'स्वर्णलता’को नयाँ अङ्क निस्किएको जानकारी पाउनु के थियो; दाजुले बस्न/टिक्न दिनुभएन ।
यस अङ्कमा दाजुको कविता छापिएको रहेछ ।
दाजुले विषयसूची हेर्नु भयो र सोझै आफ्नो कविता छापिएको पेज पल्टाउनु भयो ।
दाजुले आफ्नो कविता पढ्नु भो’; अनि मलाई पढ्न दिनु भो’; विस्ने आयो, दाजुले उसलाई पनि देखाउनु भयो । अनि मात्र दाजुले 'स्वर्णलता’का अरु पाना पल्टाउनु भयो ।
दाजुको कविता भाउजूले पनि पढ्नु भो’; भतिजी पनि किताबमा आफ्नो बाउको फोटो देखेर दङ्ग परी । त्यसपछि घरमा जो–जो आए; सबैले दाजुको कविता पढ्न पाए ।
हुँदाहुँदा 'स्वर्णलता’ टेबुलबाट उठाउँदा सोझै दाजुकै कविता भएको पेज पल्टिने भयो ।
'स्वर्णलता’को यस अङ्कमा अरु के–के छापिएको छ; मैले पनि हेरेको छैन ।
केही दिनपछि ’स्वर्णलता’को अर्को अङ्क निस्केछ । दाजुले यसपटक पनि बस्न/टिक्न दिनुभएन ।
यस अङ्कको 'पाठक प्रतिक्रिया’मा दाजुको कवितामाथि मीठो टिप्पणी रहेछ । दाजुले त्यो फेरि पढ्नु भो’ । सबैलाई पढ्न दिनु भो’ । ’स्वर्णलता’को अघिल्लो अङ्कमा रचना छापिएका सबै कविलेखकको हालत यही होला ।
कसैले सोध्यो– “तिमी चैं केही लेख्दैनौ ?“
मैले भनें– “लेख्ने पाठकका लागि होइन त? कम्तीमा अघिल्लो अङ्कका कवि/लेखकले पढ्छन् : म 'पाठक प्रतिक्रिया’ लेख्ने मुड बनाउँदै छु ।”
–बोझेपोखरी, ललितपुर


No comments:
Post a Comment