सुमन सर आफ्नो कक्षामा विद्यार्थीहरूको गृहकार्य हेर्दै हुनुहुन्थ्यो । अघिल्लो दिन दिएको गृहकार्यमा उहाँले शरीरका विभिन्न अङ्गहरूका कामका बारेमा लेख्न भन्नुभएको थियो । कापी हेर्दै जाने क्रममा एउटा कापीको उत्तरमा उहाँका आँखा टक्क अडिए । लेखिएको थियो, “रुन बनेका आँखा, दुख्न बनेको मन ।’’ यो देख्ने बित्तिकै उहाँलाई अचानक भित्रभित्रै सयौं सियोहरुले एकैपटक रोपे जस्तो महसुस भयो ।
उहाँ कताकता हराएर एकोहोरो बन्न पुग्नुभयो । यो देखेर सहारा बोलिन्, “सर मेरो कापी दिनुहोस् ।’’ यो सुन्नासाथ सुमन सर झसङ्ग हुनुभयो र सोध्नुभयो, “यो उत्तर तिमीले आफै लेखेको हो ?’’ डराउँदै सहारा बोलिन्, “होइन आमाले सिकाइ दिनुभएको हो ।’’ उनको उत्तर भुइँमा खस्न नपाउँदै उहाँले सोध्नुभयो, “तिम्रो आमाको नाम के हो?’’ “रमा’’ सहारा डराउँदै बोलिन् ।
यो उत्तरले सुमन सरको हृदयभित्र भुइँचालो गए झैँ भयो । थाहा नपाई सहाराको टाउकोमाथि मायालु स्पर्शले हात राख्दै गर्दा उहाँ निकै भावुक बन्न पुग्नुभयो । जब घन्टी बज्यो र उहाँ बाहिरिनु भयो, उहाँका आँसु उहाँभन्दा पहिले नै बाहिरिसकेका थिए ।
– अर्घाखाँची हालः गोदावरी– १३, ललितपुर
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment