । 

कथा आफैमा पूर्ण भएजस्तै लघुकथा पनि स्वयम्‌मा पूर्ण हुन्छ । अर्थात् लघुकथा कथाको संक्षेपीकरण होइन । लघुकथा आख्यानको लघुतम वा सूक्ष्मम विधा हो । लघुकथा छोटो हुन्छ तर पूर्ण हुन्छ । छोटो आयाममा जीवन र जगत्‌लाई समेट्नु लघुकथाको विशेषता हो । लघुकथा लोकप्रिय भएकै कारण यसप्रति लेखनको आकर्षण बढ्दै गइरहेको छ । 

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment