'सबैलाई निमन्त्रणाको कार्ड पुग्यो नि ! कतै बेखामान साहुलाई त छुटाइनस् !’ हरिरामले कार्ड बाँड्न खटाइएको केटालाई सोधे ।
'पुग्यो ठूलाबा !’ उसले उत्तर दियो ।
'जेभए पनि साहु हुन्, अरुले भन्दा दक्षिणा पनि दुईचार पैसा बढी नै राख्लान् !’ हरिरामले बेखामानलाई विशेष पाहुनाका रुपमा राखेका थिए ।
बुढेसकालमा जन्मिएको हरिरामको एउटै छोरो, जम्मा सात वर्षको भएको थियो । उमेर साढे तीन बीस काटिसकेका हरिरामले 'जनैको डोरो झुण्ड्याइदिन पाए पुक्लुक्क भएछु भने पनि पिण्डपानी यसैले चलाउला !’ भन्ने सोचेर छोराको ब्रतबन्ध गर्ने निधो गरेका थिए ।
व्रतबन्ध सकियो । कोट पाइण्ट लगाएर केटो टीका थाप्न कुर्सीमा बस्यो । सबैको नजर केटातिर थियो । केटाको ध्यान टीका लगाइदिन आएकाहरूको हातमा थियो । दक्षिणा स्वरुप कसैले खाम दिएका थिए, कसैले देखिने गरी पैसा दिएका थिए । केटाले टीका थाप्दै खाम र पैसा सहयोग गर्न नजिकै बसेकी हजुरआमालाई दिंदै गरेको थियो । हजुरआमाले दक्षिणा झोलामा संगालिदिएकी थिइन् ।
पाहुनाको स्वागत सत्कार गरिरहेका हरिराम कतिबेला बेखामान साहु आउलान् र स्वागत गरौंला भनेर आतुर थिए । उनको नजर घरिघरि बाहिरतिर पुगिरहेको थियो ।
बेखामान साहु सुटेड बुटेड भएर आइपुग्यो । 'ल ल पहिला भोजन लिऊँ, त्यसपछि …!’ हरिरामले अति नै गरेर बेखामान साहुलाई पहिला भोजन गराए ।
भोजनपछि बेखामान साहु हातमा खाम बोकेर केटाको अघिल्तिर उभियो । टीका लगाइदियो र हातमा खाम राखिदियो । केटाले अघिल्लो दिन बुवाको मुखबाट बेखामान साहुको ’प्रशस्ति’ सुनेको थियो ।
खाम हातमा परेपछि केटो चलायमान देखियो ।
बेखामान साहुले दिएको खामभित्र ओैंला छिराएर पैसा तान्न खोज्यो । खामभित्र पैसा फेला परेन ।
बायाँ हातले रित्तो खाम उचालेर केटाले 'बेखामान अंकल !’ भनेर बोलायो । हरिराम ट्वा परेर छोराको मनोदशा हेरिरहेका थिए ।
भीडभित्र छिरेको बेखामान साहु भीड छिचोल्दै लुसुक्क घरतिर लस्किसकेको थियो ।
– चितवन
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment