निर्मलाको मेसेन्जरमा माइतघर भाउजुबाट एउटा निम्तो आयो । त्यसमा लेखिएको थियो, तीजको हार्दिक शुभकामना निर्मला नानी । बधाई छ, छिटै हामी एउटा होटलमा भव्य पार्टीको आयोजना गर्दैछौँ । भोलिपल्ट अर्को निम्तो आयो, तीजको उपलक्ष्यमा ११ बजेदेखि ४ बजेसम्म होटल उत्तर आधुनिक ग्रील, नयाँ सडकमा चेलीबेटीहरूको सामुहिक पार्टीको आयोजना गरिएको छ । इच्छुक चेलीबेटीहरूले होटलमा प्रतिव्यक्ति दुई हजार रुपैयाँका दरले अग्रिम रकम जम्मा गर्नुपर्ने छ । चेलीबेटी सबैलाई खबर गरी दिनु होला ।
निर्मलाले माइतमा फोन गरेर भाउजुलाई सोधिन्, “होटलको मेनुमा के के खानेकुरा हुन्छ भाउजु ? खिर पनि हुन्छ ?” भाउजुले भनिन्, “धत् त्यो गाउँले पाराको खिर कहाँ हुन्छ त होटलमा ! माछा, मासु, बियर ह्विस्की जस्ता आधुनिक परिकार पो हुन्छन् त नानी !”
निर्मलालाई लाग्यो, “खिर नभएको तीजमा के भेला हुनु ! घरमा बुहार्तन गरेर थाकेका बुहारीहरूलाई वर्षदिनमा बल्लतल्ल माइतघरमा आत्मीय भेटघाट गराउने अवसर जुटाउने पवित्र चाड तीज पनि अब भत्केछ र उत्तर आधुनिक भएछ । पैसा खर्च गर्न नसक्ने चेलीहरूले अब तीजमा माइतघर नसम्झे पनि भयो ।
– टोखा–६, धापासी
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment