Thursday, June 5, 2025

लघुकथा (अङ्क २४ मा प्रकाशित)


"मेरा तीनवटी छोरीहरू छन् ।” मैले उस्को प्रश्नको उत्तर दिएँ ।

– “ए… छोरीहरू भएकै राम्रो । छोरा काम लाग्दैनन् दिदी । तपाईं त भाग्यमानी ।” उस्ले मेरो जवाफ पाएपछि यसै भनी ।

म वल्लो बेडमा ऊ पल्लो बेडमा आ–आफ्नै रोगको कारणले थेरापी गर्दै थियौं ।

घरी घरी फोनमा बाहिर भएका छोरासँग उसको कुरा पनि हुँदै थियो । मानौं बिरामी आमाको परदेशी छोराले खुब चासो लिइरहेको थियो । पैसा हाली दिने कुरो पनि चल्दै थियो ।

भोलिपल्ट फेरि उसरी नै हामी आ–आफ्नै बेडमा लडेका थियौं । छेउमा उस्को कान्छो छोरो पनि आमालाई रुँग्न बसेको थियो । आमालाई ल्याउने, लैजाने ड्युटी सायद उसैको थियो ।

भोलिपल्ट फेरि उसैले कुराको सिलसिला शुरू गरी । –“दिदी छोरीहरू कता कता छन् ?” मैले सटिकमा जवाफ दिएँ । फेरि मेरो जवाफ सकिन नपाउँदै उस्ले भनी । –“दिदी तपाईं त भाग्यमानी । छोरीहरू मात्र रहेछन् ।”

फेरि पनि यस्तै जवाफ सुन्दा अब चाहीँ मलाई पनि अत्ति भो र भनें । –“बहिनी तपाईं छोरा काम लाग्दैनन् भनेर भन्नु हुन्छ । तपाईंलाई स्याहार्ने छोरा नै देख्दैछु त ! के तपाईं चाहीँ अभागी?” (छेउमा उभिएको उस्को छोरालाई) ईंगित गर्दै मैले भनें ।  îîî

मेरो जवाफले उसले अन्कनाउँदै भनी । –“हैन नि ! दिदी, छोरीले आमाको सबै कुरा बुझ्छन् । आमाको लाउने के छ? छैन बुझेर ल्याई दिन्छन् तर छोराले त !” भन्दै ओंठ लेर्प्याई ।

मैले भनें–“ त्यो त छोरा र छोरीको प्राकृतिक गुण हो । छोरीले जस्तै आमाको पेण्टी, ब्रा छ, छैन? भनेर छोराले कहाँ सोध्छ त? उनीहरूले झनै ठुलो जिन्मेवारी वहन गर्दैछन् त ! योभन्दा के चाहियो ? तपाईं पनि  भाग्यमानी ।”

मेरो वाक्यले उसँगै उभिएको उस्को छोरा पनि नतमस्तक भयो । फेरि अन्त्यमा मैले भनें । –“छोरा र छोरीको धेरै, थोरै माया भन्ने हुन्न । प्रकृतिले नै उनीहरूको व्यवहारमा फरक देखाएको मात्र हो । उनीहरूको आ–आफ्नै जिम्मेवारी हुन्छन् । हाम्रो बुझाईमा मात्र छोरा र छोरीको मायामा भिन्नता देखिएको हो बहिनी ।”

यति भनेर म आफ्नो थेरापी सकिएर बाटो लागें । ऊ पनि छोराको काँधको भर लिएर बाहिर निस्किंदै थिई ।

– अमेरिका हालः काठमाडौँ

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment