Friday, June 6, 2025

लघुकथा (अङ्क २४ मा प्रकाशित)


"खबरदार ! न उठ् । माथि जान हुँदैन । माथि खतरा छ ।’’ माटो र चिसोपना पाएर अङ्कुराउँदै गरेका दुईवटा बोडीका बिजमध्ये एउटाले भन्यो ।

उसको कुरा सुनेर अर्को बीजले उत्साहित हुँदै भन्यो "हेर साथी ! गुम्सिएर बस्नु जीवन होइन । माथि बस्नेका जीवन पनि त बुझ्नु पर्छ । मनमा डरको भारी बोकेर माटोमै सडेर बसेर के फाइदा ?’’ भन्दै उसले जमिनको पत्र छिचल्यो र बाहिरी संसारमा टाउको निकाल्यो । 

कलिलो घाम, सरर बहिरहेको हावा, हल्का वर्षा र हाँसो र खुसीमा हल्लिएका रुख बिरुवासँग उसको भेट  भयो । सबैलाई देखेर ऊ खुसीले फुरुङ्ग भयो । ऊ पनि बिस्तारै झ्याङ्गिदै गयो, आफूलाई परिपक्क बनाउँदै लग्यो । केही समयपछि फुल्दै फल्दै असंख्य बिज उत्पादन गर्न थाल्यो । उम्रिएका बीजले पनि उसरी नै हुर्किएर आ–आफ्नो सृष्टि सुरू गरे । 

यतिखेर उसले माथि आउन नमानेको भ्रूणलाई सम्झियो ।

उसले सोच्यो,  "बिचरा ! बेवारिस भएको होला । जीवन नभोगी मर्नेको यस्तै चाला हुन्छ ।’’

– सानेपा, ललितपुर

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment