Friday, June 6, 2025

लघुकथा (अङ्क २४ मा प्रकाशित)


चौध वर्षको अमेरिका बसाइपछि चित्रप्रसाद कविराजको नाति इन्द्रप्रसाद बाजे बज्यै भेट्न नेपाल फर्किए । मान्छन् भने उनीहरूलाई अमेरिका लैजाने विचार थियो उनको ।

नातिसँग भेट भएपछि कविराज दम्पति औधी खुशी भए । अमेरिका जान नमानेपछि नातिले सोधे – "अमेरिका जान मान्नुभएन हजुरहरू ! अरु मनको इच्छा के के छन् भन्नुस्, म पूरा गर्छु ।"

बूढाले भने–  "हाम्रा तीनवटा रहर छन् । पहिलो, बुढाबुढी भएर मुक्तिनाथ दर्शन गर्ने । दोस्रो, हामी दुवैको चौरासी पूजा भव्य रुपमा लगाउने । तेस्रो, ज्यामिरेफाँटमा रहेको बाजेको पालाको काठको पाटीलाई ढलान गरेर नयाँ बनाउने । यति भए हामीलाई पुग्यो ।"

सानैमा आमाबाबु गुमाएका इन्द्रप्रसादले बाजेबज्यैको अन्तिम इच्छा सहजै पूरा गरिदिए र अमेरिका फिरे । लगत्तै शनिबारे सत्सङ्मा कविराजले  सबैसित भने–  "मेरो नाति अमेरिका बसे पनि नेपालको औधी माया गर्छ ।"

– चुँदी, तनहुँ हालः मातातीर्थ, काठमाडौँ

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment