Wednesday, April 2, 2025

समालोचना (अङ्क २२ मा प्रकाशित)


पाठकवृन्द, तपाईंले किसानप्रेमीको नाम त सुन्नुभएको छ नि ? अनि तपाईं उनलाई चिन्नुहुन्छ कि हुन्न ? मैले चाहिँ किसानप्रेमीलाई चिनेको जम्मा साँढे दुई दशक भयो । ठ्याक्कै तिथिमिति त थाहा छैन, तर २०५८ सालतिर हो, उनीसँग पहिलोचोटि भेट भएको । उनी जागिरका सिलसिलामा चितवन सरुवा भएर आएपछि हो, उनीसँग प्रत्यक्ष भेट भएको । त्यसपछि उनी चितवनमा निरन्तर बसिरहेका छन् र उनीसँग मेरो निरन्तर भेटघाट पनि भइरहेको छ । उनीसँगको हरेक भेट विशेषजस्तो लाग्छ मलाई । उनका अनुभव सुन्दा लाग्छ, म विशाल महाकाव्य वा बृहत् उपन्यास पढिरहेछु । 

त्यसो त किसानप्रेमीले छ दशकभन्दा लामो जीवन गुजारिसकेका छन् । उनको नागरिकतामा लेखिएको नाम हो, किसान वि.क. खाती । जातले विश्वकर्मा भएका कारणले उनले जीवनमा विभिन्न खालका उत्पीडनहरू भोगेका छन् । नेपालमा आजका दिनसम्म पनि त्यसको अवशेष बाँकी नै छन् । नवराज वि.क.हरू त्यसका ज्वलन्त उदाहरण हुन् । किसानले त्यस्ता पीडा त कति खपे कति ? ती पीडा र उत्पीडनका कुरालाई लेख्ने हो भने कम्तीमा पनि तीन–चारवटा ठुला–ठुला कृति नै बन्न सक्छ होला । उनका खण्डकाव्य, गजल र लघुकथामा त्यसका झिल्का मात्र उतारिएका छन् ।

'झुपडीको व्यथा’मा जातीय दलन  


पाठकवृन्द, मैले पहिले नै भनिसकेँ, किसानप्रेमी आफैँ जातीय दलन भोगर हुर्केका नेपाली नागरिक हुन् । यसर्थ उनको लेखनमा त्यो आउनु स्वाभाविक हो । देख्नु र भोग्नु फरक कुरा हो । जसले देखेर लेख्छ, त्यो सतही हुन्छ भने जसले भोगेर लेख्छ, त्यो वास्तविक हुन्छ, हृदयस्पर्शी हुन्छ । यो छोटो आलेखमा झुपडीको व्यथाको समग्र विषयवस्तुको चित्रण नगरी त्यसमा जातीय दलनका कुरा के कसरी आएका छन् भन्ने कुराका बारेमा छोटो चर्चा गर्न लागिएको छ :

किसानप्रेमी 'विडम्बना’ कथामा मन्दिरको कुरा गर्दै पूजा गर्नका लागि पनि दलित र गैरदलितका बिचमा विभेद भएको कुरा उठाउँछन् । भगवान् पनि दलितका लागि छुट्टै हुने कुराको उठान गर्दै उनले कथित उपल्ला जातकाले मन्दिरभित्र पसेर पूजा गर्ने तर दलितले मन्दिरबाहिर नै पूजा गर्नुपर्ने अवस्थाको चित्रण यसरी गरेका छन् :

मैले ती महिलाहरूलाई हेरिरहेको थिएँ । ती दुई महिलाले मन्दिरको ढोकाभित्र नपसी ढोकामै पूजा गरेर ढोग गरे । फर्कंदा पुजारी बाजेलाई पनि ढोग्दै गएको देख्दा आश्चर्य मान्दै मैले पुजारी बाजेलाई सोधेँ – “ती महिलाहरूले किन ढोकामै पूजा गरेको हँ पुजारी बाजे ?”

पुजारी बाजेले भने –“ती दलित महिला थिए । तिनलाई छुनु हुँदैन ।
तिनलाई मन्दिर प्रवेशमा निषेध छ ।”
(पृ. १७)

त्यस्तै उनी ‘ऐनाको टुक्रा’ कथामा दलितले छोइदिँदा अपवित्र हुने कुरालाई उठाउँछन् । सन्ते नामको दलितले कथित उपल्लो जातको कृष्णको दूधको भाँडो छोइदिएको आरोपमा उसलाई कुटपिट मात्र गरिएको छैन, उल्टो हर्जाना तिराउनका लागि समाजका मान्छेहरू जम्मा भएको सन्दर्भलाई कथामा यसरी उतारिएको छ :

सन्तेले कृष्णको दुधको भाँडो छोइदिएको आरोपमा सन्तेलाई दण्ड–जरिवाना गर्न गाउँलेहरू जम्मा भएका छन् । कृष्णेले पिटेर सन्तेको नाकबाट रगत बगिरहेको देखिन्छ । कृष्णेले अझै घरिघरि झम्टिँदै छ सन्तेलाई । “हातले पो छुन नहुने, लौरोले त हुन्छ” भन्दै खुट्टा खुट्टामा सोठ्याउँदै छन् सबैले । (पृ. १७)


उनी ‘भुमरीमा परेको कथा’मा कतै यात्रामा निस्कन लाग्दा दलितलाई देखेमा अपशकुन हुने अन्धविश्वासका कारण दलितहरूमाथि पर्ने गरेका समग्र भावनात्मक तथा मनोवैज्ञानिक असरलाई उतारेका छन् । हर्के नामक दलित धनप्रसाद नामक गैरदलित तथा समाजको हुने खाने कहाँ एकाबिहानै जाँदा उसलाई मालिकको सवारी हुन लागेकाले लुक्न भनेर दिइएको आदेशलाई कथाकारले यसरी उतारेका छन् :

धनप्रसादको घरको आँगनमा हर्के टुक्रुक्क बसिरहेको थियो । धनप्रसाद नुहाई–धुवाई गरी खाजासमेत खाएर गाउँतिर टहल्ने उद्देश्य बनएर घरबाट निस्कन लागेको थियो ऊ निस्कनुअघि उसको कामदार आएर हर्केलाई भन्यो – “मालिकको बाहिर सवारी हुन लागेको छ ।  एक छिन यसो ओझेल पर । फेरि मालिकको साइत पर्दैन ।” हर्के लुरुक्क आँगनको ठुलो कुन्युको पछाडि लुक्यो । (पृ. ४२)

कथाकार किसानप्रेमी मुख्य विषय चेतना हो । उनी ‘खै चेतना ?’ शीर्षकको लघुकथामा शिक्षालाई मुख्य ठान्दै गाउँको विकासका लागि शिक्षा अपरिहार्य छ भन्ने धारणा राख्छन् । गाउँमा विद्यालय बनाउनका लागि दलित र गैरदलित मिलेर काम गरेको सन्दर्भलाई यसरी उतारेका छन् :

आफ्नो गाउँ आफैँ बनाऊँ भन्दै गाउँमा स्कुल बनाउन सबै जुटिरहेका छन् । प्रत्येक घरधुरीबाट एक – एक जनाले श्रमदान गनुपर्ने गाउँलेको निर्णय भएको छ । गाउँ सानो भए पनि सबै जातजातिको बसोबास छ त्यहाँ । आइतबहादुर नेपालीको छोरो फुरुक्क छ पढ्न पाइने भो भनेर । (पृ. ४६)

काम सँगै गरे पनि सुविधाबाट भने दलितहरूलाई बञ्चित गराउने प्रचलन हाम्रो समाजमा विद्यमान छ । सोही कथामा सबै गाउँलेसँग मिलेर विद्यालय बनाएको भए पनि विद्यालय बनिसकेपछि आइतबहादुर नामक दलितको छोरालाई पढ्नबाट कसरी बञ्चित बनाइयो भन्ने कुरालाई उनले यसरी चित्रण गरेका छन् :

आइतबहादुर पनि छोरालाई लिएर भोलिपल्ट स्कुल पुग्यो । छोरालाई भर्ना गर्न ल्याएको भनेपछि सबै एक – आपसमा मुखामुख गर्दै एउटाले भन्यो – “केटाकेटी भर्ना गर्न त सञ्चालक समितिको सिफारिस चाहिन्छ । अक्ष्यक्षको सिफारिस लिएर आउनुस्, हुन्छ ।” 

आइतबहादुरले भन्यो – “अरुको त सिफारिस नल्याई भयो अरे ?” (पृ. ४७)

उनले ‘चेतनामूलक विज्ञापन’ शीर्षकको कथामा शिक्षक भए पनि जातका आधारमा कसरी भेदभाव गर्छन् भन्ने कुरालाई चित्रण गरेका छन् । मनोज सरले सुचिकारकारको छोरा भएका कारण हरिलाई कसरी भेदभाव गर्ने गर्छन् भन्ने कुरा रीता र उसका बुबाको संवादका माध्यमबाट यसरी चित्रण गरेका छन् :

रीता केहीबेर नबोली बसिन् तर उनको मनभित्र प्रश्नको छाल उठिरहेको थियो । उनले फेरि बुबालाई सोधिन् – “बुबा ! मनोज सरको घरमा टिभी छ ?” रीताले हातको पार लाउँदै पुनः भनिन् – “हाम्रो कक्षाको हरिलाई मनोज सरले साह्रै हेप्नुहुन्छ । कहिले – तेरो बुबासँग लुगा सिउन छोडेर के को पढ्न आइस् ? भनेर हप्काउनुहुन्छ ।”
(पृ. ५७)

हामी धर्म र संस्कृतिमा निकै विश्वास गछौँ । विभिन्न पर्वमा विभिन्न खालका पूजाआजा गर्छौ । यही कुरा ‘कुकुर तिहार’ कथामा आएको छ । सेती बज्यै कथित उपल्लो जातका भएका कारण घरमा कुकुर नभएकाले कुकुर तिहारमा कुकुरको पूजा गर्नका लागि छोरालाई कुकुर भएको मदनकहाँ कुकुर लिन पठाउँछिन् । मदनले सिक्रीमा बाँधेर कुकुर ल्याउँछ । पूजा गर्ने क्रममा छोइने डरले मदनलाई सिक्री छोडिदिन आग्रह गर्छिन् । यसरी जनावरचाहिँ नछोइने तर जनावर पाल्ने मदनसँग छुन नहुने रुढिवादी संस्कार र जातीय दलनका कुरालाई लेखकले यसरी उतारेका छन् :

सेती बजैले मदनले कुकुरको सिक्री समाएको देखेर पूजा गर्न अन्कनाउँदै भनिन् – “ए मदन ! मैले पूजा गरिन्जेल कुकुरको साङ्लो नछो न ।”

छोरा खितित्त हाँस्यो अनि भन्यो – “पूजा गर्दै हुनुहुन्छ कुकुरको, मान्छे छोइन्छ कि भनेर डराउनु हुन्छ ।”
(पृ. ६७)

हाम्रो समाजमा अझै पनि कतिपय खराब परिपाटीहरू प्रचलनमा छन् । जातले कामी भएकै कारण उनीहरूलाई यात्रा गर्नुअघि देखेमा साइत पर्दैन भनेर ठान्ने कथित उपल्ला जातको चिन्तन खराब हो । यही कुरालाई ‘कुत्सीत परिपाटी’ कथामा लेखकले यसरी चित्रण गरेका छन् :

मदनले मनमनै अब छोरी ठुली भैसकी, राम्रो घरको केटा माग्न आए दिनुपर्छ कि भन्ने कुराहरू खेलाउँदै थियो । उता सुशीलाले एक्कासि बालाई सोधिन् – “ बा ! विष्टहरूले कामी (विश्वकर्मा) लाई देखेपछि साइत पर्दै भन्दा रै’छन्, किन होला ?” (पृ. ८५)

यसरी जातका आधारमा गरिने भेदभाव, होचोहेलो, तिरस्कार, उत्पीडन अझै हाम्रो समाजमा विद्यमान छ । यस्ता विभेदका कारण समाजमा बस्ने बासिन्दाले विभेदको सिकार हुनुपरेको छ । यसका बारेमा लेख्नु आजको टड्कारो आवश्यकता हो । यस्ता विभेदकारी व्यवहार गर्नेका बारेमा कलमका माध्यमबाट भण्डाफोर गर्ने किसानप्रेमीको कलमलाई शतशत नमन गर्छु म ।

साहित्यकारले जातीय दलन हटाउन के गर्न सक्छ ?

पाठकवृन्द, साहित्यकार भनेको समाजको बेथिति, विकृति र विसङ्गतिको कलात्मक रूपमा चित्रण गर्ने व्यक्ति हो । उसले कलमका माध्यमबाट सिङ्गो समाज र सत्तालाई सचेत गराउन सक्छ । उसले गर्ने भनेको त्यत्ति हो । ऊ झन्डा बोकेर आन्दोलनमा हिँडेको सुहाँउदैन, भलै आन्दोलनका बेलामा ऊ चुप लागेर बस्दैन । त्यस्ता आन्दोलन सधैँ त हुँदैन नि । तर साहित्यकारको कलम आन्दोलन कहिल्यै रोकिँदैन । 

साहित्यकार मनदेखि सधैँ आन्दोलनरत व्यक्ति हो, ऊ निरन्तर आन्दोलन गरिरहेको हुन्छ आफ्नो कलमरुपी हतियारका माध्यमबाट । यसर्थ ऊ निरन्तर लेखिरहेको हुन्छ । उसलाई विश्वास हुन्छ, उसले उठाएको मुद्दाले एक दिन अवश्य समाधान पाउने छ । यही विश्वासका साथ किसानप्रेमी पनि निरन्तर कलम चलाइरहेका छन् । हामीलाई पनि विश्वास छ, एक न एक दिन यो समाजमा समताको स्थिति हुने छ, सबैमा समभावको विकास हुने छ, सबै मिलेर गाउने छन्, “सर्वे भवन्तु सुखिनः ।” किसानप्रेमी मानवतावादी साहित्यिक यात्रालाई हजार तोपको सलाम । उनको ‘झुपडीको व्यथा’लाई अपार माया । भवतु सब्ब मङ्गलम् !

–लेखक अक्षर समूह चितवनका अध्यक्ष हुनुहुन्छ । 

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment