Saturday, June 7, 2025

लघुकथा (अङ्क २४ मा प्रकाशित)


'सबैलाई निमन्त्रणाको कार्ड पुग्यो नि ! कतै बेखामान साहुलाई त छुटाइनस् !’ हरिरामले कार्ड बाँड्न खटाइएको केटालाई सोधे । 

'पुग्यो ठूलाबा !’ उसले उत्तर दियो । 

'जेभए पनि साहु हुन्, अरुले भन्दा दक्षिणा पनि दुईचार पैसा बढी नै राख्लान् !’ हरिरामले बेखामानलाई विशेष पाहुनाका रुपमा राखेका थिए । 

बुढेसकालमा जन्मिएको हरिरामको एउटै छोरो, जम्मा सात वर्षको भएको थियो । उमेर साढे तीन बीस काटिसकेका हरिरामले 'जनैको डोरो झुण्ड्याइदिन पाए पुक्लुक्क भएछु भने पनि पिण्डपानी यसैले चलाउला !’ भन्ने सोचेर छोराको ब्रतबन्ध गर्ने निधो गरेका थिए । 

व्रतबन्ध सकियो । कोट पाइण्ट लगाएर केटो टीका थाप्न कुर्सीमा बस्यो । सबैको नजर केटातिर थियो । केटाको ध्यान टीका लगाइदिन आएकाहरूको हातमा थियो । दक्षिणा स्वरुप कसैले खाम दिएका थिए, कसैले देखिने गरी पैसा दिएका थिए ।  केटाले टीका थाप्दै खाम र पैसा सहयोग गर्न नजिकै बसेकी हजुरआमालाई दिंदै गरेको थियो । हजुरआमाले दक्षिणा झोलामा संगालिदिएकी थिइन् ।

पाहुनाको स्वागत सत्कार गरिरहेका हरिराम कतिबेला बेखामान साहु आउलान् र स्वागत गरौंला भनेर आतुर थिए । उनको नजर घरिघरि बाहिरतिर पुगिरहेको थियो । 

बेखामान साहु सुटेड बुटेड भएर आइपुग्यो । 'ल ल पहिला भोजन लिऊँ, त्यसपछि …!’ हरिरामले अति नै गरेर बेखामान साहुलाई पहिला भोजन गराए । 

भोजनपछि बेखामान साहु हातमा खाम बोकेर केटाको अघिल्तिर उभियो । टीका लगाइदियो र हातमा खाम राखिदियो । केटाले अघिल्लो दिन बुवाको मुखबाट बेखामान साहुको ’प्रशस्ति’ सुनेको थियो ।  

खाम हातमा परेपछि केटो चलायमान देखियो ।

बेखामान साहुले दिएको खामभित्र ओैंला छिराएर पैसा तान्न खोज्यो । खामभित्र पैसा फेला परेन । 

बायाँ हातले रित्तो खाम उचालेर केटाले 'बेखामान अंकल !’ भनेर बोलायो । हरिराम ट्वा परेर छोराको मनोदशा हेरिरहेका थिए । 

भीडभित्र छिरेको बेखामान साहु भीड छिचोल्दै लुसुक्क घरतिर लस्किसकेको थियो । 

– चितवन

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment